रीमा विश्वकर्मा, कालो चिया र घृणित पुरुष मानसिकता

हुन त यो केही पुरानो भईसकेको विषय हो । तर सामाजिक संजाल प्रयोगकर्ताको यस हद सम्मको प्रतिक्रिया देखेर चुप बस्न सकिन । आज मात्रै सामाजिक संजालमा आएर गायक विक्रम बरालले सार्वजनिक गरेको सामाग्रीले मेरो लेखनको विषयलाई अझ ताजा बनायो ।

कलाकार तथा कार्यक्रम प्रस्तोता रीमा विश्वकर्माले सामाजिक संजालमा फ्यानसंगको अन्तर्क्रिया गर्ने क्रममा ‘कालो चिया बनाउन सिकें’ भन्ने जवाफ दिएकी थिइन् । यसै विषयलाई ‘कालो चिया काण्ड’ नाम दिदै सामाजिक संजाल प्रयोगकर्ताले खुलेर विरोध गरे । विरोधको विषय यहाँ सम्म पुग्यो की उनको विगत,  परिवार र जातलाई समेत जोडेर एक प्रकारले चरित्रहत्याको प्रयास नै भयो ।

चिया पकाइने भाँडा चाहिं बनाउन सिके भनेको होला मिस्टेक भाको जस्तो लाग्यो

चटक गर्नु को नि लिमिट हुन्छ नि ।‘

‘कस्तो परिवारबाट आएको सबैलाई थाहा छ, सायद त्यो बेला चियापत्ती नदेखेर होला।‘

यसको पहिले पारिवारिक अबस्था कस्तो रहेछ र एउटा राज परिवारमा जन्मे जस्तो गर्दै छ त पहिले आफ्नो औकात हेरेर कुरा गर्नुपर्छ !’

हाम्रा गाऊका दिदीबहिनीहरु हलो जोत्छन,खेतीपाटी गर्छन र आरन पनि लाउछन(घन ठोक्छन) पुरुष प्रदेश छन, घर तिनैले धान्छन् । त्यसै त पक्कै श्रीमानले छाडेनन् बहिनी तिमीलाई।

चिया बनाउन आएको भए बुढोले काही छोड्छ । ओछ्यान मात्र बनाउन आउनेलाई कसले पाल्छ ? गाईज!!!

त्यसै पोइले छोडेको कहाँ हो र यस्लाइ ।

तिमीले के गर्यो त्यो ठुलो कुरा होईन तर तिमीलाई चाकमा लात हानेर बुढाले लखट्यो नि …. त्यो एकदम सहि गर्यो !! मुला एउटा खटारा फिल्म खेलेर हिरोईन भन्दै चिया बनाउन आउदैन रे …. लाजको पसारो

ए रिमा नानी तिमी चिया पनि बनाउन नआउने कुल खान्दानी चाहिँ हैनौ है । मैले पनि पत्याइन यस्ता कुरा पोस्ट गरेर घरानियाको परिचय दिन खोजेको होला हा हा हा!!!

बच्चा बनाउन सिके भनेको भए चै पत्याउन सकिन्थ्यो ।

उनको विषयमा बनेको समाचार माथि सामाजिक संजाल प्रयोगकर्ताले लेखेका केही प्रतिनिधि विचार हुन्, यी । नेपाली समाजमा जन्मे हुर्केकी रीमाले यो समाजको सदस्य भएकै कारण  कालो चिया बनाउन जान्नु नै पर्छ भन्ने कुनै नियम भएको झैँ मलाइ चै लाग्दैन । त्यही माथि उनी प्रतिको यो किसिमको प्रहार ? कमेन्ट हेर्दै गर्दा आँखामा पर्यो ‘भाँडो बनाउन सिकें भनेकी होली’ । हो उनी विश्वकर्मा परिवारबाट आएकी हुन् । यो विषयमा उनको पनि कुनै गुनासो छैन । आफ्नो जात, थर प्रति कुनै पुर्वाग्रह हुनुहुदैन जस्तो लाग्छ मलाइ पनि । तर, नीच देखाउन प्रयोग गरिएको यो शब्दको अर्थ के लगाउने ? २०२० सालमा कानुनी रुपमा अन्त्य भएको जातीय विभेद अब कहिले सम्म दलित भनिएको जातीले खेप्नु पर्ने ? के यसको कुनै सिमारेखा या समयको पावन्दी छ ? यस प्रकारको घृणित मानसिकताको कुनै जवाफ छ कोहीसंग ?

नेपाली समाज पुरुष प्रधान छ । महिला पुरुष बराबरको नारा लागेको लामो समय बितीसक्दा समेत यो समानता घरघरमा देख्न सकिदैन । रीमालाई आएका प्रतिक्रिया हेर्दा लाग्छ ‘हामी महिला’ घरको काममा पोख्त हुनै पर्छ । अझ भनौ न, घरको कामको ठेक्का लिएर बसेका छौ, हामी महिलाहरुले ।

बच्चा हुर्किदै जाँदा छोरोको हातमा गाडी र छोरीको हातमा कुचो थमाउने समाजका पुरुषबाट यो भन्दा बढी अपेक्षा पनि के गर्ने ? अचम्म त तब लाग्छ जब महिला नै ‘काम गर्न नजान्ने नखर्माउली’ भन्दै मुख बटार्दै आउछन् ।

कमेन्ट नियाल्दै गर्दा रीमाको सम्बन्धबिच्छेदलाई पटक पटक उचालेको देखियो । र यसको एक मात्र कारण बनाइएको छ, ‘चिया बनाउन नजानेको’ अर्थात महिला भएर घरको काममा पोख्त नभएको । सम्बन्धबिच्छेद उनको नितान्त व्यक्तिगत स्वतन्त्रताको विषय हो । समयकै कुरा गर्दा पनि, उनी पुर्व श्रीमानसंग संगै बसेको भन्दा अलग्गिएको समय धेरै गुणा बढी भैसकेको छ । यो विषयमा पटक पटक प्रहार गर्नुको कारण ? फेरी पनि जवाफ ‘पितृसतात्मक पुरुष मानसिकता’ ।

हो, रीमा एक सेलिब्रेटी हुन् । यसै कारण उनका ठुला, साना विषय समाचार बन्छन् । तर सबै भन्दा पहिला उनी एक मानव हुन् । मान्छेमा रिस, घृणा प्रेमझैँ मन पनि हुन्छ ।  उनी पनि अनुभव गर्छिन् हामी झैँ । हामी जस्तै गरी सोच्छिन्, प्रसंसाले खुसी हुन्छिन्, पिडामा हुँदा रुन्छिन् पनि ।  यति बुझेर हो या नबुझेर उनको मन अनि जीवनलाई एक भकुण्डो बनाइएको छ । र, गज्जबले खेलिएको छ ।

विषय छन्, नभएका हैनन् उनी माथि हाँसीमजाक गर्नलाई । उनको कामलाई लिएर जति पनि मजाक बनाउन मिल्छ । तर नितान्त ‘काम’ लाई । तर, जब विषय चरित्र र परिवारको आउछ नि, जो कोही पनि संबेदनशिल हुन जरुरी छ । गलत भएको समय, पहिलो पाईलामा नै चुप गराउन जरुरी छ ।  हैन भने यो भद्दा मजाक र व्यक्तिगत रुपमा लागि परेर गरिने घिनलाग्दो टिप्पणीको अन्त्य छैन ।