‘छिछोरे’ नसम्झेका सुशान्त

सन् २०१९ मा ‘दंगल’ निर्देशक नितेश तिवारीको एक फिल्म रिलिज भयो – ‘छिछोरे’ । फिल्मको मुख्य पात्र अनिरुधको छोरा राघवले इन्डियन इन्स्टिच्युट अफ टेक्नोलोजी (आइआइटी) को इन्ट्रान्स परीक्षामा असफल भएपछि बल्कोनिबाट हामफालेर आत्महत्या गर्ने प्रयास गर्छ तर घाइते मात्र हुन्छ र उसलाई हस्पिटल भर्ना गरिन्छ । हस्पिटलको बेडमा रहेको छोराको मनोबल बढाउन र उसलाई निराशाको दलदलबाट निकाल्नको लागि बाबुले उसलाई आफ्नो कलेज जीवनको किस्साहरु सुनाउँछ । जस्तो सुकै परिस्थितिमा पनि जीवन संग हार मान्न हुदैन भन्ने संदेश बोकेको यस फिल्मले निराश भएर आत्महत्याको बाटो रोज्नेहरुलाई पनि जीवन प्रति आशावादी बनाउने प्रयास गएको थियो । फिल्ममा मुख्य भूमिकामा देखिएका थिए चर्चित अभिनेता सुशान्त सिंह राजपुत ।

उनै सुशान्त सिंह राजपुतले आत्महत्या गरेको खबरले यतिबेला सबैजना स्तब्ध छन् । संचार माध्यमहरुका अनुसार उनले बांद्रा स्थित आफ्नै घरमा झुण्डिएर आत्महत्या गरेका हुन् । उनी केवल ३४ वर्षका मात्र थिए ।

सन् १९८६, जनवरी २१ मा बिहारको पटनामा जन्मेका सुशान्तले इन्जिनियरिंगको अध्ययन सकेपछि अभिनय तर्फ पाइला चाले । शुरुवाती दिनमा उनले ब्याकग्राउण्ड डान्सरको रुपमा काम गरे । त्यसपछि उनलाई ‘किस देश मे है मेरा दिल’ नामको सिरियलमा काम गर्ने मौका जुर्यो । लगत्तै उनले ‘पवित्र रिश्ता’ मा काम गरे र त्यसैले उनलाई एक क्षमतावान अभिनेताको पहिचान दिलायो । सुशान्तले डान्स रियालिटी शोहरु ‘जरा नच के दिखा’ र ‘झलक दिखला जा’ मा पनि सहभागिता जनाए ।

सन् २०१२ मा ‘काइ पो छे’ बाट उनको फिल्मी यात्रा शुरु भयो जहाँ उनले एक महत्वपुर्ण भूमिका निर्वाह गरेका थिए । ‘डिटेक्टिव ब्योमकेश बक्शी’, ‘एमएस धोनी: द अनटोल्ड स्टोरी’ र ‘छिछोरे’ मा उनी मुख्य भूमिकामा देखिए । ‘एमएस धोनी: द अनटोल्ड स्टोरी’ बाट उनी फिल्म फेयर उत्कृष्ट अभिनेताको मनोनयनमा पनि परेका परे । त्यस्तै आमिर खानसंग सुपर हिट फिल्म ‘पिके’ मा पनि उनले काम गरे । ‘शुद्ध देसी रोमांस’, ‘केदारनाथ’ लगायतका फिल्महरुमा पनि आफ्नो अभिनय कौशल देखाएका सुशान्त पछिल्लो समय बिज्ञान कथामा आधारित फिल्म ‘चन्दा मामा दुर के’ मा काम गरिरहेका थिए तर बजेट अभावका कारण फिल्मको छायांकन रोकिएको थियो ।

अभिनय करियरमा सफलता हासिल गरिरहेका सुशान्तलाई प्रेम सम्बन्ध भने खासै फापेन । शुरुवातमा उनी ‘पवित्र रिश्ता’ की को-स्टार अंकिता लोखंडेसंग रिलेशनशिपमा थिए तर पछि दुइ बीच ब्रेकअप भएको खबर आयो । फिल्ममा सुशान्तको सफलता संगै दुइ बीच दुरी बढेको चर्चा पनि चल्यो । केहि दिन अघि एक भवनबाट खसेर सुशान्तकी पुर्व म्यानेजर दिशा सलीयनको निधन भएको थियो ।

सुशान्तको पछिलो रिलिज भएको फिल्म ‘छिछोरे’ थियो भने मुकेश छाब्राको निर्देशन रहेको फिल्म ‘दिल बेचारा’ उनको अन्तिम फिल्म बनेको छ । यो फिल्म हलिउडको ‘द फल्ट इन आवर स्टार्स’ को आधिकारिक रिमेक हो ।