“आँटनै जीवनमा सबैभन्दा ठूलो कुरा रहेछ भनेर थाहा पाएँ” – ‘प्रेम गीत ३’ अभिनेता पुस्कर कार्की

कलाकारिता क्षेत्रमा मेरो यात्रा रंगमंचबाट शुरु भयो । अनामनगर स्थित मण्डला नाटक घरमा आबद्ध भएपछि कलाकारिताको रंगले छोप्दै गयो । अहिले पनि म नाटक नै गर्छु । त्यसैले समाजको बारेमा होस अथवा अरु विषयमा केहि नयाँ कुराको बारेमा अध्ययन गर्दै बस्छु र मनमा सधै नयाँ कुरा सिक्ने इच्छा पनि भईरहन्छ ।

५ बर्षको कला यात्रामा रंगमंच, चलचित्र, म्युजिक भिडियो, बिज्ञापन आदिमा जति अभिनय गरें त्यो अभिनयको दौरान मैले पनि केहि पात्रहरु बाँचेको छु । पछिल्लो समय चलचित्र ‘प्रेम गीत ३’ मा अभिनय गर्ने मौका पाएँ । यस फिल्मले मलाई अझै धेरै कुराहरु सिकाएको छ । यो लेखमा यहि फिल्मको सेरोफेरोको मेरो अनुभव लेख्ने जमर्को छु ।

एक दिन म एउटा बिज्ञापनको शुटिंगमा भएको बेला छेतेन गुरुङ सरले फोन गर्नु भयो, जो ‘प्रेम गीत ३’  का निर्देशक हुनुहुन्थ्यो ।

दाई – भाई कता छौ तिमि ?
म – दाई म चितवनमा छु ।
दाई – काठमाडौं कहिले आउछौ ?
म – भोलि बिहान हुन्छ होला ।
दाई – ए ल, काठमाडौं आउने बित्तिकै मलाई भेट्नु है । भोलि नै है, एउटा काम छ ।

‘हस्  दाइ’ भनें, फोन वार्ता टुंगियो । त्यसपछि भोलि पल्ट आउने बितिकै फोन गरें । आसुसेन फिल्म प्रोडक्सनमा बोलाउनु भयो । त्यतिबेला मनमा कुरा चलिरहेको थियो, किन ? कसरी ? के को लागि होला ?, तर केही पनि सोधिन ‘हस् दाई’ भनें ।

फिल्म प्रोडक्सनको अफिसबाट बोलाएको हुनाले खुसी पनि लाग्यो । अनि लाजिम्पाट स्थित अफिसमा पुगें । अफिसमा सन्तोष सेन दाई र छेतेन गुरुङ दाई हुनुहुन्थ्यो । कुराकानी शुरु भयो । सन्तोष दाईले छेतेन दाईलाई सोध्नुभयो – “तपाईंले भनेको भाइ उ नै हो ?”। छेतेन दाईले “हो” भन्नु भयो । त्यसपछि उहाँहरुले कुरा शुरु गर्नुभयो । उहाँहरुले “भाइ तिम्रो समय के छ ? खाली छौ भने एउटा काम गर्नु पर्नेछ” भने पछि म खुसी भएँ । “हुन्छ दाई गरुम्न” भनें । सबै कथा पनि सुनाउनु भयो, त्यसपछि भन्नू भयो “तिमिले ‘प्रेम’ को चरीत्र निभाउनु पर्ने भयो” अनि भन्नुभयो “अडिसन को लागि हो, हामीले अडिसन मार्फत ‘गीत’ चरीत्र खोज्दैछौ ” त्यसपछी पो म झसङ्ग भए, अनि भन्नुभयो “तिम्रो लागि पनि एउटा चरीत्र छ, तिमिले गर्नु पर्छ” । मैले केहि पनि सोचिन “हुन्छ, हस् दाइ” भने ।

त्यसपछि घर आएँ अनि मैले सन्तोष दाईले भन्नुभएको कुरा सम्झिएँ- “तिमिले प्रत्येक चरीत्रलाई काउन्टर दिनु पर्छ । हामीले गीतको चरीत्रको लागि कथा अनुसार कलाकार खोज्दै छौ । सबैले डायलग बनाएर आउछ्न्, तिम्ले जे गर्नु पर्छ अन द स्पट गर्नुपर्छ, सक्छौ ? मैले इमान्दार भएर भनें – “मैले यस्तो त कहिल्यै गरेको छैन दाई, तर म कोशिस गर्छु” । सन्तोष दाईलाई शुरुमा मैले नचिन्दा डर लाग्थ्यो, किन किन खै ! अनि मलाई अडिसनको बारे २ दिन अगाडि मात्र भन्नुभएको थियो ।

