‘अब २०८२ सालको दशैंमा भेटौंला’

दशैं नेपाली फिल्मका मेकरहरुका लागि निकै प्रिय मानिन्छ । लामो दिनसम्म बिदा हुने भएकाले पनि फिल्मले बक्स अफिसमा राम्रो कमाई गर्दै आएका छन् । यसैले, दशैंमा फिल्म रिलिज गर्न निर्माताहरुको तछाडमछाड नै चल्ने गरेको छ । 

षट्कोण आर्टसले अब नयाँ फिल्म वि.सं २०८२ सालको दशैंमा रिलिज गर्ने घोषणा गरेको छ । सार्वजनिक भएको नयाँ गीत ‘साथी’को अन्तिममा नयाँ फिल्म डेढ बर्षपछि रिलिज गर्ने घोषणा गरिएको छ । यदि, मेकरले भने जसरी नै फिल्म रिलिज गर्न सके भने अबका ३ बर्षका दशैं नै प्याक भइसकेका छन् ।

आउँदो बर्षको दशैंमा ‘छक्का पन्जा ५, बलिदान, बेहुली फ्रम मेघौली’ रिलिज गर्ने घोषणा भइसकेको छ । यस्तै, वि.सं २०८२ सालको दशैंमा ‘महाजात्रा’ टिमको नयाँ फिल्म रिलिजको घोषणा गरिएको छ । यस्तै, वि.सं २०८३ मा निश्चल बस्नेतले फिल्म ‘दिमाग खराब २’ रिलिज गर्ने घोषणा गरिसकेका छन् । 

विशेषगरि, सार्वजनिक बिदा पर्ने गरि फिल्म रिलिज गर्न आफूहरूले कहिले नपाएको गुनासो षट्कोण आर्टस् टिमको रहँदै आएको छ । यसैले, उनीहरुले डेढ वर्षपछिको मिति अहिले नै बुक गरेका हुन् । 

यो टिमले बनाएको फिल्म ‘महाजात्रा’ले बक्स अफिसमा धुम मच्चाइरहेको छ । फिल्मको व्यापार आज पनि सुखद देखिएको छ ।