फागुण महिना, यसकारण नेपाली फिल्मका लागि विशेष छ


यो बर्षको कार्तिकसम्म नेपाली फिल्मको रफ्तार गज्जब थियो । ७ महिनामा ७ वटा फिल्म चलेका थिए । ‘कबड्डी ४’ले त ब्लकबस्टर व्यापार गरेको थियो । ‘झिङ्गे  दाउ र २ नम्बरी’ जस्ता अनपेक्षित फिल्म पनि चलेका थिए । यसैले, निर्माताहरूलाई फिल्म बनाउने जोश बढेको थियो ।

तर, कार्तिक ११ मा चलेको ‘महापुरुष’पछि चिसिएको नेपाली फिल्मको बजार उकालो लाग्न सकेको छैन । हरेक साता निर्माताको करोड भन्दा बढी बजेटको फिल्मले १ लाख पनि उठाउन सकेको अवस्था छैन । यस्तो अवस्थामा फेरि नेपाली फिल्म क्षेत्रमा निराशा छाएको छ । 

तर, यो निराशालाई फागुन महिनामा रिलिज हुन लागेका फिल्मले आशामा बदल्ने अपेक्षा गरिएको छ । किनकी, यो महिना दर्शकले प्रतीक्षा गरेका ३ नेपाली फिल्म हलमा लाग्दैछन् । 

फागुनको ५ गते ‘फूलबारी’ रिलिज हुँदैछ । निर्देशक राम बाबु गुरुङको निर्देशनमा तयार भएका कारण पनि फिल्मप्रति दर्शक आशावादी हुन सक्छन् । साथमा, दयाहाङ राई र विपिन कार्की फिल्म ‘के घर के डेरा’पछि दर्शक माझ आएका छन् । 

पारिवारिक कथामा बनेको यो फिल्मका लागि यो हप्ताका ३ दिन विदा पनि फलिफाप हुन सक्छ । महाशिवरात्रिमा फिल्म ‘फूलबारी’ चलेको २ सातापछि वर्षकै प्रतीक्षित २ फिल्म ‘छक्का पन्जा ४ र छड्के २’ रिलिज हुँदै छन् । 

‘छक्का पन्जा ४’ नेपाली फिल्म क्षेत्रकै सर्वाधिक सफल ब्रान्ड फिल्मको निरन्तरता हो । दीपकराज  गिरी, दीपा श्री निरौला, केदार घिमिरे लगायतका कलाकारले फेरि एकपटक बक्स अफिसलाई चलायमान बनाउने अपेक्षा धेरैको छ । यतिमात्र होइन, यसपटक ‘छक्का पन्जा ४’ले नयाँ रेकर्ड बनाउन सक्छ या सक्दैन भन्ने चासो पनि सर्वत्र छ । 

नायक अनमोल केसी स्टारर फिल्म ‘छड्के २’ पनि यो फागुन १९ मै रिलिज हुँदैछ । अनमोल केसीले पहिलो  पटक ग्याङ स्टार भूमिकामा अभिनय गरेकाले पनि यो फिल्म चर्चामा छ । 

फिल्मको बक्स अफिस व्यापारले अनमोल र निर्मातालाई मात्र होइन, नेपाली फिल्म क्षेत्रलाई नै राहत दिनेछ । यस कारण, नेपाली फिल्म क्षेत्रका लागि फागुन महिना विशेष छ ।