रेडियोमा गुन्जिएको क्रान्तिको पहिलो गीत

नेपाली अघि बढ हातमा क्रान्ति झन्डा लिई,
क्रान्ति झन्डा लिई,
नेपाली ….

हे नेपाली आमा-बाबु, दिदि-बहिनि, दाजु-भाई,
सब मिलि उद्धार गरौ, हाम्रो नेपाललाई,
पछि नसरौं अब देखि दु:ख परे पनि,
नेपाली अघि बढ हातमा क्रान्ति झन्डा लिई,
क्रान्ति झन्डा लिई…

रेडियोमा पहिलो पटक गुन्जिएको गीतको शब्दहरु यस्तो थियो । देशमा राणा शासन चलिरहेको थियो र राणा विरोधी जनलहर पनि उर्लिरहेको थियो । नेपाली कांग्रेसले बिराटनगरमा संचालन गरेको भूमिगत रेडियोमा रानुदेवी पौडेल अधिकारीले बि. सं. २००६ सालमा यो गीत गएकी थिईन् । तारिणी प्रसाद कोइरालाले लेखेको यो गीत गएर रानुदेवी रेडियोमा गाउने पहिलो नेपाली गायिका बनिन् ।

आज देशको क्रान्ति युद्धमा हाम्रो एक पुकार होस्
लड्दा लड्दै मरे मरौला यो एउटानै नारा होस्

यो उनले त्यतिबेला गएको अर्को क्रान्तिकारी गीत हो । उनले गाएका जोशिला गीतहरुले त्यतिबेला मानिसहरुलाई निरङ्कुश राणा शासनसंग लड्न प्रेरित गरेका थिए । उनै रेडियोकी प्रथम गायिका रानुदेवीको यहि बिहिबार ८४ वर्षको उमेरमा निधन भयो ।

रानुदेवीको जन्म बि. सं. १९९० सालमा वीरगञ्जमा भएको थियो । उनको बाल्यकाल भने परिवारसंग भारतको बनारसमा बित्यो । उनले आफ्नो अध्ययन पनि बनारसमा नै गरिन् । १६ वर्षको उमेरमा बि. सं. २००६ मा उनको विवाह बिराटनगर निवासी तीर्थप्रसाद अधिकारीसँग भयो र उनि बिराटनगरमा बस्न थालिन् । त्यतिबेला राणा शासन विरुद्धको लडाई चलिरहेको थियो । उनको परिवार पनि त्यो लडाईमा सामेल थियो । उनका जेठाजु त झन धेरै सक्रिय थिए । त्यतिबेला सुरक्षाको दृस्टीकोणले उनीहरु, कोइराला परिवार र अन्यहरु जोगवनीमा बस्न थालेका थिए ।

बि. सं. २००४ मा वि. पी. कोइरालाका भाई तारिणी प्रसाद कोइरालाले रडियोको प्रसारण शुरु गरेका थिए । तारिणी प्रसाद कोइराला आफै पनि क्रान्तिकारी गीतहरु लेख्ने गर्दथे र रानुदेवीले गीत गाउँछिन् भन्ने पनि उनलाई थाहा थियो । त्यसपछि उनले रानुदेवीलाई गीत गाउन आग्रह गरे । तारिणीले धुन पनि बनाए, रानुदेवीले गीत गाइन् र यसरि रानुदेवी रेडियोमा गाउने पहिलो गायिका बनिन् । उनलाई परिवारले पनि साथ दिएको थियो ।

पछि रेडियो नेपाल बिराटनगरबाट काठमाडौँ सर्यो । रानुदेवी पनि घुम्नको लागि काठमाडौँ आएकी थिईन् र उनि वि. पी. कोइरालाको घरमा बसिन् । त्यहि दिन खुकुरी दलले वि. पी. माथि आक्रमण गरेपछि उनले केहि दिन राज दरबार भित्र बिताइन् । त्यसपछि उनि फेरी बिराटनगर फर्कीईन् । वि. पी. त्यतिबेला गृहमन्त्रि थिए ।

बिराटनगर फर्केपछि उनले त्यहाँको बालिका माध्यमिक बिद्यालयमा अध्यापन गर्न शुरु गरिन् । साथै उनले आफ्नो अध्ययनलाई पनि अघि बढाइन् र इतिहासमा एम. ए. गरिन् । रानुदेवीले औपचारिक रुपमा संगीत सिकेकी थिईनन् तर उनि पहिले देखिनै गीतहरु गाउने गर्थिन् । रेडियोमा गीत गाइसकेपछी भने उनले संगीतको औपचारिक अध्ययन पनि गरिन् । उनले काठमाडौँमा गएर रेडियो नेपालमा गएर गीतहरु पनि गाईन् । त्यस्तै कलकत्ता गएर आफ्ना ६ वटा गीतहरु पनि रेकर्ड गरेकी थिईन् । ती मध्ये दुई गीतहरु क्रान्तिकारी गीत थिए जुन उनले सबैभन्दा पहिले रेडियोबाट गएकी थिईन् ।

उनलाई भारतीय संगीतकार एस. एन. त्रिपाठीले बलिउड फिल्मको गीत गाउन प्रस्ताव पनि गरेका थिए । साथै दिल्लीमा रहेको रेडियो स्टेसनमा पनि गाउन भनिएको थियो तर पढाइरहेको स्कुलको व्यस्तताका कारण उनले ती प्रस्तावहरु स्वीकार्न सकेकी थिईनन् ।

पंचायती व्यवस्था लागु भएपछि उनका क्रान्तिकारी गीतहरु रेडियो नेपालमा बज्न छोडे । अन्य गीतहरु त्यतिबेला नि बज्ने गर्थे ।

मेरो मुटुको माँझमा कसको तस्विर झल्कियो,
वेदनाको पीरले मनको घडा छचल्कियो

उनले गएको अर्को गीतको शब्दहरु यस्तो छ –

चरी भुर्र उडी घरमा मेरो जा,
घरमा मेरो जा, लिएर सन्देश
घरमा मेरो जा.
चरी भुर्र उडी घरमा मेरो जा

शिक्षण पेशाबाट अवकाश पाएपछि रानुदेवी नेपाली कांग्रेसको महिला संघमा सक्रिय भएर लागिन् । पाँच वर्षसम्म महिला संघको जिल्ला सभापति भएर काम पनि गरिन् । २०४६ सालको आन्दोलनमा पनि उनि सक्रिय रहिन् ।

२०६२-६३ को आन्दोलनमा उनले ‘जागे नेपाली, उठे नेपाली’ बोलको गीत पनि गाइन् ।

उनलाई संगीत प्रति अत्यन्तै लगाव भए पनि यस क्षेत्रमा सोचेजति काम गर्न नपाएकोमा भने पछुतो थियो ।