प्रदीपसँग चैत्र ९ को सम्बन्धः ‘शत्रु गते’ १४ करोड माथि, ‘महाजात्रा’को व्यापार कति पुग्ला ?

निर्देशक प्रदीप भट्टराइको निर्देशनमा तयार भएको फिल्म ‘महाजात्रा’ले पहिलो दिनमा १ करोड २३ लाखको ग्रस कलेक्शन गरेको यसको निर्माणपक्षले सार्वजनिक गरेको आँकडामा उल्लेख छ । शुक्रबार बिहानैदेखि सुखद सुरुवात गरेको यो फिल्मले दिवा शोदेखि बम्पर व्यापार गरेको थियो । बेलुकी र रात्रिकालीन शोमा दर्शकको चाप उच्च देखियो । 

शनिबार भने फिल्मले बिहानीको शोजबाट आक्रामक व्यापार गरिरहेको छ । बिहान ७ बजेबाट नै फिल्मका सबै जसो शोजमा दर्शकको चाप शतप्रतिशत छ । यसैले, आज यो फिल्मले बिष्फोटक व्यापार गर्ने देखिएको छ । 

निर्देशक प्रदीप भट्टराइको पाँचौ फिल्म ‘महाजात्रा’ पनि सुपरहिटको बाटोमा गएको छ । यो फिल्म चैत्रको ९ गतेबाट रिलिजमा आएको हो । 

यही मितिमा यसअघि प्रदीपले निर्देशन गरेको फिल्म ‘शत्रु गते’ पनि रिलिजमा आएको थियो । यो फिल्मले बक्स अफिसमा १४ करोडको ग्रस कलेक्शन गरेको थियो । 

यसैले, चैत्रको ९ प्रदीपका लागि विशेष छ । उनको करिअरकै आजसम्मको सर्वाधिक ग्रस कलेक्शन गर्ने फिल्ममा ‘शत्रु गते’ पर्छ । अब, चैत्रको ९ गते नै रिलिजमा आएको फिल्म ‘महाजात्रा’को व्यापार कति पुग्ला ? त्यो भने हेर्न बाँकी छ ।