जमाना ओटीटी प्लेटफर्मको, निर्माताले अब यतातर्फ पनि सोच्ने की ?


अचम्म नमाने हुन्छ, अब बिस्तारै फिल्महरु डिजिटल प्लेटफर्म मार्फत रिलिज हुन थाल्नेछन् । प्रविधिको विकासलाई ढिलो चांडो सबैले स्वीकार्नु नै पर्छ । अब दर्शकले मन परेका फिल्म अनलाइन भिडियो डिमाण्ड मार्फत घरबाटै आफ्ना सुविधा सम्पन्न होम थिएटरमै बसेर हेर्दै आनन्द लिन सक्नेछन् । यो कोरोना भाइरसको प्रभावले मात्र हैन, कोरोना महामारीले यसको उपादेयता देखाएको मात्र हो ।

तर फिल्म हल पुरै खाली हुने भने छैन । हलमा गएर हेर्ने दर्शक पनि हुन्छन् घरमै बसेर हेर्ने दर्शक पनि हुन्छन् । हलको आफ्नै महत्व छ,भनिन्छ नी हलमा गएर हेरेको पो मज्जा । तर समय व्यस्ततालाई ख्याल गर्ने हो भने अहिलेको समयमा अनलाइन प्लेटफर्मनै दर्शकको लागि उपयुक्त बन्न सक्दछ, चाहेको समयमा जहाँ पनि जहिले पनि ।

बलिउड अभिनेता अक्षय कुमार स्टारर फिल्म ‘लक्ष्मी बम’ अब दर्शकलाई लक्षित गर्दै अनलाइन डिजिटल प्लेटफर्म मार्फतनै रिलिज गर्ने तयारी गरिएको छ । तोकिएको समयमा फिल्म रिलिज हुन नसक्दा प्रतिक्षामा बसेका दर्शकहरुलाई मध्यनजर गर्दै यस फिल्मका निर्माता तथा निर्देशकले कोरोनाको त्रासका विच पनि फिल्म अनलाइन रिलिज गर्ने तयारी अघि बढाएका हुन् । उनिहरुले डिज्ने प्लस हटस्टार नामक एपसंग सहकार्य गरी चलचित्र रिलिजको तयारी गरेका हुन् । जुन ओटीटी प्लेटफर्म मार्फत सम्भव भएको हो । त्यस्तै अमिताभ बच्चन र आयुष्मान खुराना अभिनित, सुजित सरकार निर्देशित फिल्म ‘गुलाबो सिताबो’ पनि डिजिटल प्लेटफर्ममा रिलिज हुने सम्भावना रहेको छ ।

यो सबै अवस्था कोरोना महामारीको विश्वव्यापी प्रभावले सिर्जना गरेको हो । कोरोना महामारीले सबै क्षेत्रलाई असर पारेको छ । चलचित्र क्षेत्रलाई त झन थिलथिलो नै बनाएको छ । अहिले नेपालमा पनि कोरोना त्रासले रिलिज मिति तय गरेका फिल्महरु सबै पछि सारिसकिएको छ । अझै पनि महामारी चलिरहेकाले ती फिल्महरुको नयाँ रिलिज मिति तोक्न सकिएको छैन । निर्माताहरुलाई उपयुक्त समयमा आफ्नो फिल्म हलमा रिलीज गर्ने पर्खाई त छदैछ, उपयुक्त समयको पर्खाइका कारण पछि फिल्महरु एकआपसमा जुध्ने सम्भावना पनि प्रवल बनेको छ । नेपाली फिल्महरु आफैमा जुध्ने त निश्चित छदैछ त्यसमाथी हलिउड र बलिउडका ठुला बजेटका फिल्मले पनि नयाँ रिलिज मिति तोक्न सकेका छैनन् । ति फिल्महरु पनि अवश्य खप्टीनेछन् ।

