परिणितीले फिल्मका लागि १५ केजी तौल बढाइन्, तर गर्भवती भएको हल्ला फैलियो


बलिउड नायिका परिणिती चोपडा नयाँ फिल्म ‘अमर सिंह चमकिला’का कारण चर्चामा छिन् । गायक अमर सिंह चमकिलाको बायोपिक फिल्ममा नायक दिलजित दोसांझसँगै परिणितीले पनि काम गरेकी छिन् । 

ओटीटीमा रिलिज भएको यो फिल्ममा परिणितीले चमकिलाकी पत्नी अमरजोत कौरको भूमिकामा काम गरेकी छिन् । यो फिल्मका लागि परिणितीले १५ केजी तौल समेत बढाएकी थिइन् । 

परिणितीले यो फिल्मका लागि तौल बढाउँदा धेरै बलिउडकर्मीले करिअर सकिने चेतावनी दिएको खुलासा गरेकी छिन् । यो फिल्ममा परिणितीले मेकअप गरेकी छैनन् ।
 
तर, यो फिल्ममा काम गर्नका लागि तौल बढाउँदा परिणिती गर्भवती भएको खबर फैलिएको थियो । यहीकारणले आफूले केही प्रोजेक्ट गुमाएको परिणितीको गुनासो छ । गलत हल्ला फैलिदा आफूलाई घाटा लागेको उनले खुलाएकी छिन् । 

यो फिल्मका लागि काम गर्दा कतिपयले प्लाष्टिक सर्जरी गरेको आरोप समेत लगाएको परिणितीको भनाई छ । फिल्म रिलिज भइसकेपछि परिणितीले अहिले तौल घटाउनका लागि मिहिनेत गरिरहेकी छिन् ।