साहरुखको ‘जवान’लाई ब्लकबस्टर प्रतिक्रिया, आक्रामक ओपनिङ


यो बर्ष नै फिल्म ‘पठान’ले ब्लकबस्टर व्यापार गरेपछि बलिउडमा आक्रामक कमब्याक गरेका नायक साहरुख खान अभिनित अर्को फिल्म ‘जवान’ आजबाट हलमा रिलिज भएको छ । 

विश्वभरका दश हजार भन्दा बढी पर्दामा रिलिज भएको फिल्मले ब्लकबस्टर प्रतिक्रिया पाएको छ । यो फिल्मलाई समीक्षक, ट्रेडदेखि दर्शकले उत्कृष्ट प्रतिक्रिया दिएका छन् । बलिउड फिल्मका सर्वाधिक चर्चित ट्रेड समीक्षक तरण आदर्शले यो फिल्मलाई ४.५ रेटिङ दिएका छन् । उनले, यो फिल्मलाई ‘मेगा ब्लकबस्टर’ भनेका छन् । 

यस्तै, फिल्म हेरेर फर्किएका दर्शकले यो फिल्मले व्यापारको सबै रेकर्ड तोड्ने प्रतिक्रिया दिएका छन् । बलिउड ट्रेडहरुका अनुसार, फिल्मले भारतमा मात्र ८० करोडको नेट कलेक्शन गर्ने संभावना छ । 

यो फिल्मले बुकिङमा ‘पठान’को रेकर्डलाई समेत ध्वस्त बनाएको थियो । फिल्मको १३ लाख भन्दा बढी टिकट एडभान्समै विक्री भएका थिए । 

साउथका सुपरस्टार निर्देशक एट्लीको निर्देशनमा तयार भएको यो फिल्मले साहरुखलाई दोहोरो अवतारमा देखाएको छ । फिल्ममा नयनतारा, विजय सेतुपतिको मुख्य भूमिका छ । 

फिल्मले भारतीय बक्स अफिसमा मात्र ५ सय करोडको क्लबलाई सजिलै पार गर्ने विश्लेषण गरिएको छ ।