अहिलेको स्थितिमा भाइरल र भाइरसबाट बच्न दीपकको सुझाव

कोरोना महामारीमा भाइलर र भाइरसबाट बच्नका लागि निर्देशक ,निर्माता दीपकराज गिरीले सबैलाई सुझाव दिएका छन् । अभिनेत्री पुजा शर्मा र प्रकाश सुवेदीको आरोप पत्यारोप सेलाउन नपाउँदै उनले यस भाइरलका बारेमा कुरा उठाएका छन् । उनले ‘हिजो र आज’ शीर्षकमा लामो स्टाटस फेसबुक लेखेरे भाइरल र भाइरसबाट बच्न सुझाव दिएका हुन् ।

उनले हरेक दिन कोरोना भाइरसको डर फैलिरहेसंगै एक चलचित्रकर्मीको हिसाबले आज कुन सहकर्मी भाइरल हुने हो भन्ने डरले मुटु झस्किरहने बताएका छन् । उनले हिजोको दिनमा कुनै च्यानलमा अन्तरवार्ता दिएर आउँदा मनै गद्गद् हुन्थ्यो । टोल, छिमेकी, ससूराली सबैतिर आफैं हल्ला गरिन्थ्यो, उत्साहित हुदैँ टिभि अगाडि बसिन्थ्यो, अन्तर्वार्ता हेरिन्थ्यो,तर आजकल समय फेरियो, हामी फेरियौं, सबै फेरियो । आजकल अन्तरवार्ता लागि फोन आउँदा पनि अपराध अनुसन्धान कार्यालयबाट फोन आएको जस्तो लाग्न थालेको बताएका छन् ।

अचेल कसैले फोन गर्दा फोन नउठाउने गरेको र उठाइहाले पनि बिजी छु भन्ने दिन आएको बताएका छन् । उनले लेखेका छन्,‘ सकेसम्म फोनै उठाइन्न र उठाइहाले पनि बिजि छु, पछि गरौंला नि है’ भनेर टारिन्छ । सबैलाई त टार्न सकिन्न, अनि अन्तर्वार्ता दिन त जानै पर्यो । अब जानै परेपछि सबै भन्दा पहिला सामान्य ज्ञान पल्टाएर राष्ट्रिय गानका रचयिता को हुन्, नेपालको सबैभन्दा सानो जिल्ला कुन हो ? ७५ जिल्ला पछि थपिएका २ जिल्ला कुन हो । ७ प्रदेश प्रमुख र संचारमन्त्री को हो भनेर पढ्न थालिन्छ ।’

उनले ब्याङ्यात्मक तरिकाले आफ्नो भनाई राखेका छन् । सानो कुरा पनि सहने बानी नरहेको उनमाा पछिल्लो समय निकै कुराले कौतुहल्ता बढेको देखिन्छ । सामान्य ज्ञान समेत नराखेका अभिनेत्रीहरुले यस विषयमा जानकारी राख्न पनि घुमाउरो पारामा भनेका छन् ।
अचेल अन्तरवार्ता दिएको रात निन्द्रा पर्दैन ।

सामान्य ज्ञान नजान्दा अभिनेत्री पुजा शर्मा रातारात भाइरल भएपछि उनी माथी प्रश्न उठेको थियो । देशमा कति जिल्ला र प्रश्न नजान्दा पुजा ट्रोलको सिकार मात्र बनिन् चौतफी आलोचना बनिन् । यसैलाई आधार मानेर गिरीले स्टाटसमा अगाडि लेखेका छन् – ‘ अन्तर्वार्ता दिमागमा राखेरै सुतिन्छ ,आफ्नै राष्टिय गानको रचनाकार थाहा नपाउने,यस्ता पनि सेलिब्रिटी भन्ने आबाज रातभर कानमा गुन्जिरहन्छ, राम्रोसंग निन्द्रा पनि पर्दैन ।

