बजेटमा फिल्मः जहिले स्टुडियोको कुरा, तर बन्ने कहिले होइन


नेपाल सरकारले नेपाली फिल्म क्षेत्रलाई खासै वास्ता गर्ने गरेको छैन । फिल्म क्षेत्र उद्योगमा परिणत भैसक्दा पनि सरकारले हरेक बर्ष सार्वजनिक गर्ने बजेटमा प्राथमिकतामा कहिले परेको पाइदैन । 

सूचना तथा संचार प्रविधि मन्त्रालयबाट निर्देशित चलचित्र विकास बोर्ड पनि कार्यकर्ता भर्ती गर्ने केन्द्र मात्र बन्ने गरेको छ । सरकारले हरेक बर्ष सार्वजनिक गर्ने बजेटमा नेपाली फिल्मका लागि झारा टार्ने सम्बोधन बाहेक केही पनि गर्न सकेको पाइदैन । 

सोमबार बेलुकी नेपाल सरकारका अर्थमन्त्री प्रकाशशरण महत्तले सार्वजनिक गरेको बजेटमा पनि नेपाली फिल्म क्षेत्रलाई पुरानै तरिकाले छुने कोशिश गरिएको छ । सरकारले सार्वजनिक नीजि साझेदारीमा दोलखा र काभ्रेको बनेपामा इन्डोर फिल्म स्टुडियो बनाउने उल्लेख गरेको छ । सरकारले नेपाललाई फिल्म पर्यटनको आकर्षक गन्तव्यको रुपमा विकास गर्ने समेत घोषणा गरेको छ । 

दोलखा र काभ्रेमा इनडोर स्टूडियो बनाउने भन्दै हरेक बर्ष सरकारले बजेटको घोषणा त गर्दछ । तर, यसको काम सुरु हुन पनि सकेको छैन । प्रत्येक पटक आउने विकास बोर्ड अध्यक्षहरु एकपटक दोलखा पुग्छन् । तर, त्यसपछि काम कहिले पनि अगाडि बढेको देखिदैन । यसैले, यसपटकको बजेटले नेपाली फिल्म क्षेत्रलाई पूर्ण रुपमा उपेक्षा गरेको वुझ्न सकिन्छ ।