दुई दिनपछि म तयार भएर अडिसनको लागि गएँ । त्यसपछि मलाई चरित्रको लागि कस्ट्युम  दिनु भयो । अनि शुरुभयो ‘प्रेम गीत ३‘ को लागि चरीत्र खोज्ने काम । फरक-फरक मान्छे, फरक रहन सहन । शुरुमा अलि अलि गाह्रो भयो । किनभने सबैको ‘गीत’ चरित्रको डायलग थियो तर मैले उहाँहरुले बोलेपछि इम्प्रोभाइज गर्नु पर्थ्यो । गार्हो भन्दा पनि मेरो लागि धेरै राम्रो सिकाइ भयो । पहिलो दिनको अडिसन सकेपछि धेरैनै सजिलो भयो । अडिसन दिने पात्रहरु सबैजना डराएको जस्तो लाग्यो, म सबैलाई “डराउनु पर्दैन, आनन्द सँग गर्नुस है, म मात्र एउटा पात्र हो” भन्थें । अनि दोस्रो दिन पनि बित्यो दैनिक ८ देखि १० घन्टा हुन्थ्यो । तेस्रो दिन त ज्वरो नै आयो, अनि चौथो दिन संतोष दाइले सक्दैनौं भने नगर, तिमीलाई गार्हो भयो होला भन्नुभयो तर पनि मेरो मन मानेन, “दाईहरुले एकदम ठुलो प्रोजेक्ट सोचेर शुरु गर्नु भएको छ । मेरो कलाकारिताको धर्मले यसरि छोड्न मिल्दैन मैले । हैन दाई ठिक छ म गर्छु” भनें ।

मलाई लाग्छ हामीले अभिनय जुन ठाउँमा गरेपनि अभिनय त त्यहि नै हो नि । अनि मैले धेरैनै अपहेलना पनि सहनु परेको थियो अडिसन गरेको बेला । “तँ किन डमि गर्न गको” भन्दै धेरैले गाली गरेका थिए मलाई । तर म संग उत्तर थिएन, मलाई यति मात्र थाहा थियो – जे काम गर्छु मनबाट गर्छु, भन्नेले जे सुकै भनोस्, अरुले के भन्छ भनेर बस्ने मेरो काम हैन । म के गर्दैछु त्त्यो चै महत्त्वपूर्ण कुरा हो ।

अनि यसरीनै अडिसन सकियो । अन्तिम दिनमा संतोष दाइले भन्नुभयो – “भाई सानो चरीत्र मात्र छ, तिम्ले यसरी संघर्ष गरेको धेरै भएको रैछ, बरु आउने दिनको अरु प्रोजेक्टमा काम गरौला भन्नू भयो” । मैले “हुन्छ” भनें । ४ दिन सम्मको त्त्यो अडिसनको बसाईले आसुसेन मेरो लागि एउटा परिवार जस्तै भयो । सबैले केयर गर्ने, कसैलाई पनि सानो ठूलो नसोच्ने । हामी मान्छेलाई नजिक बनाउने भनेको व्यवहारले त हो नि । उहाँहरूले गर्ने मायाले गर्दा धेरै नै सहज भयो ।

अनि त्यसपछि म थिएटरको काममा ब्यस्त हुन थालें । अचानक एकदिन सन्तोष दाईको फोन आयो, अनि अफिसमा बोलाउनु भयो । म अफिस पुगें, अनि दाईले भन्नुभयो – “तिम्रोलागि एउटा राम्रो चरीत्र जन्मेको छ भाइ, छेतेन दाई र मैले धेरै सोचेर निकालेका छौ । के छ तिम्रो बिचार  ?”  मलाई त एक छिन के खोज्छ्स् कानो आँखो पो भयो । कहिल्यै पनि सोचेको थिईन, छक्क परें, स्कृप्ट लक भईसकेको थियो, नसोचेको कुरा पो भयो । अनि चरित्रको बारेमा सुनाउनु भयो । त्यसपछी हुन्छ पनि भनिन, हुन्न पनि भनिन, टाउकोको इशाराले ‘हस्’ को संकेत दिएँ । म एउटा अवसरको खोजीमा हिंडिरहेको मान्छे, त्यो अवसर मेरो लागि जुर्यो । पछि पो दाईहरुले भन्नुभयो – “गीतको अडिसनको बेला तिम्रो पनि अडिसन भयो । तिमी पनि छ्नोटमा पर्यो” । अनि कलाकारको टिममा म पनि छिरें ।

