कलाकारहरुको कपाल काट्दा खुसी छन् जुरी ठाकुर

नेपालमा चलेका कलाकारहरु कस्कोमा कपाल काट्न जान्छन् होलान् त ? धेरैले अनुमान गर्ने भनेको ठुलो फेसियल तिर या सैलुन तिर । तर कहिलेकाँही यस्तो अनुमानले फेल खान सक्छ ।

बर्दिबास घर भएका जुरी ठाकुरको नयाँ बानेश्वरमा रहेको खरीबोट चोकमा ‘जुरी युनिसेक्स पार्लर’ रहेको छ । सैलुनमा ५ – ६ जनाको कपाल एकै पटकमा काट्न मिल्छ । जुरी ठाकुर त्यहाँका साहु हुन् । उनी पत्रपत्रिकामा पढिएका र युट्युवमा पनि देखिएका हेयर डिजाइनर हुन् । सबैसंग नम्र तरिकारले बोल्ने, कसैसंग पनि नमिठो नबोल्ने उनको बानीका कारण उनकोमा कपाल काट्नेहरुमा कलाकारहरु नै अग्रस्थानमा आउने गरेका छन् ।

नेपालमा नाम चलेका कलाकारहरुको कपाल काटेकै कारण उनि चर्चामा रहेका छन् । उनले नेपाली फिल्मका अभिनेताहरु राजेश हमाल, प्रदीप खड्का , दीलिप रायमाझी, सुनिल थापा , विराज भट्ट , रमित ढुङ्गाना, जय किसन बस्नेत, सोभित बस्नेत लगायत अधिकांशको कपाल काटेर चिटिक्क पारिदिने गरेका छन् । उनले कलाकारहरुको मात्र नभएर पत्रकारहरुको पनि कपाल काट्ने गरेका छन् ।

कपाल काटिदिए बापत कलाकारहरुले राम्रै पैसा दिने गरेको उनी बताउँछन् । उनी भन्छन् – “मलाई कलाकारहरुको कपाल काट्न एकदमै रमाइलो लाग्छ । उहाँहरुलाई कपाल काट्ने सेवा दिनु न भन्ने गर्छु । एक पटक कपाल काटेपछि उहाँहरुले मलाई सम्झिनुहुन्छ । धेरै जसो उहाँहरुकै घरमा गएर काटिदिने गरेको छु” । कलाकारले मात्र होइन पत्रकारहरुले पनि उनलाई राम्रै पैसा दिने गरेको जुरी बताउछन् । हामीले उनलाई भेट्दा अन्नपुर्ण पोष्ट  का पत्रकार कपाल काटेर निस्कदै थिए । उनले कपाल र दाह्री काटेको ३ सय रुपैया दिएर निस्केका थिए । जुरी भन्दै थिए – “मैले मागेको होइन । उहाँ आफैले यस्तो बेलामा कपाल काटिदिएको भन्दै आफै जानी बुझेर ३ सय रुपैया दिएर जानुभएको हो” ।

अहिलेसम्म जुरी ठाकुरले नेपालका ९० प्रतिशत सेलिब्रेटीका कपाल काटेको बताउँछन् । उनी भन्छन् – “मैले अहिलेसम्म धेरै कलाकारहरुको कपाल काटिसकेको छु । धेरैसँग त मैले फोटो खिचेको छैन किनभने सबैसँग सेल्फि खिच्न मलाई अफ्ठ्यारो लाग्थ्यो । अहिले चाहिं मैले खिच्ने गरेको छु” । उनलाई कलाकारहरुको कपाल काट्दा आनन्द आउने बताउँछन् ।

लकडाउनको बेलामा पनि उनी घरमा बसेका छैनन् । उनलाई कपाल काट्न अहिले पनि भ्याइ नभ्याइ रहेको छ । उनले अस्ति मात्रै अभिनेता जयकिसन बस्नेतको कपाल काटेका छन् भने एक दिनमा ३-४ जना कलाकार तथा पत्रकारको कपाल काट्दै आएका छन् ।

उनको पसल सानो भएपनि उनी कपालको डिजाइनका बारेमा एकदमै जानकार रहेका छन् । उनले सैलुनमा काम गर्न थालेको १९ बर्ष भइसकेको छ । उनी भन्छन् – “मैले हातमा कैची चलाउन थालेको १९ बर्ष भइसकेछ । मैले थुप्रै चेलाहरु पनि जन्माएको छु । उनीहरु अहिले विदेशमा कपाल काटिरहेका छन् । म भने यहिँ खरिबोटमा १९ बर्ष देखि कपाल काट्न बसिरहेको छु” । विदेशमा रहेका आफ्ना चेलाहरु संग बेला बेलामा फोनमा कुराकानी हुने गरेको उनी बताउँछन् ।