सुरक्षा पन्तको सफलता

अघिल्लो वर्ष अभिनेत्री सुरक्षा पन्तको लागि सुखद् बन्यो । उनको मिहिनेत र कामको छनोटको कारण उनि २०७६ की सफल अभिनेत्री बनिन् । आधा दर्जन फिल्मबाट असफल अभिनेत्री भनेर चर्चामा आइरहेकी सुरक्षालाई यो वर्ष भने केहि राहत मिल्यो ।

‘आमा’ ले दिएको सफलता
फरक फरक भुभिकामा अभिनय गर्न रुचाउने अभिनेत्री सुरक्षा पन्तले यो बर्ष फिल्म ‘आमा’ बाट निकै चर्चा कमाईन् । फिल्म व्यावसायिक रुपमा सफल भयो र सुरक्षाको कामको पनि प्रसंशा भयो । दिपेन्द्र के खनाल निर्देशित ‘आमा’ मा सुरक्षाले चरित्रको लागि आफ्नो कपाल मुण्डन गरिन्, कथा अनुसारकै पात्रमा आफुलाई ढालिन् । उनको मिहिनेतका कारण उनलाई दर्शकले रुचाए । फिल्मले उनलाई ‘हिट फिल्मकी अभिनेत्री’ भनेर चिनायो । समिक्षकहरुले पनि उनको तारिफ गरे ।

नाटकको प्रसंशा
सुरक्षाले जेठ १७ देखि असार सम्म अनामनगर स्थित मण्डला थिएटरमा मन्चन भएको नाटक ‘क्लेशा:’ मा पनि अभिनय गरिन् । नाटकमा उनले गरेको कामको पनि प्रसंशा भएको थियो ।

असफल हिरोइनको ट्याग
आलोक नेम्बांग निर्देशित फिल्म ‘अझै पनि’ बाट डेब्यु गरेकी सुरक्षाका आधा दर्जन फिल्महरुले लगानी उठाउन सकेका थिएनन् । ‘अझै पनि’, ‘धनपती’, ‘भैरे’, ‘रोमियो एण्ड मुना’, ‘चङ्गा चेट’ र ‘गोपी’ लगानी उठाउन नसकेका फिल्महरु हुन् । उनी अभिनित ‘घर’ ले लगानी उठाएको थियो । तर फिल्मले लगानी उठाए पनि सुरक्षाको चर्चा भने हुन सकेको थिएन ।

फरक फरक भूमिकामा अभिनय 
सुरक्षाले प्राय: फिल्महरुमा फरक फरक भूमिकामा काम गरेकी छिन् । आफ्नो दोस्रो फिल्म ‘धनपतीमा’ उनले निर्वाह गरेको भूमिका रिलिज अघि प्रतिक्षित थियो तर फिल्मले अपेक्षित सफलता हासिल गर्न सकेन  । फिल्ममा अभिनेता खगेन्द्र लामिछाने भएकाले पनि धेरै आशा गरिएको थियो । ‘रोमियो एण्ड मुना’ र ‘पोइ पर्यो काले’ मा उनले छोटो भुमिका निभाएकी थिईन् । भुमिका छोटो भएपनि ‘पोइ पर्यो काले’ मा उनको  अभिनयको तारिफ भएको थियो ।

सरल स्वभाब र स्पष्ट वक्ता
सुरक्षाले नेपाली अभिनेत्रीहरु मध्येमा आफुलाई स्पष्ट वक्ताको रुपमा उभ्याएकी छिन् । उनी आफुलाई चित्त नबुझेको कुरा भन्न हिचकिचाउदिनन् । उनले आफ्नो अभिनयमा अझै निखार ल्याउन जरुरी रहेको बताउदै आएकी छिन् । इन्जिनियर सुरक्षा आफुलाई अभिनेत्री भन्दा पनि कलाकारका रुपमा निचाउन चाहन्छिन् ।