‘जवान’ले तोड्यो ‘पठान’को ओपनिङ व्यापारको रेकर्ड, बक्स अफिसमा साहरुख भर्सेस साहरुख


नायक साहरुख खानले बक्स अफिसमा आफैसँग प्रतिस्पर्धा गरिरहेका छन् । यो बर्ष उनी अभिनित २ वटा फिल्म रिलिज भए । जसमा फिल्म ‘पठान’ले बक्स अफिसमा ५५ करोडको ओपनिङ गरेको थियो । बलिउड फिल्मको इतिहासमै पहिलो दिन सर्वाधिक धेरै कमाई गर्ने फिल्मको रेकर्ड ‘पठान’ले राखेको थियो । तर, अब उनै साहरुख खान अभिनित फिल्म ‘जवान’ले बक्स अफिसमा ‘पठान’को रेकर्ड तोड्दै नयाँ इतिहास रचेको छ । 

बिहिबारबाट रिलिजमा आएको फिल्मले ‘पठान’लाई ओपनिङ रेकर्डमा पछि पारेको हो । बिहिबार यो फिल्मले हिन्दी भाषामा मात्र ६५.५० करोडको आक्रामक ओपनिङ गर्दै नयाँ रेकर्ड राखेको हो । 

फिल्मको तेलुगु र तामिल भाषामा डबको रेकर्ड सार्वजनिक भएको छैन । यस्तै, फिल्मले विश्व बजारमा सय करोडको ग्रस कलेक्शन पनि पार गरेको छ । योसँगै साहरुख अभिनित २ फिल्मले रिलिजको पहिलो दिनमा सय करोड ग्रसको रेकर्ड समेत बनाएका छन् । 

एट्लीको निर्देशनमा तयार भएको फिल्मको वर्ड अफ माउथ आक्रामक छ । फिल्ममा साहरुख खान, नयनतारा, विजय सेतुपति, दीपिका पादुकोण लगायतका कलाकारको अभिनय छ ।