‘सुनकेशरी’बाट दर्शक तर्सेलान् कि ऋचा शर्मा ?

हरर विधाका फिल्ममा दर्शक र निर्माताबीच रौं मात्रको अन्तर हुन्छ । यो विधाका फिल्ममा कि दर्शक तर्सन्छन् कि निर्माता । नेपालको हकमा अधिकांश समय दर्शक हैन निर्माता तर्सिएका उदाहरण छन् । चाहे त्यो लक्ष्मीनाथ शर्माले बनाएको ‘वरपीपल’ होस् वा कर्माले अभिनय गरेको ‘भ्रम’ । यो विधामा बनेका फिल्मले निर्माताको खल्ती भर्न सकेका छैनन् ।

तर, सधैं प्रयोग गर्न रुचाउने अभिनेत्री निर्माता ऋचा शर्माले दर्शक तर्साउने आत्मविश्वाससहित ‘सुनकेशरी’को निर्माण गरेकी छिन् । कार्यक्रममा ऋचाले हरर फिल्म नचल्ने मान्यतामा ‘सुनकेसरी’ अपवाद बन्ने दाबी गरिन् । नेपालबाट पछिल्लो समय ठुलो रकम विदेशी चलचित्रले लगिरहेको अवस्थामा रिस्क लिदै यो खालको फिल्म निर्माण गरेको उनको भनाई थियो ।

ऋचाले फिल्म आफ्नो तर्फबाट उद्योगका लागि योगदान सरह भएको पनि दाबी गरेकी थिइन् । अर्पण थापाको निर्देशन् रहेको उक्त फिल्ममा नेपाली सहित अस्ट्रेलियन कलाकारहरुको अभिनय रहेको छ ।कार्यक्रममा नायक / निर्देशक अर्पण थापाले जड्याहाले जती रक्सी खान छोड्छु भनेपनी छोड्न नसके जस्तै आफुले पनि चलचित्र क्षेत्र छोड्न नसक्ने बताए । फिल्मलाई शुभकामना दिन आएकी केकी अधिकारीले अर्पणसँग काम गर्न इच्छुक रहेको भन्दै दोस्रो भागमा खेल्ने अवसर दिन मस्का समेत लगाइन् । तर, हररले नतर्साए फिल्म कमेडी हुने भन्दै फिल्मको ट्रेलरले दुई तीन ठाउँ ‘गुजबम्प’ निकालेको दाबी गरिन् ।

फिल्ममा रिचा शर्मा, सन्नी ढकाल, रबिन्द्र झा लगायतको अभिनय रहेको छ । फिल्मलाई मनोज अधिकारीले निर्माण गरेका हुन । फिल्ममा काली प्रसाद बास्कोटा र बिजय अधिकारीको संगीत, रह शर्माको छायाङ्कन, आन स्कट क्लेमेन्टको सम्पादन, जर्ज सालिवा र मिचेल सालिवाको द्वन्द रहेको छ । फिल्म जेठ ११ गते देखि रिलिज हुदै छ ।