त्यसपछि रिडिंग,  हर्स राइडिंग, वर्कशपको कामहरु शुरु हुन थाल्यो । एकदम भब्य गरेर इन्डोरको लागि सेट बनिरहेको थियो ।  एकदिन स्कृप्टमा बस्दा प्रदिप सर सङ्ग भेट भयो । “नमस्कार म पुस्कर” भनेर हात अगाडि बढाएँ । उहाँले “चिन्छु म तिमिलाई, ‘गीत’ को ‘प्रेम’ हैन त अडिसनमा ?” भनेपछि दुबै जना हाँस्यौ यसरीनै शुरु भयो उहाँसङ्ग मेरो मित्रता । एकदम सिम्पल, राम्रो मनको मान्छे हुनुहुन्छ उहाँ । अहिले पनि हामी एकअर्कालाई चरित्रको नामले नै बोलाउछौ ।

केही समय पछि हाम्रो दरबारको शुटिंग शुरु भयो । मेरोलागि पहिलो फिल्म भएकोले एकदमै खुसी थिएँ म । मेरा कानहरुले वर्षौ देखि सुन्न खोजिरहेको ‘एक्सन’ भन्ने आवाज जुन ‘प्रेम गीत ३’ बाट शुरु भयो । त्यो दरबारमा हजारौं हातको मिहिनेत थियो । सबैले दिन रात काम गरेर बनाउनु भएको थियो । दरबारको शुटिंग सकिएपछि भत्काउनु पर्यो, त्यतिबेला सार्है नरमाइलो लाग्यो । दरबार यति राम्रो थियोकी भित्र छिरेर हेर्दा लाग्थ्यो यो त सेटनै हैन, साँच्चिकैको हो भन्ने महसुस हुन्थ्यो । यसरी नै एक दिन, दुई दिन गर्दै १ महिना दरबारमा बितेको चाल नै पाइएन । अनि काठमाडौंको काम सकेपछि सबै जना मनाङ जानू भयो । मेरो चाहिं अलिक ४-५ दिनपछि  शुटिंग  पर्ने भयो अनि म र मनिश काठमाडौंमा नै बस्यौ ।

केहि दिन पछि हामी पनि काठमाडौँबाट हिड्यौ । बेसिशहरबाट ३ घन्टा गाडी चढेपछि धारापानी पुग्यौ, त्यसपछि हिउँले गर्दा गाडी अगाडी जादैन थियो त्यसैले हाम्रो पैदल यात्रा शुरु भयो । हिउँमा हिड्न धेरै गाह्रो हुन्थ्यो । हामी  गार्हो सँग हिड्यौ र माथि पुग्न ४ दिन लाग्यो । बिचमा हाइ अल्टिच्युडले गर्दा एकदमै गार्हो हुन्थ्यो तर हामीसंग मिलन दाई हुनुहुन्थ्यो, जो यो फिल्मको सहायक निर्माता पनि हुनुहुन्थ्यो । उहाँले हामीलाई सम्हालेर पुर्याउनु भयो । दाई नहुनु भएको भए हामिलाई अत्यन्त्यै कठिन हुनेथियो । गन्तब्यमा पुगेपछि आनन्दको सास फेर्यौ । भोलिपल्ट देखी हाम्रो शुटिंग शुरु भयो ।

मैले जिन्दगीमा सायद पहिलो पटक त्यसरी दु:ख गरेको थियो । तापक्रम माइनस २०, माइनस १८ हुन्थ्यो ।  त्यस्तो मौसममा कसरी काम गर्यौ होला ? मैले त्यतिबेला आँटनै जीवनमा सबैभन्दा ठूलो कुरा रहेछ भनेर थाहा पाएँ । त्यो पलले गर्दा धेरै कुराको अनुभव गर्न पाएँ ।

