अनमोल, सुदर्शन र पूजाको त्यो भेट, जसले जुरायो सहकार्यको अवसर

‘म यस्तो गीत गाउँछु, रामकहानी र म यस्तो गीत गाउँछु २’मा लगानी गरेपछि नायिका पूजा शर्मा सोलो रुपमै निर्मात्री बन्ने धुनमा थिइन् । सोलो रुपमा लगानी गर्नका लागि उत्कृष्ट फिल्म र टिमअप पनि बलियो बनाउनुपर्छ भन्नेमा उनी बढी केन्द्रित थिइन् । यसका लागि पूजाले कलाकारको रुपमा नायक अनमोल केसीलाई दिमागमा नराखेकी होइनन् । पूजाले अनमोलको बिषयमा कुरा गर्न उनका पिता भूवन केसीलाई पनि बारम्बार भेटिन् ।

भूवन केसीले हुँदैन कहिले पनि भनेनन् । तर, भूवन केसीसँग कुरा अगाडि बढाइरहँदा पूजा अनमोलसँग सिधै भेटेर कुरा गर्न चाहन्थिन् । अनमोलले समय दिएपछि पूजा, सुदर्शन र अनमोलको केही साता अगाडि काठमाडौंको एक पाँच तारेमा भेट भयो ।

भेटका क्रममा सुदर्शन र पूजाले फिल्मको बिषयमा कुरा गरे । जतिबेला उनीहरुसँग फिल्मको वान लाइन स्टोरी पनि थिएन । अनमोल यो टिमसँग सहकार्य गर्न राजी त थिए तर कथावस्तुको पर्खाइमा थिए ।

पूजाले वान लाइन स्टोरी बनाएर फेरि भेट्ने वाचा गरिन् । केही दिन अगाडि मात्र काठमाडौंको द्धारिका होटलमा पूजा, अनमोल र सुदर्शनविच वान लाइन स्टोरीसहित भेट भयो । फिल्मको वान लाइन स्टोरीलाई अनमोलले रुचाए ।

यसपछि भने यी तिनपछि सहकार्यको मार्ग खुलेको हो । फिल्म ‘प्रेमगीत’कै लागि सुदर्शनले अफर गर्दा अनमोलले वेवास्ता गरे । यसपछि, पनि पूजाले बारम्बार अनमोलसँग कुरा नगरेकी होइनन् ।

प्रदीप खड्का, पल शाह र आकाश श्रेष्ठसँग सहकार्य गरिसकेकी पूजा आफ्नो टिममा अनमोललाई भित्राउन चाहन्थिन् । सुदर्शन पनि अनमोललाई एउटा गज्जबको लभ स्टोरी फिल्ममा गज्जबै तरिकाले प्रस्तुत गर्न सकिन्छ भन्नेमा ढुक्क थिए ।

आफ्नो मनपर्ने नायिका पूजा र सुदर्शन थापासँग काम गर्ने रहर बोकेका अनमोल यसपटक भने राजी भएका छन् । जसले, नेपाली फिल्म क्षेत्रमा एक प्रकारको तरंग नै ल्याएको छ । कार्तिकबाट सुरु हुने फिल्मको नाम तय गरिएको छैन ।