राष्ट्रिय फुटबल टिमका पूर्व कप्तान अनिल गुरुङको बायोपिक बन्दै

फुटबलर अनिल गुरुङको जीवनमा आधारित भएर विगत २ वर्ष देखि एउटा फिल्म निर्माणको काम चलिरहेको छ । ‘भकुण्डो’ नामको उक्त फिल्मलाई शिव पुरीले निर्देशन गरिरहेका छन् । फिल्मको गीत बाहेकको छायांकन सकिएको छ र सम्पादनको आधा काम पनि सम्पन्न भइसकेको जानकारी निर्देशक पुरीले मेरोफिल्म  लाई दिएका छन् । फिल्मको छायांकन काठमाडौँ, पोखरा र जोमसोममा गरिएको हो । फिल्ममा अनिल आफै मुख्य भूमिकामा देखिदै छन् । उनले राष्ट्रिय टिमबाट खेल्दै गर्दानै फिल्मको केहि दृश्यहरु खिचिएको थियो । अनिलले आफु फिल्मलाई लिएर उत्साहित रहेको बताउँदै अन्य जानकारी भने पछि सार्बजनिक गरिने बताए ।

अनिल गुरुङ यतिबेला सरकारले घोषणा गरेको लकडाउनको पालना गरेर घरमै बसिरहेका छन् । मेरोफिल्म  संग कुरा गर्दै उनले आफ्नो दैनिकीबारे जानकारी दिएका छन् । उनि बिहान उठेर शारीरिक ब्यायाम तथा ट्रेनिंग गरिरहेका छन् भने आफु बस्ने अपार्टमेन्टका अन्य १२-१३ जनालाई ट्रेनिंग पनि दिने गरेका छन् । दिउसोको समय उनले घरायसी र आफ्ना व्यक्तिगत कामहरु गर्ने बताए । त्यस्तै उनले भान्छाको काममा परिवारलाई सघाउने पनि गरेका छन् ।

यतिबेला कसरि मनोरंजन गरिरहनुभएको छ भन्ने प्रश्नको उत्तर दिदै उनले भने – “मैले एक्सरसाइजबाटै मनोरंजन लिईरहेको छु र यतिबेला सामजिक संजालमा अलिक धेरै सक्रिय छु” । उनि यतिबेला फुटबलसंग सम्बन्धित फिल्महरु पनि खोजि खोजि हेरिरहेका छन् । उनले म्यारोडोना, पेले जस्ता खेलाडीहरुको बारेमा बनेका सामग्रीहरु खोजि खोजि हेरिरहेका छन् । उनले युरोप लगायतका देशहरुमा फुटबल खेलाडीहरु रिटायर भइसकेपछि के के गर्दा रहेछन भनेर बुझ्ने प्रयास पनि गरिरहेका छन् । उनी भन्छन् – “यसले मलाई भबिष्यको लागि योजनाहरु बनाउन मद्धत मिल्छ” ।

उनले यो समयमा बालबालिकाहरुले धेरै समय मोबाइल, आइप्याड लगायतका इलेक्ट्रोनिक सामग्रीहरु चलाउन खोज्ने हुनाले उनीहरुको ध्यान त्यस बाट हटाएर नियमित ब्यायाम गराउने तथा परिवारले उनीहरुलाई नयाँ नयाँ कुराहरु सिकाउने पर्नेमा जोड दिएका छन् ।

अनिल गुरुङ पोखरामा जन्मिएका थिए । १३ वर्षको उमेर देखि नै फुटबल खेल्न थालेका गुरुङले पोखराको सहारा क्लबबाट खेल जीवन शुरु गरेका थिए । उनले बि सं  २०६२ मा ब्रिगेड ब्वाइज क्लबबाट ए डिभिजन लिग खेल्न शुरु गरे । उनले  त्यसपछि थ्री स्टार क्लब र मनाङ मर्स्याङ्दी क्लबबाट पनि खेले । बि. सं. २०६४ मा राष्ट्रिय फुटबल टिममा परेका गुरुङले १० वर्षे अन्तर्राष्ट्रिय खेल जीवनमा ५० खेल खेल्दै १० गोल गरेका थिए । स्ट्राइकरको भूमिकामा खेल्ने गुरुङ राष्ट्रिय टिमका क्याप्टेन पनि भएका थिए ।

सन् २००९ मा गुरुङ भारतीय क्लब सिलोङ लाजोङसँग रु. ६३ लाखमा ३ वर्षका लागि अनुबन्धित पनि भएका थिए । त्यतिबेला उनी सबैभन्दा धेरै कमाउने नेपाली फुटबल खेलाडी बने । उनी बेलायतको चेल्सी रिजर्ब र वोकिङ क्लबका लागि ट्रायल खेल्ने अवसर पनि पाएका थिए तर उनको छनोट भने हुन सकेन ।

गुरुङले एएफसी एसियन कप क्वालिफिकेसनको फिलिपिन्ससंगको खेल पछि सन् २०१७ मा राष्ट्रिय टिमबाट सन्यास लिएका थिए ।