‘पुष्पा २’को रेट ४ करोड पुग्यो, भारतीय फिल्म ल्याउन तर्सिएका छन् वितरक

आजबाट रिलिजमा आएका दुई हिन्दी फिल्म ‘बडे मिया छोटे मिया र मैदान’ नेपाल भित्रिएनन् । यी दुई फिल्म नेपाल नभित्रिनुको कारण नेपाली फिल्मको दबदबाको रुपमा धेरैले बुझेका छन् । तर, यसरी वुझिएको खण्डमा गलत हुनेछ । 

यी दुई फिल्म नेपाली फिल्मका कारण नेपाल नभित्रिएका होइनन् । नेपाली बजारमा हिन्दी फिल्मको व्यापार कमजोर हुँदै गएपछि वितरक तर्सिएका छन् । यसैले, महँगो लगानी गरेर नेपाल भित्र्याएका फिल्म हेर्नका लागि दर्शक नै नजाने हुन् कि भन्ने डर वितरकमा छ । 

केही फिल्मलाई छाड्ने हो भने अधिकांश भारतीय फिल्मले दर्शकको साथ पाएनन् । अहिले भारतीय फिल्म नेपाल भित्र्याउनका लागि वितरकलाई महँगो रकम तिर्नुपर्ने हुन्छ । तर, तिरेको रकम पनि फिर्ता आउने अवस्था नहुँदा वितरकहरु फिल्म किन्न डराइरहेका छन् । आजबाट रिलिजमा आएको हिन्दी फिल्म ‘बडे मियाँ छोटे मियाँ’लाई मात्र वितरकले १ करोड भारू तिर्नुपर्ने थियो ।

तर, करिब २ करोड नेपाली खर्च गरेर ल्याएको फिल्मबाट आधा रकम पनि नउठ्ने भय वितरकमा थियो । यसैले, अक्षय कुमार र टाइगर श्राफ जस्ता स्टार भएको फिल्म पनि नेपाल भित्रन सकेन । 

अगस्टमा रिलिज हुन लागेको फिल्म ‘पुष्पा २’का लागि नेपाली वितरकले ४ करोड तिर्न तयार भइसकेका छन् । ‘पुष्पा’लाई केही लाखमा नेपाल भित्राएका वितरकले ‘पुष्पा २’का लागि ४ करोड तिर्नुपर्ने पक्का भइसकेको छ । फिल्म रिलिजको मितिसम्म यो बार्गेनिङ अझ बढ्नेछ । 

नेपालमा पनि दर्शकले ठूला र प्रतीक्षित केही फिल्मबाहेक अरु फिल्ममा मन बनाउन छाडेका छन् । हिन्दी फिल्मको सेल्स पहिले जस्तो नभएको वितरकहरु स्वयंम स्विकार गर्छन् । 

१ करोडको व्यापार गर्दा वितरकको हातमा २५ लाख मात्र आउने भएकाले पनि विदेशी फिल्मले नेपालमा आक्रामक व्यापार गर्नुपर्ने हुन्छ । तर, त्यो अवस्था अहिले नरहेको देखिन्छ । 

भारतीय वितरकले नेपालमा फिल्म बेच्नका लागि महँगो रकम भन्न थालेको अवस्था छ । नेपालमा भने फिल्मको व्यापार झन् झन् घट्दै गएको छ । यसैले, अहिले फिल्म ल्याएर पनि के गर्नु ?’ एक वितरकले मेरो फिल्मसँग भने ।