नेपाली निर्मातालाई फिल्महरु एकापसमा जुध्दा घाटा अवश्य छ । यसमा डार्विनको प्राकृतिक छनौट सिद्धान्त अनुसार जो बलवान छ उहि बाँच्न सक्दछ भन्ने नियम लागु हुने निश्चीत छ । अर्थात बलिया फिल्म सुरक्षित हुनेछन् भने कमजोरले आफ्नो अष्तित्व गुमाउनु पर्नेछ । यसबाट तंग्रीन सबै फिल्मकर्मीलाई साँच्चैनै अप्ठ्यारो परिस्थिति बनेको छ अहिले । कथमकदाचित कोरोना महामारी थामिए पनि फिल्म हलमा दर्शकहरु आउने वातावरण बन्न अझै छ महिना लाग्नेछ । यो समयमा के गर्ने त ? यतिबेला सम्पूर्ण निर्माताले होस् पुर्वक काम गर्नुनै श्रेयष्कर हुनेछ ।

हलमा फिल्म रिलिज गर्न गाह्रो साथै प्रचार प्रसारको महंगो भार निर्माता माथी छंदैछ । साथै समयमा रिलिज गर्न नसकेर ठुलो आर्थिक लगानी होल्ड पनि भईरहेको छ । यी सब तथ्यहरु हेर्दा फिल्म हलमा रिलिज भएपनि त्यसबाट लगानी सुरक्षित गर्न अत्यन्तै कठिन छ । युट्युव मार्फत पनि आफ्ना फिल्म प्रदर्शन गर्न सकिन्छ । तर युट्युवमा दर्शकले निशुल्क हेर्न पाउने भएकाले निर्मातालाई त्यसबाट अत्यन्त न्युन आम्दानी हुन्छ  । यतिबेला निर्माताहरुको लागि ओटीटी प्लेटफर्म अर्थात ‘ओभर द टप मिडिया सर्भिस’ एउटा विकल्प हुनसक्छ ।

केवल, ब्रोडकाष्ट वा सेटेलाइट टेलिभिजन भन्दा पनि इन्टरनेटको प्रयोगबाट सिधै घरबाटै हेर्न सकिने प्रविधिनै ओटीटी प्लेटफर्म सेवा हो । यो वर्तमान अवस्थामा डिजिटल स्ट्रिमिङ मार्फत सिधै दर्शकले घरमा हेर्न मिल्छ । जहाँ मन लागेको फिल्मलाई दर्शकले भिडियो अन डिमाण्ड गर्न सक्नेछन् । जसमा दर्शकले वेभसाइट मार्फत पर्सनल कम्प्युुटरमा, एप मार्फत मोवाइलमा वा स्मार्ट टिभीमा पैसा तिरेर सम्बन्धित फिल्म हेर्न सक्नेछन् । जसले निर्मातालाई पक्कै फाइदा पुग्नेछ । हल रिलिज पछिको ओटीटी सेवाको मुल्य भन्दा हल रिलिज नगरी सिधै यस्ता ओटीटी प्लेटफर्म मार्फत फिल्म प्रदर्शन गरे निर्माताले थप बढी मुल्य पाउन सक्छन् ।

विश्वभर अहिले यो प्रक्रियाबाट फिल्ममा करोडौको कारोबार हुन थालेको छ । कोरोना महामारीमा त यो कारोबार झनै फस्टाएको अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । यसमा नेटफ्लिक्स,  हुलु, एमेजन प्राइम भिडियो, गुगल प्ले मुभी एण्ड टिभी आदि अग्रपंक्तिमा छन् । यि सबैले फिल्म तथा टेलिभिजन कार्यक्रमहरु आफ्ना वेवसाइट वा एपमा सशुल्क उपलब्ध गराउने गर्दछन् । कोरोनाको कारण विश्वका धेरै ठाउँहरुमा लकडाउन भएपछी यी प्लेटफर्मका प्रयोगकर्ताहरु पछिल्लो २ -३ महिनामा ह्वात्तै बढेका छन् ।

नेपाली फिल्म निर्माताहरुलाई पनि यो एउटा अवसर हुनसक्छ । नेपालमा बिस्तारै डिजिटल प्लेटफर्मको सुरुवात भइरहेको छ । हुन त नेपालमा अमेरिकन कम्पनी नेटफिल्क्सले पनि नेपालको लागि सुविधा दिएको छ तर पैसा तिर्नको लागि भिजा/मास्टर कार्ड वा पेपल मार्फत भुक्तानी गर्न कठिन भएकाले नेपाली प्रयोगकर्ताहरु न्युन संख्यामा छन् ।

