पूर्वका दर्शकसँग ‘डिग्री माइला’को साक्षात्कार

चैत्रको ३० गतेबाट रिलिजमा आएको फिल्म ‘डिग्री माइला’का मुख्य कलाकारहरू मोफसल दौडमा निस्किएका छन् ।

मोफसलमा रहेका दर्शकहरुसँग भेटेर साक्षात्कार गर्नका लागि मुख्य कलाकार दयाहाङ राई, आँचल शर्मा, विजय बराल र निर्माता मणिराम पोखरेल पूर्वका जिल्लामा निस्किएका हुन् । कोशी प्रदेशको राजधानी विराटनगरबाट सुरु हुने यो यात्रा बिर्तामोड पुगेर टुंगिनेछ । 

उनीहरू आज विराटनगर, इटहरी र धरान पुग्नेछन् । यस्तै, भोलि बिहान ११ बजे दमकको डी म्याक्स हल, २ बजे बिर्तामोडको क्यूएफएक्स हल र ५ बजे पाथीभरा सिनेप्लाजामा पुग्नेछन् । 

काठमाडौंका दर्शकसँग भने यो फिल्मका कलाकारले शुक्रबार र शनिबार नै साक्षात्कार गरिसकेका छन् । रामबाबु गुरुङको निर्देशनमा तयार भएको यो फिल्मले २ दिनमा ३ करोड ६ लाखको ग्रस कलेक्शन गरेको आँकडा वितरकले सार्वजनिक गरेका थिए । 

फिल्मले डिग्री पास गरेर पनि बेरोजगार रहेको एक युवाको कथा भन्छ ।