कोशिश गरिरहेकी गरिमा

पहिलो फिल्म ‘लण्डन टू पेरिस’को दोस्रो पोस्टरमा तस्विर समावेश भएपछि नव–नायिका गरिमा शर्मा भावुक बनेकी छिन् । 

लामो समयदेखि फिल्म खेल्ने सपना आफूले राखेको र आजको दिनमा त्यो पुरा हुँदै गएको भन्दै उनी भावुक बनेकी हुन् । गरिमाले कविताको शैलीमा लेखेकी छिन्–‘देखेको सपना पुरा हुने होकी भन्ने आशा जागेको छ । ए भगवान, तिमीले त सुनेका छौं नि मेरो प्रार्थना भन्ने लागेको छ । मन त हो, भोको छ कामका नयाँ नयाँ चुनौती मागेको छ ।’

गरिमाले सपनाको खुड्किलो हिँड्न सजिलो नभएपनि आफू नथाकेको भन्दै निराश पनि नहुने उल्लेख गरेकी छिन् । उनले लेखेकी छिन्–‘चम्कन पाउँ आकाशमा उज्यालो तारा बनी, झर्दा पनि निराश भने हुने छैन । गरिमा तिमीले कोशिश त गरेको हो नी ।’

गरिमाले फिल्म क्षेत्रमा चम्कने आशा पनि व्यक्त गरेकी छिन् । नेपाली फिल्म क्षेत्रमा नयाँ नयाँ अनुहार भित्रदा पनि कमैले मात्र स्थान बनाइरहेको समयमा गरिमाले पनि पाइला राखेकी छिन् । जसले अभिनय गरेको पहिलो फिल्म आउँदो बर्षको जेठको २५ गतेबाट रिलिजमा आउँदैछ । यसैले, फिल्म रिलिजको मिति नजिकिदै जाँदा उनी गम्भीर र भावुक बनेकी छिन् ।