ऋषि कपूर : एक परिचय

सन् १९५२ सेप्टेम्बरमा जन्मिएका भारतीय अभिनेता ऋषि कपुरको यहि अप्रिल ३० मा निधन भयो । बाल कलाकारको रुपमा अभिनय शुरु गरेका उनले आफ्नो पुरा जीवन फिल्म क्षेत्रमा नै बिताए । उनले अभिनयको साथ साथै फिल्म निर्माण र निर्देशन पनि गरेका छन् । उनले सन् १९९९ को फिल्म ‘आ अब लौट चले’ निर्देशन गरेका थिए ।

ऋषि कपूर स्वर्गीय राज कपूरका छोरा तथा पृथ्वीराज कपुरका नाति हुन् । फिल्म क्षेत्रमा सक्रिय परिवारको सदस्य भएकोले उनको झुकाब पनि यहि क्षेत्रमा थियो । ‘श्री ४२०’ मार्फत अभिनय यात्रा सुरु गरेका उनले त्यसपछी ‘मेरा नाम जोकर’ मा आफ्नै बाबु राजको बाल्यकालको भूमिकामा अभिनय गरेका थिए । उनले यस फिल्मबाट उत्कृष्ट बालकलाकारको विधामा राष्ट्रिय पुरष्कार समेत पाएका थिए ।

उनले ‘बबी’ बाट मुख्य भूमिकामा डेब्यु गरेका थिए । ‘बबी’ मा उनको हिरोइन थिइन् – डिम्पल कपाडीया’ । यहि फिल्मबाट ऋषि कपुरले सन् १९७४ मा फिल्म फेयर अवार्ड अन्तर्गत सर्वश्रेष्ठ अभिनेताको अवार्ड प्राप्त गरे । यहि फिल्मले उनलाई फिल्म क्षेत्रमा रोमान्टिक अभिनेताको रुपमा स्थापित पनि गरायो । भनिन्थ्यो की यो फिल्म राज कपुरले छोरा ऋषिलाई लन्च गर्नको लागि बनाएका थिए । तर ऋषिका अनुसार ‘मेरा नाम जोकर’ असफल भएपछी उनीहरुसँग महँगो अभिनेता राख्ने पैसा थिएन त्यसैले उनले यो फिल्म गर्ने अवसर पाएका थिए ।

ऋषिले नुतन सिंहसंग सन् १९८० जनवरी २२ मा विवाह गरे । यी दुईले फिल्ममा एक साथ काम समेत गरेका छन् । उनीहरुका २ सन्तानहरु – रणवीर कपुर र रिदिमा कपुर रहेका छन् । रणवीरले फिल्म क्षेत्रमा नै आफ्नो पहिचान बनाइसकेका छन् भने रिदिमा ड्रेस डिजाइनर हुन् । नायिकाद्वय करिश्मा कपुर र करिना कपुर ऋषिका भतिजी हुन् ।

उनी आफ्ना बाबु र हजुरबुबाको पथ पछ्याउदै आफुलाई एक सफल कलाकारको रुपमा स्थापित गर्न भएका थिए । ऋषिले आफ्नो करियरमा १९७३ देखि २००० सम्म ९२ फिल्ममा रोमान्टिक हिरोको भूमिका निर्वाह गरे । साथै उनले ५१ फिल्ममा सोलो लिड एक्टरको रुपमा अभिनय गरेका छन् । उनको समयका चकलेटी हिरोको रुपमा स्थापित उनले पछिल्लो समय भने चरित्र अभिनेताको रुपमा काम गर्ने गर्थे । उनले एक अन्तर्वार्तामा आफुलाई हिरोइज्म भन्दा चरित्र अभिनेताको रुपमा काम गर्न मन पर्ने बताएका थिए । उनले सन् २००८ मा फिल्म फेयर लाइफ टाइम अचिभमेन्ट अवार्डका साथै कैयौ राष्ट्रिय तथा अन्तर्रराष्ट्रिय अवार्ड तथा सम्मानहरु प्राप्त गरेका छन् ।

उनको आत्माको चिर शान्तिको कामना ।

(भारतीय संचारमाध्यमको सहयोगमा तयार)