सुदर्शनसँग ‘रावायण’मा सहकार्य गर्दै अनमोल


गतबर्ष नायक अनमोल केसीले पूजा शर्मा फिल्मस्बाट निर्माण हुन लागेको फिल्म साइन गरेका थिए । यो फिल्मको नाम चलचित्र विकास बोर्डमा दर्ता गरिएको थिएन । तर, फिल्मको नाम दर्ता नगरेपनि पूजाले ‘रावायण’ नाममा फिल्म बनाउने तयारी गरेकी थिइन् । द्धारिका होटलमा पूजा शर्मा र अनमोल केसीले फिल्ममा काम गर्ने गरि संझौता गरे । यसपछि, पूजाले भारतबाट स्क्रिप्ट राइटर भित्राएर कथा लेखिन् । 

फिल्मको कथा अगाडि बढ्दै जादा फिल्म निर्माण नै अन्यौलमा पर्यो । फिल्म बन्ने वा नबन्ने पक्का थिएन । यो बिचमा नायक अनमोल केसीले फिल्मका लागि संझौता गरेको रकम फिर्ता गरे । योसँगै पूजा र अनमोलबिचको सहकार्य तोडियो ।  

तर, अब यो फिल्मको काम अगाडि बढाइएको छ । तर, यसपटक फिल्म निर्माणमा सुदर्शन थापा एक्लै अगाडि बढेका छन् । नायक अनमोल केसी र निर्देशक सुदर्शन थापाबिच फिल्म ‘रावायण’मा सहकार्य गर्ने संझौता भएको हो । सुदर्शनले आफ्नै प्रोडक्शनबाट फिल्मको नाम चलचित्र विकास बोर्डमा दर्ता गरेका छन् । 

यो बिषयमा सुदर्शनले मेरो फिल्मसँग भने–‘अनमोलले काम गर्ने पक्का भैसकेको छ । अन्य कलाकारसँग कुराकानी भएको छैन ।’

नायक अनमोल केसीले पनि यसपटक सुदर्शन थापासँग काम गर्ने बिषयमा फाइनल कुरा भएको बताए । उनले मेरो फिल्मसँग भने–‘हामीले अहिले कुनै पनि संझौता गरेका होइनौं । यो पहिलेको नै संझौता हो । पहिले पनि हामीले फिल्म नगर्ने भन्ने कुरा थिएन । केही समय पछि गर्ने भन्ने कुरा भएको हो । पहिले पूजा शर्मा फिल्मस्सँग संझौता भएको थियो । अब, सुदर्शन थापा प्रोडक्शनसँगको ब्यानरमा काम गर्ने पक्का भएको हो ।’

उसो त, अनमोल केसीले फिल्म ‘फर्कि फर्कि’ पनि साइन गरेका छन् । अनमोल भन्छन्–‘मेरो लाइनअपका फिल्म अब रावायण र फर्कि फर्कि नै हुन् । एउटा लभ स्टोरी कथामा बन्दैछ भने अर्को एक्सन केन्द्रित छ ।’ अनमोलका अनुसार, पहिले ‘रावायण’को काम अगाडि बढ्नेछ । भदौबाट फिल्मको काम सुरु गर्ने तयारी सुदर्शनको छ । 

फिल्म ‘रावायण’मा अनमोल केसीले दोहोरो भूमिका निर्वाहा गर्दैछन् । यो फिल्मको कथा शिवम् अधिकारीले लेखिरहेका छन् । अनमोल केसीले पहिलो पटक दोहोरो भूमिकामा काम गर्न लागेका हुन् । 

तर, ‘रावायण’मा पूजाविना काम गर्न अनमोल तयार हुँदै गर्दा, अनमोलले पूजासँग काम गर्न नचाहेको सन्देश भने गएको छ ।