गिनिज बुकमा नाम लेखाउँदै शंकर बिसी

लोक तथा दोहोरी गीतको भिडियोमा लामै समय एकछत्र राज गरेका मोडल हुन्, शंकर बिसी । उनले अहिलेसम्म ३५ सय भन्दा बढि म्युजिक भिडियोमा अभिनय गरिसकेका छन् । विश्वमा पहिलो पटक यति धेरै म्युजिक भिडियो खेलेको भन्दै मोडल शंकर बिसीले गिनिज बुक (गिनिज वर्ल्ड रेकर्डस)मा नाम लेखाउने तयारी गरेका हुन् ।

हालै अनामनगरमा भेटिएका शंकर बिसीले आफुले गिनिज बुकमा नाम लेखाउन लागेको बताए । उनले भने,‘ विश्वमा अहिलेसम्म सबै भन्दा धेरै म्युजिक भिडियोमा अभिनय गरिसकेको छु । मैले अहिलेसम्म ३५ सय भन्दा बढि म्युजिक भिडियोमा काम गरिसकेको हुनाले गिनिज बुकमा नाम लेखाउने तयारीमा लागेको हो ।

यसका लागि मैले केहि महिना अगाडीदेखि नै सबै प्रक्रिया पुर्याएर गिनिज बुकका लागि एप्लाई सकेको थिए । मैले एप्लै गरेको समयमा कोरोना महामारी फैलिएका कारण यि सबै कुरा रोकिएको छ । ३५ सय वटा गीत गन्ने काम भइरहेको हुनाले यस बारेमा घोषणा हुन समय लागेको हो । ’ उनले अहिले उताबाट गीत गन्ने काम भइरहेको पनि जानकारी गराए ।

उनीसँग दैनिक मात्रामा तीन चार वटासम्म म्युजिक भिडियो खेलेको अनुभव छ । उनले यस बर्षको तीजमा पनि ३५ वटा भन्दा म्युजिक भिडियो गरिसकेका छन् । उनले मेरोफिल्मसँगको कुराकानीमा भने,‘लकडाउनको अवधिमा म्युजिक भिडियो गर्दिन भन्दा भन्दै पनि ३५ वटा भिडियो सुटिङ गरिएछ । कोरोना महामारीमा जोखिम मोल्दै र सावधानी अपनाउँदै काम गर्दै जाँदा ३५ वटा म्युजिक भिडियो सकिएछ , उनले भने ।’
यसरी जिनिज बुकमा नाम लेखाउनका लागि साथीभाईको आग्रहमा सुरु गरेको उनको भनाई छ । ३५ सय गीत हेर्नका लागि सम्बन्धित मान्छेलाई समय लाग्ने भएकाले पनि केहि समय ढिला हुन पुगेको शंकरको भनाई छ ।

शंकर र सम्झनाको जोडी

एक समय शंकर बिसी र सम्झना बुढाथोकीको जमेको जोडी मानिन्थ्यो । जुन गीतमा हेरे पनि शंकर बिसी र सम्झना बुढाथोकी मात्र देखिन्थ्यो । यो जोडी बिस्तारैसँगै देखिन छोडेका थिए । यो छुटिनु र सँगै नभेटिनुको कारण सम्झना दुर्घटनामा परेर खुट्टा फ्याक्चर हुनु रहेको पनि बताए ।
हरेक गीतमासँगै अभिनय गरेका यि जोडीलाई त्यो बेला धेरैले श्रीमान श्रीमती भन्ने गरेका थिए । शंकरले त्यो बेलाको आरोप आफुले धेरै सुनेको र आफुहरु बीच कुनै त्यस्तै सम्बन्ध नरहेको बताए । शंकर बिसीले यसबारेमा थप कुराकानी गर्दै भने , ‘हामीे धेरै म्युजिक भिडियोमा जमेको कारण पनि यस्तो हल्ला बाहिर आएको हो । जुनसुकै म्युजिक भिडियामा पनि हामी जमेका थियौँ , अहिले ति कुरा भनि साध्य पनि छैन । कतिपयले त हामीलाई बुढाबुढी पनि भन्थेँ । तर हाम्रो सम्बन्ध भनेको दाजुबैनीको मात्रै थियो र अहिले पनि छ । ’

गीतसंगीतमा बिकृति फेलियो

हरेक बर्षको तीजका बेलामा गीत संगीतमा केहि बिकृति आउने गरेको शंकरको भनाई छ । म्युजिक भिडियो कलाकार संघका अध्यक्ष समेत रहेका शंकरले छाडापन बोकेका र सुन्न नसकिने गीत हरेक बर्ष आउने गरेको  बताए । अहिलेसम्म आफुले थाहा पाएसम्म नकरात्मक खाल्का गीत हरेक बर्ष एउटा न एउटाले बजारमा आउने गरेको बिसीको भनाई छ ।

उनले भने, अरु बेला भन्दा तीजका बेला बिकृति र डबल मिनिङ लाग्ने शब्दका गीतहरु बजारमा आउने गरेका छन् । यस पटक ‘उत्तानो पारेर , बोका ,गिलास ठोक्काइ देउ ’ मोडल तथा गायक दुर्गेश थापाको साडी लगाएर नाचेका गीतहरु बिकृति फैलाउने गीत हुन् । यस्ता बिकृति फैलाउने गीत नगर्न आफुले सबैलाई जानकारी गराएको पनि छु । दुर्गेशले पनि केहि दिनमा साडी लगाएको भिडियो हटाउछु भन्नुभएको छ । ’

शंकरले आफुले पनि पहिला छोटो लुगा लगाएर नाचेको निउँमा धेरै पटक गाली खाएको अनुभव सुनाए । ‘छोटा लुगा लगाएर नाच्दा खेरि आफुले भयङ्खर गाली खाएको छु । धेरैले नराम्रो र बिकृति फैलाएको भन्ने आरोप पनि लगाउनुभयो । लोक तथा दोहोरी गीत प्रतिष्ठानमा आफुले अव देखि यस्तो गीत गर्दिन भनेर साइन गरेको छु ।

पछिल्लो समय आफुले त्यस्ता बिकृतिका गीतहरु खेल्न र निर्देशन गर्न छोडेको छु । किनभने आफै प्रतिष्ठानको सदस्य भएको नाता र आफैमा पनि आफ्नो संस्कृतिको जगेर्ना गर्नु पर्ने रहेछ भन्ने उत्पन्न भएको छ । यस्ता बिकृतिका गीतसंगीत रोक थामको लागि आफैँ सक्रिय भएर लागेको छु , बिसीले भने ।’

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानका उपमहासचिव समेत रहेका शंकरले केहि दिन अगाडी यस्ता गीतका बिसंगतीका बारेमा कसरी न्यनि करण गर्न सकिन्छ भनेर छलफल गरेको समेत बताए । त्यो छलफलबाट अर्को सालबाट यस्ता बिकृति फैलाउने खालका गीत बजारमा ल्याए कानुन अनुसार नै कठघरामा उभ्याउने कुरा भएको जानकारी गराए ।