रकस्टारको ‘अर्ग्यानिक लाईफ स्टाइल’

लकडाउनको कारण शहरको जनजीवन अस्तब्यस्त छ भने गाउँघरमा बाझिएका पाखाबारीमा हरियाली छाउन थालेको छ । शहरिया दिक्दारलाग्दो दैनिकीबाट धेरैले गाउँको हावामा रमाउने मौका पाएका छन् । घरमा नै बसिरहेका धेरै बाबु आमाले छोरा छोरीको साथसाथै नातीनातिनासंग समय व्यतित गर्ने मौका पाएका छन् । शहरिया जीवनशैलीले बढेको दुरी लकडाउनले कम गरिदिएको छ । वर्षमा ७ दिन समेत आफ्नो घर फर्किएर बस्न नचाहने बुहारी समेत गाउँको माटो खन्न पुगेकी छन् । बाबु आमा र विद्यालयका शिक्षक मात्रै देखेका बालबालिकाले हजुरबा-हजुरआमाको न्यानो साथ महसुस गर्न पाएका छन् । समग्रमा भन्दा लकडाउनले धेरैलाई माटोको सुगन्ध महसुस गर्ने अवसर दिएको छ ।

सानोमा बाबु आमा र छ्यामाले गाएको लोक गीत सुन्दै हुर्किएका नेपथ्यका गायक अमृत गुरुङलाई सारंगी बजाएर गाउने गाइनेको गीत धेरै मन पर्छ । गाउँ मन पराउने र सानैबाट एकान्त प्रेमी गुरुङ डाँडाको टुप्पोमा बसेर चित्र बनाउने र बाजा बजाउने गर्थे । ‘रेशम’, ‘तालको पानी’, ‘जोमसोमै बजारमा’, ‘जोगले हुन्छ भेट’ लगायत गीत गुरुङले गाउँ ठाउँमा नै पुगेर संकलन गरेका हुन् । लोक रकलाई टपक्कै टिपेर गाउने उनका गीत गाउँ र शहरमा उत्तिकै चर्चित छन् ।

उनै गुरुङ हाल गाउँघरमा दिन व्यतित गर्दै छन् । उनी कास्की र स्याङ्गजाको सिमावर्ती भेगमा पर्ने ‘पुम्दिभुम्दी’ मा आफ्नै गोठमा समय व्यतित गर्दैछन् । उक्त गोठ उनकी हजुरआमाको हो र एक दशक यता उनी आफैँले सम्हाल्दै आएका छन् । लकडाउन यता गोठमा रहेर उनी सामान्य नेपाली कृषकझैँ दिन व्यतित गर्दैछन् । दुई महिना बढी भयो उनले गोठ मै जीवन व्यतित गरिरहेको । यस विच उनले मकै गोडे, धानको बिउ राखे र भर्खरै धान समेत रोपीसकेका छन् ।

सामाजिक संजाल मार्फत गुरुङले आफ्नो गोठ र गाउँको यात्रामा देश विदेशका उनका फ्यानलाई समेत एक साथ घुमाएका छन् । उनले घर भित्रको तस्विर समेत सार्वजनिक गर्ने गरेका छन् । उनको तस्विरमा न कुनै बनावटीपन छ न त रकस्टारको सौखिन जिवनशैली । सामाजिक संजाल मै सार्वजनिक गरेको उनको घर हेरेर कसैले भन्दैन यो रकस्टारको घर हो । बिल्कुल सामान्य कृषकको घर झैँ छ उनको बासस्थान, जसलाई उनी ‘गोठ’ भन्न रुचाउछन् ।

उनी कहिले जंगलको बीचमा ध्यान गर्दै देखिन्छन्, त कहिले ढुंगामा बसेर बाजा बजाउदै , गीत गाउँदै । उनले सार्वजनिक गर्ने पोष्टमा लेखेका शब्दहरु कोही निखारिएको साहित्यकारको भन्दा कम छैनन् । उनलाई कहिले काहीँ भने कन्सर्टको समेत याद आउने रहेछ  । ‘कैले आउला यस्तो दिन’ भन्दै उनले पुराना तस्विर समेत सार्वजनिक गर्ने गरेका छन् ।

