दयाहाङ र मिरुनाको जोडी बाँधिएको फिल्म ‘रङ्गेली ग्याङ्स्टर्स’ बन्यो ‘रङ्गेली’

अर्जुन सुवेदीको लेखन तथा निर्देशनमा बन्न लागेको फिल्म ‘रङ्गेली ग्याङ्स्टर्स’को शीर्षक परिमार्जित गरिएको छ । 

सोमबार निर्माण टिमले एक प्रेस वक्तव्य जारी गर्दै यसको नाम परिमार्जन गरेको जानकारी गराएको हो । आगामी भदौ २० गतेबाट फिल्म छायाङ्कनमा जाने फिल्म 'रङ्गेली ग्याङ्स्टर्स'को नाम परिमार्जन गर्दै निर्माण टिमले 'रङ्गेली' राखेको छ ।

फिल्मको स्क्रिप्टमा कुनै परिमार्जन नगरिए पनि नाम परिमार्जन गर्नुमा छायाङ्कन हुने स्थान मोरङ जिल्लाको रङ्गेलीका स्थानीय समुदायका अग्रजहरू र स्थानीय निकायको आग्रहमा शीर्षक परिमार्जन गरिएको जारी प्रेस वक्तव्यमा भनिएको छ ।

जारी वक्तव्यमा भनिएको छ, 'यो परिमार्जनले हाम्रो समाज भित्र सकारात्मकता, एकता र सम्मानको वातावरण कायम राख्न सहयोग पुग्ने विश्वास गरिएको छ । यस फिल्म को छायाङ्कन हुने स्थान मोरङ जिल्लाको रङ्गेलीमा भएको आपसी समझदारीबाट शीर्षक परिमार्जनको निर्णय गरिएको हो । त्यहाँका स्थानीय समुदायका अग्रजहरू तथा स्थानीय निकायबाट यस फिल्मको शीर्षकमा परिमार्जनको लागि आग्रह गरिएको थियो । उहाँहरूको आग्रहलाई सम्मान गर्दै शीर्षक परिमार्जन गरिएको हो ।'

साथै, 'रङ्गेली'को थिम पोस्टर सार्वजनिक गर्दै प्रदर्शन मिति समेत घोषणा गरिएको छ । आगामी महाशिवरात्रीको अवसर पारेर २०८० सालको फागुन २५ गतेलाई औपचारिक रूपमा तोकिएको छ ।

मोरङको रंगेली वरपरको विषयवस्तुमा केन्द्रित रहने फिल्ममा दयाहाङ राई, मिरुना मगर, अर्पण थापा, प्रविण खतिवडा लगायतको प्रमुख भूमिका रहनेछ ।

फिल्मका कार्यकारी निर्माताहरू जीतेन्द्र खतिवडा र अनुज जङ्ग थापा हुन् । यसमा निर्माताहरू संसार चौलागाईं र रमेश भट्टराई वशिष्ठ हुन् भने युवक कार्की र शिव थपलिया सह-निर्माता हुन् । विवेक खड्का (योलो) एशोसियट निर्माता हुन् । यो फिल्मलाई सुशन प्रजापतिले छायाङ्कन गर्दै छन् ।