नेपालमा ‘जवान’को आक्रामक बुकिङ, बम्पर ओपनिङको संकेत


बलिउड नायक साहरुख खानको साथमा साउथका सुपरस्टारहरु नयनतारा, विजय सेतुपति लगायतका कलाकारको अभिनय रहेको फिल्म ‘जवान’ भोलीबाट विश्व बजारमा रिलिज हुँदैछ । यो फिल्मले भारतमा ‘पठान’ले बनाएको ५७ करोडको ओपनिङको रेकर्ड तोड्ने पक्का जस्तै छ ।

फिल्मले बिहिबार भारतीय बक्स अफिसमा ७० देखि ७५ करोडको ओपनिङ गर्ने प्रक्षेपण गरिएको छ । ओभरसिज मार्केटबाट फिल्मले ५० करोडको ओपनिङ गर्ने ट्रेडहरुको भनाई छ । 

नेपालमा पनि यो फिल्मले बम्पर ओपनिङ गर्ने संकेत गरेको छ । यो फिल्मलाई नेपालका मल्टिप्लेक्सहरुले बिहान ५ बजेदेखि शोज दिएका छन् । 

क्यूएफएक्स चेनले देशभर सय भन्दा बढी शोज दिएको छ । मध्यान्नसम्मका शोजहरुमा बुकिङ आक्रामक छ । यस्तै, वान सिनेमाज् नयाँ बाँनेश्वरमा भोलीका लागि टिकट पाउन मुश्किल हुने देखिएको छ । बीग मुभिज, एफक्यूब लगायतका हलमा पनि बुकिङ आक्रामक छ । 

शोजको संख्या, आक्रामकको बुकिङलाई हेर्दा फिल्मले २ करोड भन्दा माथिको ओपनिङ गर्ने देखिएको छ । 

यो बर्ष नै नायक साहरुख खान अभिनित फिल्म ‘पठान’ले नेपाली बक्स अफिसमा १३ करोडको ग्रस कलेक्शन गरेको थियो । विश्व बजारमा भने यो फिल्मले १ हजार ५० करोडको व्यापार गरेको थियो ।