२४ की लागिन् ‘गुडियारानी’ सुहाना

फिल्म निर्माता तथा ‘ए मेरो हजुर ३’ डेब्यु अभिनेत्री सुहाना थापाको आज जन्मदिन । सन् १९९६ मा काठमान्डौमा सुहाना आजकै दिन जन्मिएकी थिइन् । निर्माता बाबु सुनिल कुमार थापा तथा अभिनेत्री तथा निर्देशक आमा झरना थापाकी छोरी सुहानालाई नजिकका व्यक्ति हरुले ‘सुहानु’ र ‘गुडियारानी’ भनेर बोलाउने गर्छन् ।

बाल्यकालमा आमाको व्यस्तताका कारण उनले धेरै समय आमाको साथ बिताउन पाईनन् । उनले होस्टलमा नै बसेर स्कुलको अध्ययन सकिन् । त्यस पश्चात उनि अध्ययनको लागि अमेरिका गइन् । अमेरिकामा बसेर उनी ‘ब्याचलर इन मार्केटिंग’ गर्दै गर्ने क्रममा उनलाई बाबुले फिल्म खेल्न आउ भनेर बोलाए । क्यालिफोर्नियामा बसेर पढीरहेकी उनलाई आएको ‘ए मेरो हजुर ३’ को अफर अपेक्षाकृत थिएन । उनलाई अझ अफर भन्दा पनि निर्णय थोपरिएको थियो । उनी नेपाल आइन् । फिल्ममा उनले चर्चित नायक अनमोल केसीसंग काम गरिन् र अभिनयको कारण तारिफ पनि बटुलिन् । उनले यहि फिल्मबाट ‘कामना फिल्म अवार्ड’ र ‘डी सिने अवार्ड’ मा ‘उत्कृष्ट नव-नायिका’ को अवार्ड पनि जितिन् ।उनको अभिनयले ‘आमा बाबु मिलेर बनाएको फिल्ममा अनमोल राखेर छोरी सफल बनाउने फण्डा’ भनेर गरिएको चर्चालाई गलत सावित गर्यो ।

सुहाना कलाकार बन्नु भन्दा अघि नै फिल्म क्षेत्रमा जोडिएकी थिइन् । उनी ‘ए मेरो हजुर २’ मा निर्मात्रीको रुपमा रहेकी थिइन् । उक्त फिल्म प्रदर्शनको समयमा नेपाल आएकी उनी प्रेसमिटमा खासै खुल्न सकेको देखिदैन थिइन् । तर ‘ए मेरो हजुर ३’ सम्म पुग्दा उनमा धेरै परिवर्तन आयो । उनको अभिनयले यति सम्म प्रभाव पार्यो कि नायिकासंग दोहोर्याएर काम नै नगर्ने अनमोलले उनीसंग दोश्रो पटक स्क्रिन सेयर गर्न तयार भए । उनीहरुले ‘ए मेरो हजुर ४’ मा काम गरि सकेका छन् भने ‘भागवत गीता’ मा समेत एक साथ काम गर्ने चर्चा छ ।

५ फिट ४ इन्च अग्ली सुहानालाई नृत्य गर्न र घुमफिर गर्न मन पर्छ । स्कुलको अध्ययन सकिने बित्तिकै उनले धेरै धार्मिक ग्रन्थको अध्ययन गरेकी थिइन् । उनले भागवत गीता, रामायण लगायत धेरै हिन्दु ग्रन्थ पढेकी छिन् । कृष्ण भक्त सुहाना शाकाकारी हुन् । उनलाई ध्यानमा रुची छ । शरीर र आत्माको विषयमा उनको अध्ययन गहिरो छ । उनको नजर शरीर र आत्मा प्रति फरक छ, यी दुइ एक नभएको र एकै हो भनेर सोच्न नहुने उनलाई लाग्छ ।

‘कर्म गर्ने हो फल त भगवानले दिनुहुन्छ’ भन्ने उनलाई पहिरन पनि आधुनिक भन्दा सामान्यनै मन पर्छ । पहेलो रंग मन पराउने उनको मनपर्ने पहिरन कुर्ता सलवार हो । नेपाली खाना मन पराउने सुहाना प्रत्येक दिन कृष्ण भगवानको पूजा गर्ने गर्छिन् । विदेशमा नै बसेर पनि उनको बोलि व्यवहार र कर्ममा नेपालको छाप देख्न सकिन्छ ।

‘ए मेरो हजुर ३’ को समयमा उनलाई पछ्याउदै गर्दा उनमा कसरी चर्चामा रहने विषयको बारेमा समेत ज्ञान रहेको देख्न सकिन्छ । अनमोललाई जोडेर पटक पटक आँखामा आउने कुरा गर्ने उनका विषय संचार माध्यमका हेडलाईन समेत बने । अनमोलसंग प्रेम सम्बन्धमा छु झैँ गर्ने उनले कति पटक त दुबै जना कृष्णभक्त भएको, शाहाकारी भएको, ध्यानमा रुची भएको भन्दै ‘किन सम्बन्ध बिस्तार नहुने र ?’ भन्न समेत भ्याईन् । यस विषयलाई बढावा दिदै झरनाले समेत अनमोललाई ज्वाई स्वीकार्न सक्ने बताईन् । फिल्मको प्रमोसनल समय सकिएसंगै यो विषय पनि हराएर गयो ।

आमा बाबु यो क्षेत्रमा भएर नायिका भएको भन्दा पनि कर्मले डोहोर्याएर यता लिएर आएको भन्ने लाग्छ उनलाई । ‘ए मेरो हजुर ४’ छायांकनमा रहेकै समय लकडाउन भए पछि उक्त फिल्मको छायांकन रोकियो । हाल उनी फुर्सदमा रहेकी छन् ।

उनको अध्यात्मिक जीवन र फिल्म करियरको सफलताको अझै धेरै शुभकामना ।