विदेशी फिल्म ल्याउँदा १ प्रतिशत भन्सार कर, नेपाली फिल्मलाई फाइदा कि वेफाइदा ?


नेपाल सरकारले आर्थिक ऐनमार्फत विदेशी फिल्म प्रदर्शनका लागि नेपालमा ल्याउँदा प्रति फिल्म संझौता मूल्यको १ प्रतिशत भन्सार शुल्क ल्याउने व्यवस्था गरेको छ । सरकारले ल्याएको नयाँ बजेटमा तोकेर १ प्रतिशत भन्सार शुल्क लागू गरेपछि नेपाली फिल्म क्षेत्रमा यसलाई लिएर विभिन्न खालका प्रतिक्रिया आइरहेका छन् ।

कतिपयले १ प्रतिशत भन्सार शुल्क लगाउँदा नेपाली फिल्म मर्कामा पर्ने तर्क गरिरहेका छन् । कतिपयले १ प्रतिशत भन्सार शुल्क लगाएर विदेशी फिल्मलाई झनै कसिलो बनाउन खोजिएको उल्लेख गरेका छन् । 

यसअघि सरकारले विदेशी फिल्मलाई नेपाल भित्र्याउँदा २० हजार रूपैयाँ भन्सार शुल्क लिँदै आएको थियो । तर, अब यसलाई प्रतिशतमा लगिएको छ । अर्थात्, कुनै फिल्म नेपाली रूपैयाँ १ करोडमा नेपाल भित्र्यायो भने १ लाख रूपैयाँ भन्सार शुल्क तिर्नुपर्ने हुन्छ । 

यो विषयमा चलचित्र संघका पूर्व अध्यक्ष प्रदीप कुमार उदयले सामाजिक संजालमा लेखेका छन्–‘अहिले फिल्मकर्मीहरु विदेशी फिल्ममा भन्सार महशुल घटाइयो भनेर रोइकराई गरेको देख्दा अचम्म लाग्छ । मित्रहरू भन्सार शुल्क बढेको हो । पहिला एउटा विदेशी फिल्मको भन्सार गर्दा ३६ हजार लाग्थ्यो । अब, वर्तमान बजेटमा १ प्रतिशतले भन्सार लाग्दा फिल्मको कर बढ्छ । कागले कान लग्यो भनेर कागको पछाडि न दौडनुहोस् । नेपाली फिल्म क्षेत्रमा समस्या थुप्रै छन्, त्यो समाधानतिर लाग्नुहोस् ।’

तर, चलचित्र कलाकार संघका अध्यक्ष मोहन निरौलाले भने ‘विदेशी फिल्मको पक्ष पोषणको हामी घोर विरोध गर्दछौं ।’

यस्तै, नेपाल चलचित्र नृत्य संघ, नेपाल चलचित्र निर्माता संघ लगायतले सरकारले विदेशी फिल्मको पक्षपोषण गरेको भन्दै विरोध गरेका छन् ।