भोलिपल्ट स्टूडियो गइन्छ, नमस्कार आदान प्रदान हुन्छ, सबैभन्दा पहिला आँखा क्यामेरातिर जान्छ, आफूलाई त्यो क्यामेरा होइन, बन्दुक जस्तो लाग्न थाल्छ । मानौं रिपोर्टिंङ गर्नेको हात पनि माइकमा होइन ट्रिगरमा छ ।’ उनको भनाईको आयश के छ भने सबै ज्ञान कलाकारलाई थाहा नहुने हुदा कस्ता प्रश्न आउने हो भन्ने डरले क्यामेरा पनि बन्दुक देख्न थालिन्छ । जसले गर्दा ‘सशंकित र पसिना पसिना हुँदै सकिन्छ अन्तर्वार्ता, एक प्रकारको युद्ध जिते झै लाग्ने गरेको छ ।

अन्तरवार्तापछि टिकटक हेरिन्छ  

पछिल्लो समय सबै भन्दा पहिला भाइरल हुने भनेका टिकटक नै रहेको छ । टिकटकमा भाइरल भएपछि मात्र बाहिर चर्चा हुने गरेको छ । को भाइरल भइरहेको छ भन्ने कुराको लेखाजोखा टिकटकलाई लिने गरिएको दीपकको भनाई छ । त्यस कारण आफुले अन्तरवार्ता दिएपछि सुटुक्क कोठामा गएर दोहोर्याइ, तेहेर्याइ हेरिने गरेको बताएका छन् ।

कतै आफ्नो भनाई भाइरल भइरहेको छ, छैन भनेर टिकटिक नै हेरिरहन मन लाग्ने गरेको उनको भनाई छ । उनी लेख्छन् ,‘ टिकटक चेक गरिरहन मन लाग्छ , केहि भाइरल पो भैसक्यो कि । त्यो दिन काममा ध्यानै जान्न, खालि ध्यान फोनमा मात्रै । ’  उनले थप लेखेका छन् , ‘चौबिस घण्टा आँखा अन्तरवार्ताका कमेन्टहरूमा , ससुराको फोन आउँदा पनि झसंग झस्किन्छ । के हो ज्वाइँ साहेब, के तोरिलाउरे अन्तर्वार्ता दिएको त्यस्तो ?यस्तै गालि गर्लान् कि भन्ने डरले मुटु धडकिरहन्छ ।’

उनले अहिले जे बिक्छ त्यसैको पछि सबै लाग्न थालेको आरोप लगाएका छन् । पछिल्लो समय हेडलाइन बिक्री हुन थाल्यो, यसबाट एक प्रकारको इन्टेक्ट्युएल क्राइम बढ्न थाल्यो, जे बिक्छ त्यहि बेचौं भन्ने मानसिकता हाबि हुँदै गएको दीपकले बताए ।

जो नांगिए पनि औँला दुवै तिर उठ्छ है

उनले वास्तविक पत्रकारिता गर्दै आएका पत्रकारहरुलाई पनि यस भाइरल गराउने पत्रकारले घाटा लगाउने बताएका छन् । उनले निर्दोष पत्रकार साथीहरूलाई केहि कुतत्व बोकेका र हेडलाइनमा दोडेका पत्रकारका कारण असर पर्ने तर्क गरेका छन् । कलाकारले क्यामेरा र पत्रकार देख्दा तर्सिने ,पत्रकारले कलाकारको राम्रो अन्तरवार्ताको लागि पनि दुःख पाउनुपर्ने अवस्था आएको बताएका छन् ।

उनले केहि दिन अगाडी एपिवानको रजतपट कार्यक्रम प्रस्तोता प्रकाश सुवेदीले अन्तरवार्ता दिने पनि आफै, एक्सन कट् भन्ने नि आफैँ, अनि के हामीले मिलाई मिलाई उनीको चिप्लेका कुरा मिलाई मिलाई हामीले काटी दिनुपर्ने भनेको कुरालाई लक्षित गर्दै भने,‘ पहिला पहिला पत्रकार साथीहरूले कलाकारले बोलेको नराम्रो लाग्ने कुरा आफैँले काटिदिन्थे, तर आजकल कलाकार चिप्लेको कुरा हाम्ले किन मिलाइ मिलाइ काटिदिनु पर्ने ? भन्ने दिन आयो ।

एकै क्षेत्रको भएको नाताले हामीमध्ये जो नांगिए पनि औंला चाहि हामी दुबैतिर उठ्छ है ? यसमा शंका नगरौ । अहिलेको स्थितिमा भाइरल र भाइरस दुबै बाट बचौं ।’