हाँस्यकलाकार एकअर्का कै मजाक बनाउदै गरे रमाइलो

कोरोना भाइरसको कारण गरिएको लकडाउनले जनजीवन अस्तव्यस्त बनाएको छ । दैनिक जनजीवनका कामकाज ठप्प भएका छन् । दैनिकी रोकिएका छन् । एक किसिमले भन्दा सम्पूर्ण विश्व नै घर भित्र थुनिएर रहेको छ । घरमा नै बसेर गर्न सकिने काम बाहेक सम्पूर्ण कामकाजहरु बन्द भएका छन् ।

यही विच पत्रकार दिलभुषण पाठकले घरमानै बसेर ‘टफ टक’ कार्यक्रम संचालन गर्दै आएका छन् । कार्यक्रमको ३५ औ भागमा उनले नेपाली कलाकारितामा हाँस्यकलाकारसंग कुराकानी गरेका छन् । उनले इन्टरनेटको सही सदुपयोगगर्दै एक साथ आठ कलाकारलाई निम्त्याएर केही हदसम्म रमाइलो गराउने प्रयास गरेका हुन् ।

कार्यक्रममा उनले मनोज गजुरेल, दिपक राज गिरी, दीपाश्री निरौला, जितु नेपाल, लुनिभा तुलाधर, सन्दिप छेत्री, यमन श्रेष्ठ र विल्सन विक्रम राईलाई कार्यक्रमको अतिथि बनाएर दर्शकसंग जोडेका छन् । कार्यक्रममा दर्शक हसाउनुको साथसाथै सहभागीले एक अर्का माथि समेत मजाक गर्दै रमाइलोसंग समय बिताए । दैनिकी कसरी व्यतित हुदै छ, बाट सुरु भएको कार्यक्रम अन्त्य सम्म आइ पुग्दा समय बितेको पत्तो नपाइ कार्यक्रम सकिएको छ ।

जितु नेपाललाई लकडाउन अवसर लागेको रहेछ । उनले जीवनमा व्यतित गर्न नपाएको यति लामो समय घारमा नै बस्न पाएकोमा खुसी ब्यक्त गरे । उनले घरको कुना कुना समेत सफा हुन पायो, भन्दै हाँसो गरे । अन्त्यमा उनले कोरोनाको झाँक्री मन्त्र समेत सुनाए ।

यमनले कार्यक्रम भरिनै गीत गएर मनोरंजन प्रदान गरे ।  चर्चित परिचय गीत गएर कार्यक्रमको सुरु गरेका उनले कोरोना गीत, मालपोतको गीत हुदै अन्त्यमा मोबाइल सम्बन्धी गीत गाए । उनको लामो प्रस्तुतिलाई अन्यले मजाक बनाउदै गर्दा दिपकले भने पैसा नआउने ठाउमा धेरै गीत गाउन हुन्न एउटा गएर टार्नु पर्छ भन्दै गर्दा सम्पूर्णमा हासो फैलियो । मनोज गजुरेलको कविता जस्तो पनि गीत जस्तो पनि प्रस्तुतिले समग्र स्थिति माथि गहिरो व्यंग्य प्रहार गर्यो । सन्दीपको चस्मा, गितार, सुनको चर्चाले माहोल रमाइलो बनाउदै गर्दा दिपकले पटक पटक झ्याल तिर हेर्दै गरेको विषयलाई समेत उनीहरुले बाकि राखेनन् । एक मात्र अविवाहित भनेर दिपकले मनोजलाई भनिरहदा दिपा समेत मजाकको पात्र बनिन् ।

एक साथ काम गरेको कारण लुनिभा र दिलभुषण निकटता देखिन्थ्यो । उनले दिलको समाचार प्रस्तुतिको मजाक बनाउदै गर्दा समाचारको बीचमा नै बजेको मोबाइलको रिंगको समेत चर्चा गरियो । सन्दिप ‘बक्लोल’ बन्दै गर्दा, दीपा पनि आफ्नो पुरानो पहिचान ‘धनिया’ बनेर अघि आइन् । भने विल्सनको बिटमार्ने तरिका ‘तक्मे बुढो’ को प्रस्तुति कार्यक्रमको दह्रो खम्बा झैँ लाग्थ्यो ।

समग्रमा एक साथ प्रस्तुति गर्ने अवसर नपाएका धेरै हाँस्यकलाकारलाई पाठकको शोले जोड्यो । आफैँमा समेत मजाकिया यी कलाकारको लामो समयको घरबसाइको ‘बोरडम’ माहोलमा केही चिनी घोलियो । एक घण्टा बढीको कार्यक्रम दिक्क नमानी सकियो ।