नेट टिभी नेपालको पहिलो अनलाइन टिभी हो । जसले फिल्मलाई भिडियो अन डिमाण्ड सेवा दिएको छ । नेट टिभी अहिले प्रभु टिभीमा परिवर्तन भएको छ । यसको आफ्नै एप रहेको छ । यसका सब्सक्राइवर पाँच लाख बढी भएको बताईन्छ । यसबाट पनि निर्माताले ओटीटी सेकेण्ड पार्टीमार्फत लाभ लिन सक्छन् । पर भ्यु वा प्रतिशतको आधारमा निर्माताले सेकेण्ड पार्टीसँग सम्झौतामा आफ्ना फिल्म देखाउन सक्छन् ।

आइफिल्क्सले पनि एनसेलसंगको सहकार्यमा नेपालमा मोवाइल फोन, ल्यापटप वा ट्यावलेटमा फिल्म हेर्न मिल्ने सुविधा दिएको छ ।

त्यस्तै भर्खरै मात्र नेपालमा फोपी एप नामको एप आएको छ । नेपाली फिल्मको प्रवर्धन गर्न र निर्मातालाई सुरक्षित गर्न यो एप ल्याइएको हो । यसले नेपाली फिल्मलाई दर्शकसम्म पुर्याउन सहयोग गरीरहेको छ । यसमा दर्शकले मोवाइल मार्फत घरमै बसेर फिल्महरु हेर्न पाउँछन् । अनलाइन वा अफलाइन दुवै तरिकाले हेर्न मिल्ने यस एपमा दर्शकलाई शेयर गर्ने, कपी गर्ने र डाउनलोड गर्ने सुबिधाहरु भने छैन । अहिले यसका दर्शक दश हजार माथी रहेको बताईन्छ । यस एप मार्फत पनि फिल्म निर्माताले आफ्नो फिल्म दर्शकसम्म पुर्याउन सक्छन् र पैसा कमाउन सक्छन् । फोपी र आइफ्लिक्स नयाँ नयाँ फिल्म ल्याउनेमा अग्रपंक्तिमा रहेका छन् ।

भिडियो पसल वेभ साइट मार्फत पनि नेपाली फिल्महरु तोकिएको शुल्क तिरेर हेर्न सकिन्छ । यसमा रहेका अन्य भिडियो सेवाहरु निशुल्क पनि हेर्न पाइने सुविधा रहेको छ । भिडियो पसलमा नयाँ नयाँ नेपाली फिल्महरु हेर्न सकिन्छ ।

वाउ टाइम एप मार्फत पनि दर्शकले लाइभ टिभी, मुभी, भिडियो हेर्न सक्छन् । अहिले चलिरहेका ओटीटी प्लेटफर्महरुको प्रदर्शन हेरेर भविष्यमा पनि थप प्लेटफर्महरु आउने सम्भावन रहेको छ ।

नेपाली निर्मातालाई राहत दिने अर्को विकल्प हो डिस होम । यसले आफ्नो च्यानल मार्फत रिर्चाज कार्डबाट भुक्तानी लिएर फिल्महरु देखाउँदै आएको छ । दर्शकले रिचार्ज कार्ड मार्फत पैसा तिरेर उपलब्ध समयमा फिल्म हेर्ने सक्छन् । इन्टरनेटको पहुंच नभएको स्थानको लागि डिसहोम वरदाननै सावित भएको छ । विना इन्टरनेट टिभिको सेटअप बक्स मार्फत दर्शकले फिल्म हेर्न सक्छन् ।

हलमा दर्शकको फ्लो कम भएको अवस्था अनि कोरोना महामारीको अवस्थालाई बुझ्दा कुनै पनि निर्माताले हल रिलिज पर्खाइमा समय विताउनु भन्दा यस्ता अनलाईन ओटीटी प्लेटफर्म मार्फत फिल्म प्रदर्शन गर्नुनै सहि निर्णय हुनसक्छ । फिल्महरु जुधाएर व्यापारलाई जिरो बनाउनु भन्दा बेलैमा सोच्नु उपयुक्त हुन्छ । तर निर्णय गर्नु अघि ओटिटि प्लेटफर्मबाट आफ्नो  लगानी सुरक्षित हुन्छकि हुदैन भनेर अनुसन्धान भने गर्न जरुरि छ ।