‘महाजात्रा’को सेलिब्रिटी शोमा को–को पुगे ?

बक्स अफिसमा आक्रामक व्यापार गरिरहेको फिल्म ‘महाजात्रा’को सेलिब्रिटी शो आइतबार बेलुकी काठमाडौंको सिभिल मलमा आयोजना गरिएको छ । फिल्मको विशेष शोमा पूर्व प्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी(एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनाल पनि पुगेका थिए ।

उनले, फिल्मले भ्रष्टाचारी नेताहरूलाई गतिलो मुक्का हानेको भन्दै प्रशंसा गरे । उनले, नेपाली जनताले अपेक्षा गरेको जस्तै फिल्म बनेको बताए । यस्तै, फिल्म हेर्नका लागि निर्देशक तुलसी घिमिरे, नायिका गौरी मल्ल, प्रियंका कार्की, नायक आयुष्मान देशराज जोशी, निर्मात्री पूनम गौतम, हाँस्य कलाकार सन्दिप क्षेत्री लगायत हल पुगेका थिए । 

फिल्म हेरेपछि निर्देशक तुलसी घिमिरेले हँसाउने र रुवाउने दृश्यलाई एकसाथ पर्दामा ल्याउन सक्ने लेखक र निर्देशकको रुपमा प्रदीप भट्टराईलाई पाएको भन्दै प्रशंसा गरेका थिए । यस्तै, नायिका गौरी मल्लले पहिलो हाफमा आफूले हाँसो रोक्न नसकेको र दोस्रो हाफ आफ्ना लागि सरप्राइज भएको बताइन् । 

प्रदीप भट्टराईको लेखन तथा निर्देशनमा तयार भएको यो फिल्ममा हरिवंश आचार्य, विपिन कार्की, वर्षा राउत, रविन्द्र सिंह बानियाँ, रविन्द्र झा, राजाराम पौडेल, दिव्य देव लगायतका कलाकारको अभिनय छ । फिल्ममा म्याक्स दीपेश खत्री र यज्ञश्वर पौडेलको लगानी छ । फिल्मले दुई सातासम्म १० करोड माथिको ग्रस कलेक्शन गरिसकेको छ ।