चलचित्र चलायमान बनाउन प्याकेज : अध्यक्ष दाहाल

कोभिड १९ का कारण अन्य धेरै क्षेत्रसँगै चलचित्र क्षेत्र पनि धरासायी भएको छ । भोलि अवस्था सामान्य भएपनि मास मुभमेन्ट हुने भएकाले यो क्षेत्रलाई पहिलेकै अवस्थामा आउन समय लाग्ने यो क्षेत्रका विज्ञहरुको निष्कर्ष छ । यस्तो अवस्थामा सरकारले यो क्षेत्रको समस्यालाई सम्बोधन गर्ने गरी राहत प्याकेज ल्याउला भन्ने चलचित्रकर्मीको अपेक्षा थियो, तर सरकारले बजेटमा खासै ठोस योजना दिन सकेन । यसले यो क्षेत्रको भविष्यलाई लिएर थप शंका उपशंका सिर्जना भएका छन् । तर, सोमबार मात्र चलचित्र विकास बोर्डको अध्यक्षको कार्यभार सम्हालेको दयाराम दाहालले फिल्म क्षेत्रलाई पुनः चलायनमान बनाउन प्याकेज घोषणा गर्ने प्रतिबद्धता जनाएर फिल्मकर्मीमा आशाको सञ्चार गराएका छन् । सोमबार औपचारिक रुपमा पदभार ग्रहण गर्दै उनले कोभिड १९ का कारण थलिएको फिल्म उद्योगलाई चलायमान बनाउन राहत ल्याउने जनाएका थिए ।
‘सबै संघ संस्थाहरुको भावना समेटिने गरि चलचित्र विकास बोर्डको आन्तरिक स्रोतबाट चलचित्र क्षेत्रको पुनःसञ्चालनका लागि प्याकेज घोषणा गर्नेछु ’ छोटो मन्तव्य राखेका उनले भनेका थिए । उनले सम्बोधनमा सबै संघसंस्थासँगको छलफलमा अगाडि बढ्ने प्रतिवद्धता पनि व्यक्त गरेका थिए ।
हामीले यही विषयमा चलचित्र विकास बोर्डका सदस्य सचिव महेन्द्र साँखीसँग जिज्ञासा राखेका थियौं, ‘प्याकेजमा के के पर्छन् र विकास बोर्डले यसका लागि खर्चन लागेको रकम कति हो ?’ सदस्य सचिव साँखीले अध्यक्षसँग विस्तृत रुपमा छलफल भइनसकेकाले यो बारेमा अहिले नै केही भन्न नसक्ने अवस्था रहेको बताए । तर, उनले बोर्डले यो वर्षका लागि ५ करोड रुपैंयासम्म खर्च गर्न सक्ने बताए । ‘बोर्डमा अहिले कति रकम छ त्यो त बुझ्नै पर्छ । तर, हामीसँग ४÷५ करोड खर्च गर्न मिल्ने पैसा छ । सायद अध्यक्षज्यूले यही पैसाबाट प्याकेज बनाउने सोच्नु भएको होला’, साँखीले भने ।