लकडाउनको खिल्ली उडाउँदै रवि लामिछाने र चर्चित कलाकारहरुको यस्तो भोज

भर्खरै मात्र काठमाडौँमा १ र भक्तपुरमा २ जनामा कोरोना संक्रमण पुष्टि भएपछि उपत्यकामा पनि कोरोनाको त्रास बढेको छ । जेष्ठ ५ गते सम्मको लागि देशमा लकडाउन घोषणा गरिएको छ र अत्याबश्यक कामको लागि मात्र निस्किन पाउनेगरी सरकारले पासको व्यवस्था गरेको छ ।

तर सामाजिक संजालमा पोष्ट भएको एक भिडियोले देशका चर्चित फिल्मकर्मीहरु तथा संचारकर्मी रवि लामिछानेले सरकारको आदेशलाई गम्भीर ढंगले नलिएको देखाएको छ । भिडियोमा लकडाउनकाबिच एकै ठाउँ भेला भएर उनी लगायतका कलाकारहरु पार्टी गर्दै गरेको देखिन्छन् । उक्त पार्टीमा रवि लामिछानेको साथमा उनकी पत्नी निकिता पौडेल, कलाकारहरु दिपक राज गिरि, दिपाश्री निरौला, पुजा शर्मा, किरण केसी, अनुराग कुँवर, फिल्मी पत्रकार उत्सब रसाइली लगायतको उपस्थिति रहेको छ । उनीहरु लालमोहन बनाउदै रमाइलो गर्दै पार्टी गरिरहेका छन् । स्रोतका अनुसार उक्त जमघट कलाकार अनुराग कुँवरको घरमा भएको थियो ।

केहि समय अघि आफ्नो कार्यक्रम ‘सिधा कुरा जनतासंग’ मार्फत रवि लामिछानेले ‘घरमै भएको एक थोक तरकारीमा ऐना हेर्न मिल्ने गरि तङ्ग्रंग झोल हालेर खाउँ तर बाहिर नजाउँ’ भन्दै जोशिलो तरिकाले संदेश दिएका थिए । उनले ‘बाँच्नु भएछ भने खसीको मासुको पक्कु, लोकल कुखुराको रातो झोल, सात पत्रे बँदेल टिमुरको छोप संग चोपेर, माछा फ्राई गरेर, गोलभेडाको अचार, बासमती चामल अकबरे खुर्सानी टोक्दै सात थाल थपि थपि खानुहोला’ भनेका थिए । उनले यस्तो भनेको भिडियो क्लिप सामाजिक संजालमा खुबै भाइरल भएको थियो भने टिकटक प्रयोगकर्ताहरूले पनि यसमा सयौंको संख्यामा टिकटक भिडियो बनाएका थिए । तर अहिलेको रविसमेत सहभागी भएको सो भिडियोले संचारकर्मी र अभियानकर्मीका रुपमा परिचित लामिछानेजस्ता व्यक्तिमाथि नैतिक प्रश्न खडा गरेको छ ।

अन्य समय अरुका गल्तीमा चर्को विरोध र ‘के हुनुपर्थ्यो’ भन्नेसम्मका उपदेश दिन भ्याउने रविले यो त्रुटी किन गरे । यसमा उनले आफ्नो सामाजिक उत्तरदायित्व भूलेको स्पष्ट हुन्छ । जनताले एक हिसाबले उनलाई नायक नै मानेर दिएको इज्जतको सम्मान के हो भन्ने प्रश्न स्वभाविक रुपमा उठाएको छ ।

यसमा रवीसँगै रहेका फिल्मी कलाकारहरूको नैतिक र सामाजिक उत्तरदायित्व निर्वाहमा देखिएको उदासिनता पनि उजागर भएको छ । उनीहरूले आफ्नो सामाजिक छविलाई वेवास्ता गरेको देखिन्छ ।

भिडियो हेर्दा छुटाउनै नहुने काम भएर भेला भएको जस्तो देखिदैन । के काम र के उदेश्यले सरकारी नियमको अवज्ञा साथै अति आवश्यक कामको लागि भनेर प्रदान गरिएको पासको दुरुपयोग गरियो भन्ने उनीहरुनै जानुन् ।

भिडियोमा दीपकराज गिरी पनि पार्टीको मजा लिइरहेका छन् । उनी सामजिक संजालमा केही नराम्रो हुँदा खरो र छुच्चो टिप्पणी गर्ने गर्छन् । अरुका गल्तीमा तिखो टिप्पणी दिने उनले यो भुलमा आफ्नो स्पष्टिकरण कुन हिसाबले देलान ?

लकडाउनका कारण कयौं मानिसको दैनिक रोजीरोटी खोसिएको र राहतको मुख ताक्न बाध्य छन् । यस्तो समयमा मिष्ठान्न भोजनको भोजको भिडियोले बिहान बेलुका हातमुख जोर्न धौ धौ पर्नेहरुलाई एक हिसाबले जिस्काएको छ। हुनेका लागि लकडाउन रामरमाइलो र नहुनेका लागि कहर बनेको परिस्थितिमा सामाजिक छवि भएकाहरूबाट यस किसिमको प्रस्तुति कत्तिपनि सहज कुरा होइन ।