लकडाउनमा रामकृष्णको प्रेरणात्मक गीत रेकर्ड

देश यतिबेला लकडाउनमा छ । यो संकटको समयमा आफ्नो तर्फबाट पनि केहि योगदान होस भनेर चर्चित गायक रामकृष्ण ढकालले हालै एउटा गीत रेकर्ड गराएका छन् । गीतले संकट, प्रकृति र मानवीय व्यवहारको कुराहरु गर्दै सबैजना मिलेर यो संकटको सामना गर्ने संदेश दिएको छ ।

लकडाउनको दैनिकी र यहि गीतको सेरोफेरोमा मेरोफिल्म  ले ढकालसँग गरेको छोटो कुराकानी यस्तो छ :

दिन कसरी बितिरहेको छ ?
दिन रुटिनमा बितिरहेको छ । सामान्यतया रुटिन कसैलाई मन पर्दैन । तर यो लकडाउनमा रुटिननै चलिरहेको छ । बिहान उठ्यो, हट लेमन या कालो कफी खायो, त्यसपछि घरमै लाइट वर्कआउट गर्छु । वर्कआउट पछी फ्रेश भएर केहिबेर रियाज गर्छु ।

रियाजलाई कति समय दिईरहनुभएको छ ? पहिले भन्दा बेशी छ कि ?
उस्तै उस्तै नै हो । करिब आधा घण्टा देखि एक घण्टा सम्म दिने गरेको छु ।

यो बेला संगीतमा के-के गरिरहनु भएको छ ?
केहि कम्पोजहरु गरौँ भन्ने सोचमा छु तर हिन्दि उखान ‘खाली दिमाग शैतानका घर’ भने जस्तै झन् एकाग्र हुनुपर्ने समयमा दिमागमा धेरैथरि कुराहरु खेलेर सोचे जतिको गर्न सकिरहेको छैन । तर संगीतलाई अरुबेला भन्दा अलिक धरै समय भने दिईरहेको छु ।

यो अहिले गाउनु भएको गीतको बारेमा केहि भनिदिनुस न ?
एक जना नेपाल आर्मीको ब्रिगेडियर जर्नेल हुनुहुन्छ – आशबहादुर तामांग, उहाँसँग पुरानो पारिवारिक सम्बन्ध पनि रहेको छ । उहाँले समसामयीक सन्दर्भमा रहेर एउटा गीत तयार पार्नु भएको थियो, वरिष्ठ संगीतकार किरण कँडेलजीले कम्पोज गरिरहनु भएको थियो । लकडाउनले गर्दा हिंडडुल गर्न अप्ठेरो हुने भएकोले किरणजी आफैले गीत गाउने सोच्नु भएको रहेछ । अर्कै प्रसङ्गमा उहाँ सँग फोनमा कुरा हुँदा यो गीतको कुरा निस्कियो । त्यसपछि देशको लागि यति त गर्नुपर्छ भनेर च्यारिटी स्वरूपनै काम गर्ने सोच बनाएँ । भूकम्पको बेला पनि किरणसँग मिलेर मैले आनन्द अधिकारी दाईको ‘मन मन जुटौं’ भन्ने गीत गरेका थियौ । अहिले पनि यस्तो बेलामा हामिले गर्न सक्ने योगदान भनेको यहि हो भन्ने सोचेर यो गीत गर्यौ ।

यस्तो गीतहरुले श्रोता-दर्शकहरुमा कस्तो छाप छोड्छ ?
यस्ता गीतहरुले श्रोता-दर्शकहरु लाई उत्प्रेरित गर्ने काम गर्छ । हामी सेलेब्रेटी भएको नाताले हाम्रो कुराहरु हाम्रो संदेशले जनमानसमा केही न केहि छाप छोड्ने भएको हुनाले पनि यो प्रभाबकारी हुन्छ होला । यो गीतले अलिकति सेन्टिमेन्ट र आफु बाँचौ, अरुलाई पनि बचाऔं भन्ने संदेश पनि प्रबाह गर्न खोजेको छ ।

यो गीतमा प्रकृतिको कुरा पनि जोडिएको छ ?
हामी प्रकृति भन्दा माथि छैनौ । हामी प्रकृति भित्रै बाँच्नु पर्ने हो । कहिले काहीं हामीले प्रकृति माथि अलि बढीनै थिचोमिचो गर्यौ कि जस्तो लाग्छ । अहिलेको अबस्था पनि एक किसिमको प्राकृतिक बिपत्तिनै हो । एक किसिमले यतिबेला प्रकृति खुशी छ, प्रदुषण छैन, खोला-नालाहरु पनि नीला नीला हुदैछन् । प्रकृतिले सबै सन्तुलनमा ल्याउदै छ, यसले मानिस मानिस बीच पनि भेदभाब गर्दैन । हामी प्रकृति भन्दा माथि छैनौ, हामीले प्रकृतिलाई साथ दिनुपर्छ र माया गर्नुपर्छ । यतिबेला सबै जना मिलेर संकटको सामना गर्नुपर्छ । गीतमा यस्तै कुराहरुनै छन् । गीत एकदमै मन छुने बनेको छ । यति बेला अन्य धेरै गीतहरु पनि आएका छन् तर यो गीतले एउटा छुट्टै छाप छोड्न सक्छ जस्तो लाग्छ ।

 

गीतका केहि शब्दहरु :

प्रकृतीलाई जितेर होइन, च्यापेर सृष्टि पालौ
हामी एउटै ढुंगाको पिंध हौँ,  मिलेरै टालौं

तछाड् मछाड् धपेडी गर्दै, कसलाई जित्नु छ र ?
कति दुषित बनाउनु हो, भावि सन्ततिको घर
महामारीमा याद आयो, संजीवनीको मेरो देश
बाँचौं र बचाऔं है, यहि छ सबलाई संदेश

……………