शो पाइनँ भनेर उतारेको राधा पुनः प्रदर्शन गरिँदै

गत वर्षको भदौ १० गते रिलिज भएको फिल्म ‘द सेक्रेट अफ राधा’ आगामी भदौ २९ गते पुनः रिलिज हुने भएको छ । अघिल्लोपटक यो फिल्मसँगै ‘प्रकाश’ र बलिउड फिल्म ‘लाइगर’ एकसाथ रिलिज भएका थिए । 

त्यो बेला फिल्मले हलमा कम शोमा पाएपछि निर्माता र निर्देशकले एक पत्रकार सम्मेलन गर्दै आफूहरुले फिल्मलाई हलबाट उतार्ने निर्णय लिएको घोषणा गरेका थिए । 

नेपालमा हलबाट फिल्म उतारिएपछि फिल्मलाई विदेशका विभिन्न स्थानमा प्रदर्शन गरिएको थियो । जुन काम अहिले पनि जारी छ । 

यही निर्माण टिमले आउँदो भदौ २९ गते पुनः नेपालमा रिलिजको तयारी थालेको छ । यसका लागि फिल्मले नयाँ प्रदर्शन मितिसहितको पोस्टर जारी गरेको छ ।

निर्देशक सुवर्ण थापा र सौगात मल्ल निर्माता रहेको फिल्ममा सृष्टि श्रेष्ठ, खगेन्द्र लामिछाने, सौगात मल्ल, बुद्धि तामाङ, मेनुका प्रधान, दिव्य देवको अभिनय छ । फिल्मबाट सौगातले फिल्म निर्माणमा हात हालेका छन् ।