शुटिंगमा ७ बजे क्यामरा ओपन हुन्थ्यो । सन्तोष दाई ५ बजे उठेर जानुहुन्थ्यो । त्यो चिसो मौसममा दाईको जोश जाँगरले गरेर धेरैनै एनर्जी भरिएको थियो । हिमालको शिर मुनि न दिन, न रात गरेर सबैले राम्रो काम गर्ने कोशिस गरिरहेका थियौ । घामको झुल्को हिमालको शिरमा टक्क परेर सधैं नयाँ दिनको आगमन हुन्थ्यो । त्यो बिहानी आहा ! मलाई पनि त्यो बानी भईसकेको थियो । वर्सौ देखि देखेको सपना धेरै संघर्षपछि पुरा भएकोले म खुसी थिएँ ।

जीवन यस्तै त रहेछ नि ! ती संघर्षका कथाहरु आफ्नो ठाउँमा छ्न्, तर पनि ती दिनहरु याद आउँछ । अभिनय सिक्ने भोकमा कहाँ सिकाइन्छ होला भनेर म गल्लिहरु घुम्थें । काठमाडौंको गल्लीहरुमा डुल्थें तर पनि मलाई थाहा हुन सकेन । धेरैलाई सोध्थें तर पनि सबैले थाहा छैन भन्थे । एउटा सानो पुस्तक पसलमा मार्केटिङको काम गर्थें । चोक गल्लीहरु डुल्नु पर्थ्यो । त्यसरीनै एकदिन डुल्दा डुल्दै मन्डला पनि भेटेंको थिएँ र शुरु भएको थियो मेरो कला यात्रा । ओहो ! म त बिगतमा पो हराउन थालेछु…

अनि शुटिंग लगभग अन्तिम चरणमा थियो । सबै जना बाँकी शुटिंगको लागि मनाङबाट थोरै तल आइयो तर हिउँको कारणले केही दिनको शुटिंग सकेपछि फर्कनु पर्यो । तर फेरि सबैले पैदल हिड्ने निर्णय गरियो । सन्तोष दाईले सधै भन्नु हुन्थ्यो “मैले मेरो टिम लाई धेरै नै सजाय दिएँ जस्तो लाग्छ । पाप लाग्छ होला है मलाई ?” । एउटा लगानीकर्ता निर्देशक भएर त्यति सम्म सोच्नुनै ठूलो कुरा हो जस्तो लाग्छ मलाई । जहाँ स्वार्थ थिएन निस्वार्थ भावना थियो ।

एक जोर कपडामा हामी फेरि तल हिड्यौ । कम्मर कम्मर हिउँले गर्दा सबैले अन्य झोला अघिल्लो बास बस्ने ठाउँमा नै छोडेर कस्ट्युमको झोला बोकेर आफ्नो बाटो लगियो । सबैको टाउकोमा एक-एक वटा झोला थियो । जुन हाम्रो चरित्रको लुगाहरु थिए । त्यहाँ हिउँमा बाटो थिएन । जस्ले आगाडी पाइला चाल्छ त्यहि बाटोमा गोरेटो बाटो बन्थ्यो । तर एउटा पाइला मात्र अट्ने बाटोको त्यो यात्रा अहिले सम्झिदा कति रमाइलो यात्रा थियो भन्ने लाग्छ ।  दिनभरि हिड्दा लुगा सबै चिसो हुन्थ्यो, के गर्नु, सबैको बाध्यता थियो । शरीरमा भएको एकजोर लुगा बाहेक कोहिसंग केहि पनि थिएन । राती बास बस्ने ठाउँमा आएर  सबैले आगोको तापमा सबै लुगा सुकाउने गर्थ्यौ । फेरि बिहान भएपछि यात्रा शुरु हुन्थ्यो । यसरी चार दिनको हिंडाई पछि हामीले महिनौ पछि गाडिको अनुहार देख्न पायौ । सबैले आनन्दको सास फेर्यौ । अनि बल्ल हामीले थाकेका खुट्टालाई विश्राम दिन पायौं । काठमाडौँ फर्किए पछि फेरी पुरानै दिनचर्यामै जीवन बित्न थाल्यो । एकाएक कोरोनाको महामारीले सबैको जीवन अस्तब्यस्त बनायो ।

‘प्रेम गित ३’ राम्रो बनेको छ भन्ने मलाई बिश्वास छ र दर्शकहरुले यो फिल्म मनपराउनु हुनेछ ।

पुस्कर कार्की
बैशाख १०, २०७७
लोकन्थली निवास