‘ह्रस्व दीर्घ’पछि आफै फिल्म निर्देशन गर्दै नीता


नायिका नीता ढुंगानाले एक भजन र एक आधुनिक गीतको भिडियोको निर्देशन गरिन् । दुबै गीतबाट उनले राम्रै प्रतिक्रिया पाइरहेकी छिन् । 

उसो त, नीताले फिल्म निर्देशनको तयार पनि नगरेकी होइनन् । उनकै होम प्रोडक्शनमा बनिरहेको फिल्म ‘ह्रस्व दीर्घ’लाई उनले नै निर्देशन गर्ने तयारी गरेकी थिइन् । तर, फिल्मको क्यानभास ठूलो भएपछि उनले आँट गरिनन् । यसपछि, उनले निर्देशनको जिम्मा चन्द्र  पन्तलाई सुम्पिइन् । 

तर, नीतामा निर्देशक बन्ने हुटहुटी भने रोकिएको छैन । उनले भनिन्–‘ह्रस्व दीर्घ’बाट मैले धेरै कुरा सिकिरहेकी छु । अब, यो फिल्मपछि आफ्नै होम प्रोडक्शनमा बन्ने नयाँ फिल्मको निर्देशन म आफै गर्छु ।’

नीताले अरु निर्माताको लगानीमा फिल्म नबनाउने पनि बताइन् । सुरुवातमा आफै लगानी गरेर निर्देशक बन्ने र त्यसपछि राम्रो भएको खण्डमा मात्र अरुको लगानीमा काम गर्ने उनको भनाई छ । 

नीतालाई रोमान्टिक वा एक्सन फिल्म निर्देशन गर्ने रहर भने छैन । उनका अनुसार, उनी आर्ट मुभीमा बढी झुकाव राख्छिन् ।