यो बर्ष फिल्म रिलिज नहोस् भन्ने चाहन्छन् अनमोल केसी


नायक अनमोल केसीले भदौ महिनाबाट होम प्रोडक्शनकै फिल्म गर्ने चर्चा चलिरहँदा फेरि उनी आफूले साइन गरेको नयाँ फिल्म ‘फर्की फर्की’तर्फ ढल्किएका छन् । निर्माता भुवन केसीले भदौ महिनाबाट नै नयाँ फिल्मको छायांकन सुरु गर्ने परिस्थिती निर्माण नभएपछि अनमोल रोहित अधिकारीको निर्माण तथा सुयोग गुरुङको निर्देशनमा बन्न लागेको फिल्म ‘फर्की फर्की’को छायांकन सुरु गर्न तयार भएका हुन् । यो फिल्मको कथा अनमोललाई खुबै मन परेको छ । 

तर, गतबर्ष रिलिज भएको फिल्म ‘छड्के २’ले बक्स अफिसमा कमजोर व्यापार गरेपछि अनमोल नयाँ फिल्ममा काम गर्न हतार नगर्ने सोचमा देखिएका छन् । उनी, फिल्ममा काम गर्न मात्र होइन फिल्म रिलिजको लागि पनि हतार गर्ने मनस्थितीमा छैनन् । 

विशेष श्रोतका अनुसार, ज्योतीषको सल्लाहामा अनमोल केसी यो बर्ष कुनै पनि फिल्म रिलिज नगर्ने सोचमा छन् । यो बर्ष फिल्म रिलिज गर्दा बक्स अफिसमा खासै सुखद कमाई नहुने ज्योतीषले बताएपछि अनमोलले अर्को बर्ष मात्र फिल्म रिलिज गर्ने सोच बनाएका हुन् । जसकाकारण, अनमोल केसीले नै अभिनय गर्न लागेको फिल्म ‘फर्की फर्की’ फागुणको २५ गते रिलिज गर्ने चर्चा भएपनि यो बर्ष रिलिज नहुने पक्का जस्तै छ । 

भदौको अन्तिमबाट छायांकन सुरु हुने यो फिल्ममा अनमोलले नायिका जसिता गुरुङसँग पहिलो पटक पर्दा शेयर गर्दैछन् ।