‘नेपहप स्टार’ रियालिटी शो को तयारी

नेपालमा पहिलो पटक ‘नेपहप स्टार’ रियालिटी शो हुने भएको छ । नेपालमा हुन लागेको पहिलो ‘नेपहप स्टार’ र्याप म्युजिक रियालिटी शो हुन लागेको हो । यसमा भाग लिनका लागि प्रतियोगीले देश विदेशबाट डिजिटल अडिसनबाट भाग लिन सक्नेछन् ।

कोरोनाबाट त्रसित भएको बेला पहिलो अडिसन डिजिटल माध्यमबाट लिन लागिएको रियालिटी शोका मलिन मिडियाका फाउण्डर तथा डिरेक्टर महेश पोखरेलले बताए ।  जुनसुकै उमेरका प्रतियोगीले यस रियालिटी शोमा भाग लिन सक्ने छन् । यस शोलाई राष्ट्रिय टेलिभिजनबाट प्रसारण गरिने आयोजकले बताएको छ । अहिले कुन टेलिभिजनबाट प्रसारण गर्ने भन्ने बारे छलफल भइरहेको निर्देशक महेशले जानकारी दिए ।
महेशले भने, ‘भदौको पहिलो हप्ता यसबारेमा पत्रकार सम्मेलन गरेर जानकारी दिनेछौँ । कोरोना महामारी कम भएको खण्डमा सातै प्रदेशका प्रमुख शहरबाट नै अडिसन छान्ने छौँ । यदि कोरोनाको महामारी नरोकिएको खण्डमा डिजिटल अडिसनलाई नै मान्यता दिने हाम्रो सोचाई छ । ’
यो रियालिटी शोमा बिजेता हुनेले पचास लाख क्यासका साथै केहि गिफ्ट ह्याम्पर प्राप्त गर्नेछन् । यस रियालिटी शोले अन्तराष्ट्रिय लेवलको प्लेटफर्म पाउने मलिन मिडियाका फाउण्डर तथा डिरेक्टर महेश पोखरेलले बताए । उनले अहिलेसम्म नेपालमा यस्तो रियालिटी शो नभएको दावी गरेका छन् । अहिले गर्न लागिएको रियालिटी शोले नेपाली टिपिकल र्यापर गीतलाई बाहिर ल्याउनका लागि सहयोग पुग्ने डिरेक्टर महेशको भनाई छ ।

टेलिभिजनमा प्रसारण हुन थालेको अवस्थामा यो रियालिटी शो हप्तामा दुइ पटक प्रसारण हुने छ भने ३२ एपिसोडमा रियालिटी सकिने छ । यो रियालिटी शो दसैँ तिहारपछि टेलिभिजनमा प्रसारण गरिने पनि महेशले बताए । यस रियालिटी शोमा नेपालकै लोकप्रिय सेलिब्रेटीले जज गर्ने छन् ।