पूजा-सुष्मा ‘लाइभ दोहोरी’

केहि दिन अघि भारतमा रजनीकान्त र थालापति विजयका फ्यानहरु बीच विवाद हुँदा एकको मृत्यु भएको थियो । नेपालमा समेत केही दिन यता दुई नायिका बीच एक प्रकारको लडाई चलिरहेको छ । अभिनेत्रीहरु सुस्मा कार्की र पूजा शर्मा बीच लामो समयबाट राम्रो सम्बन्ध रहेको छैन । उनीहरुले एकले अर्कालाई हेर्न समेत नचाहेको भन्दै बोलेको धेरै भिडियो क्लिप्स छ्यापछ्याप्ती देख्न सकिन्छ ।

यो समय भने ‘टिकटक’ एपका कारण समस्याले ठुलो रुप लिएको हो । करिब दुई वर्ष अघि सुष्मा कार्कीले अन्तर्वार्तामा बोलेका केही क्लिप्सहरुले सामाजिक संजालमा ठुलो स्थान पाएका छन् । जहाँ उनले खुलेर पुजा शर्माको बिरोध गरेको र अपमानजनक शैलीमा कुरा गरेको देख्न सकिन्छ ।

आफ्नो बिषय सामाजिक संजालमा भाइरल भएसंगै सुस्मा लाइभ आइन् । उनी आफ्नो सानो सानो आलोचना समेत पचाउन नसक्ने व्यक्तिमा पर्छिन् । कहिले पत्रकार माथि त कहिले उनलाई मन नपराउने व्यक्ति, त कहिले फिल्म जगत कै ब्यतिहरु माथि खनिने गरेकी छिन् उनी । एक किसिमले चर्चामा आउने फण्डाको रुपमा यस प्रकारको काम गर्दै आएकी छन् । उनी लाइभ आएर पूजा शर्मासंग सम्बन्ध राम्रो भएको र आफुलाई ‘दिदी’ भन्ने गरेको बताउदै बीचमा रहेर अरुले नै सम्बन्ध बिगार्न खोजेको बताएकी छन् । यसैको काउन्टर दिदै लाइभमा पूजा शर्माले ‘आफु आफ्नी आमाको एक मात्र छोरी’ रहेको बताएकी छिन् ।

लाइभमा आएर अझ बढी सामाजिक संजाल प्रयोगकर्ताको गालीगलौज पाएसंगै उनी चर्चित पत्रकार ऋषि धमला सम्म पुगिन् । उक्त कार्यक्रममा पुगेर उनले आफ्नो बारे गलत बोल्ने सामाजिक संजाल प्रयोगकर्ता बिरुद्ध साइबर क्राइमको केस गरेको बताएकी छन् । त्यति मात्रै नभएर पूजाका फ्यानहरु ‘फेक’ भएको भन्दै खुलेर बिरोध गरिन् । केही समर्थकको साथको कारण हिम्मत बढेको हुनपर्छ, त्यस पछि त झन् लाइभ आएर उनी तथानाम बोल्न थालेकी छन् । ‘राणाजी’ को सन्तान भएको दम्भ देखाउदै उनको बिरोधमा बोल्ने एक व्यक्तिलाई ‘बाहुन’ भन्दै जातीय बिषय उठाएर बिरोध सहन नसक्ने उनको प्रकृति प्रस्ट देखाएकी छन् ।

यस बीच पूजा भने कसैलाई इंगित नै नगरी यो सब बिषयको बिरोध गर्दै बसेकी छन् । केही दिन यता मिडिया तताउन सफल बिषय आकास-पूजा इन्स्टाग्राम फलो-अन्फलो चक्करको हिस्सा बनेकी उनी अहिले सुस्माको विषयमा जवाफ दिदै बसेकी छन् । लाइभ नै आएर उनले ‘आफुलाई केही फरक नपर्ने’ बताएकी छन् । उनको यो विषयमा साथ दिन आजकाल उनकै जोडी भनिने आकाश श्रेष्ठ आएका छन् । उनले आफु फेक नभई पूजाको रियल फ्यान भएको बताएका छन् । जवकी यो अभिव्यक्तिको केही दिन अघि मात्रै उनी पुजाको सामाजिक संजालक फलोअर लिस्टमा समेत थिएनन् ।

सुष्माको कुरा नियाल्दा उनलाई मात्र नभएर एक झुण्डले धेरै कलाकारको सामाजिक संजालमा बिरोध गर्छन् । उनले नाम नै उल्लेख गरेर अरुले बिरोध गर्ने हिम्मत नगरेको बताएकी छन् । यो विषयमा खुलेर नबोले पनि समय समयमा फिल्म क्षेत्रमा चर्चा भने हुने गरेको छ । सम्पूर्ण फ्यान रियल होइनन् भन्नु भन्दा पनि एकै व्यक्तिबाट पटक पटक नकारात्मक कमेन्ट आउनु र प्रोफाइलमा गएर हेर्दा कुनै जानकारी प्राप्त नगर्नुले उनको उठान सहि नै पो हो कि भन्ने लाग्छ । तर प्रहरी समक्ष नै पुगेको विषयका लागि प्रहरी अनुसन्धाननलाई नै निर्णयको अधिकार दिएर प्रतीक्षा गर्नु जायज होला ।

सुस्मा कार्की र पूजा शर्माको नराम्रो सम्बन्धको सुरुवात सुदर्शन थापाका कारण भएको देखिन्छ । सुदर्शन थापाको फिल्ममा काम गरिरहेकी सुष्मा, पूजाको आगमनसंगै सुदर्शनबाट टाढा भइन् । फिल्म क्षेत्रमा खासै नजमेकी सुस्मा तब सम्म चुप थिइन् जब सम्म पूजाको फिल्म सफल भएन । तर जब ‘प्रेम गीत’ सफल भयो त्यो पछि भने सुष्मा खुलेर नै बिरोधमा आउन थालिन् । एक कार्यक्रममा त रेखा थापाले हात तानेर पूजा-सुष्मालाई कुरा गराउन खोज्दा दुवैले मुख बटारेका थिए ।

सानो नेपाली फिल्म क्षेत्रमा रहेका दुई नायिकाको यो किसिमको व्यवहारले पक्कै पनि सकारात्मक संदेश दिदैन । यति मात्रै नभएर दर्शक बाडिएको स्थितिमा भारतको घटना दोहोरियो भने ? सोच्ने समय आएको हो कि ?