फ्लप फिल्मदेखि ब्लकबस्टरसम्म, यस्तो छ मिरुनाको फिल्मी यात्रा


नायिका मिरुना मगरले नायक सौगात मल्लसँग डेब्यू फिल्म ‘लालपुर्जा’मा काम गरिन् । यो फिल्मलाई निगम श्रेष्ठले निर्देशन गरेका थिए । फिल्म बक्स अफिसमा नराम्रोसँग चिप्लियो । फिल्मले बक्स अफिसमा पानी पनि भन्न नपाउँदा मिरुनाको फिल्मी करिअरले गति लिन सकेन । उनले अभिनय गरेको अर्को फिल्म ‘रोज’ले पनि बक्स अफिसमा कुनै गतिलो कमाई गरेन । फिल्मबाट उनलाई खासै फाइदा भएन । 

यसपछि मिरुनाले नायक आर्यन सिग्देलसँग फिल्म ‘च च हुई’मा काम गरिन् । चकलेटी नायकसँगको सहयात्रा पनि उनका लागि सुखद बनेन । अझ भनौ, मिरुनाको फ्लपको ह्याट्रिक नै भयो । तीन वटा फिल्म लगातार असफल भएपछि फिल्म क्षेत्रमा मिरुनाको भाग्य चम्किदैन भनेर धेरैले सोचेका थिए । तर, निर्देशक रामबाबु गुरुङले फिल्म ‘कबड्डी ४’मा मिरुनालाई अभिनय गराए । यो फिल्मले व्यापारिक रुपमा ऐतिहासिक रेकर्ड नै राख्यो ।

बक्स अफिसमा दया र मिरुनाको जोडीले चर्चा पायो । तर, रोचक कुरा के छ भने ‘कबड्डी ४’ भन्दा अगाडि नै छायांकन भएको फिल्म ‘जारी’ यो बर्षको पहिलो दिनबाट रिलिज भयो । बक्स अफिसमा यो फिल्मले १७ करोड ग्रस कलेक्शन गर्दै गर्दा सय दिनको गौरवमय यात्रा पनि पार गरेको छ । 

मिरुनाको हातमा अहिले फिल्मको अभाव नै छैन । उनले दयाहाङ राईसँग नै फिल्म ‘नाङ्गो गाउँ’मा अभिनय गरिसकेकी छिन् । यस्तै, उनले नायक विपिन कार्कीसँग फिल्म ‘उनको स्विटर’मा काम गर्दैछिन् । 

फ्लप फिल्मदेखि ब्लकबस्टरसम्मको यात्राबारे मिरुना भन्छिन्–‘मैले सुरुवातमा काम गरेका फिल्महरु सफल नभएपनि ती फिल्मबाट धेरै कुरा सिकेकी छु । सायद, ती फिल्महरुबाट मैले पाठ नसिकेको भए आज यहाँसम्मको यात्रा गर्न सक्दिनथ्य होला । जीवनमा उतारचढाव त जसको पनि हुन्छ । यो जीवनको एउटा अंग हो । आज म जसरी अगाडि बढिरहेकी छु, मेरो एउटै चाहना भनेको राम्रो गर्ने नै भन्ने हो ।’