गायक राजेशपायल राईले लकडाउनमा के पाए ? के गुमाए ?

नेपाली सांगीतिक क्षेत्रका ‘मेगास्टार’ राजेशपायल राईको दिनचर्चा अहिले अलिक फरक छ । फागुनमा धरानमा भएको सांगितिक प्रस्तुती पछि उनको बेलबारीमा कार्यक्रम थियो तर सरकारले भेला हुन रोक लगाएपछि सांगितिक कार्यक्रम बन्द भयो । कार्यक्रम बन्द भएपछि उनि काठमाडौ आए । काठमाडौ आएको केहि दिनमा नै लकडाउन सुरु भइहाल्यो जसका कारण उनी घरमा नै बसिरहेका छन् ।

यसै साताको एक भेटमा उनले निकै गफिन रुचाए । उनको दैनिकी अहिले घरमा बसेर क्यान्डीक्रश खेलेर नै बितिरहेको छ । उनी भन्छन्, – “कार्यक्रम र गीत रेकर्डिङका कारण निकै व्यस्त थिएँ त्यसैले म आरामको खोजीमा थिएँ । लकडाउनले मलाई आराम गर्न सहयोग गर्यो । तर कोरोना भाइरका कारण आर्थिक क्षति भने भएको छ । युरोप लगायतका देशमा मेरो कन्सर्ट तय भएको थियो । कोरोनाका कारण स्थगित भयो” ।

नेपाली गायन क्षेत्रमा सबैभन्दा धेरै पैसा कमाउने गायकका रुपमा चिनिएका राजेशपायलले मासिक न्युनतम १२ देखि १५ लाख रुपैयाँ कमाउने गरेका छन् । कन्सर्टहरुमा एकदमै व्यस्त रहने उनले एक स्टेज कार्यक्रम गरे बापत २ लाखदेखि ३ लाख ५० हजारसम्म लिन्छन् । उनि विदेशका कार्यक्रमहरुमा पनि धेरै ब्यस्त हुन्छन् ।  उनले भने – “१२ महिनामा ९ महिना विदेश कार्यक्रमकै व्यस्त हुन्छु । बाँकी समय नेपालमा गीतहरु रेकर्ड गरेको हुन्छु” । उनी नेपालमा हुँदा दैनिक २ देखि ५ वटासम्म गीत रेर्कड गर्न भ्याउँछन् । स्टुडियोमा उनी एउटा गीत गाएको २५ देखि ३० हजार रुपैयाँसम्म लिन्छन् । उनी भन्छन् – “उस्तै परे दिनमा गीत रेकर्डिङ गरेरनै एक लाख हाराहारी कमाउछु” ।

आम्दानीमा भएको घाटाबारे बोल्दै उनले भने, – “म यति नै त भन्दिनँ, तर यो लकडाउनमा ३० देखि ४० लाख रुपैयाँसम्म आम्दानी गुम्यो” । अहिले उनले आफ्नो युट्युवबाट मासिक एक लाख हाराहारी भने कमाइरहेका छन् । कोरोना महामारीको विश्वभरनै ब्यापार ब्यबसाय धरासायी भएकोले यो बेला आफ्नो आम्दानीमा असर पर्दा पनि उनि खासै चिन्तित भने छैनन् ।