छोटो हाफ कट्टु, सेतै फुलेको कपाललाई गुजुमुज्ज पारेर बाँधेर उनी उखु टोक्दै देखिन्छन् । पृष्ठभूमिमा आगोबाट निस्केको धुँवा, दलानमा झुन्डीएको तौलिया, अनि उनी रातोमाटोले लिपेको पिंढीमा बसेर उनी उखु टोक्दै छन् । उनको घरमा डोको, अचानो लगायत ग्रामिण भेगमा प्रयोग हुने सबै सामग्रीहरु देख्न सकिन्छ ।

कहिले उनी बारीमा मकै गोड्दै देखिन्छन् त कहिले काफल, चुत्रो र ऐशेलु खान जंगल-जंगल भौतारिन्छन् । यहि यात्रामा उनलाई फूल नै नमानीने चिलाउनेको फूलले समेत आकर्षित गरेको छ । आखिर फूल त फूल नै हो नि ! भन्दै उनी तस्विर सार्वजनिक गर्छन । चराको आवाजबाट उनी संदेश प्राप्तिको अनुभूति गर्छन् । अंगेरीको फूल पनि आकर्षक लाग्छ उनलाई । प्रकृतिका सम्पूर्ण उपहार अनुपम नै त छन् ।

कमिलाको लस्करै आगमनलाई तस्विरमा कैद गर्दै उनी अग्रजको भनाइ सम्झिन्छन् , कमिला आए संगै बर्षा सुरु हुने अग्रजको अड्कलबाजी साँचो पनि त हो । दिन बित्दै जाँदा उनले सुनाखरी फेलापारेका छन् । लाटोकोशेरोलाई आफ्नै परिवारको सदस्य मान्दै उनीहरु प्रतिको माया तस्विरमा समेट्दै विश्व माझ पुर्याएका छन् । जंगल घुम्दा समेत उनले नछोड्ने आफ्नो पुरानो भैसकेको झोलाको साथमा गितारलाई ढुंगाको माझ राखेर उनले निक्कै आकर्षक तस्विर सार्वजनिक गरे । काली निगुरो जसले धेरै रोग समेत निको पार्ने चर्चा ग्रामिण भेगमा हुन्छ, उनको खान्कीको एक भाग बन्न पुगेको छ । चोकमा निस्किएर १०० रुपैयाको एक मुठो निगुरो किन्ने हामीलाई समेत उनी आफैँ वन पसेर टिपेको निगुरोले मनमा चसक्क बनाउँछ ।

गाउँमा रासायनिक मल प्रयोग नगर्ने र बिउको जोहो गरिसकेको कारण उनको खेतमा धान रोप्न खासै समस्या भएन । जेठो बुढो र गुर्दी जातका बिउ छरेकोमा प्रकृतिले साथ दिएको कारण उनको खेतमा धान रोपीसकिएको छ । बाँकी भने असार १५ मा रोप्ने उनले बताएका छन् ।

उनको खेतमा त सकियो, तर ‘परेली’ को चलन अनुसार उनी अरुको बाली लगाउने क्रममा पनि पक्कै खटेको देख्न पाइने छ । विश्व घुमेका गुरुङ त एक सामान्य जीवन शैलीमा यति गज्जबले घुलमिल हुन सक्छन् भने हामी जाबो गोडा दस एक बर्ष सहरको एउटा कुच्रुक्क परेको कोठामा बिताएर, के हिलोमा पस्ने नहुने झैँ स्वांग पार्नु ? गरे के हुन्न ? यो वर्ष सबैले आफ्नो बाँझो खेत बारीलाई हरियालीमा परिवर्तन गरौ न ।हुदैन ?