‘बासुदेब मुनाल स्मृति कोष’को स्थापना

पानी खाने निउँले तिम्रो घरमा आउँला, लालुपाते फुलेर लाल भयो, बाँसुरीको धुनमा मादलुको तालमा, झमझम इष्टकोट लगायत दर्जनौ चर्चित गीतहरु नेपाली संगीत क्षेत्रलाई दिएका स्वर्गिय बसुदेब मुनालको स्मृतिमा बासुदेब मुनाल स्मृति कोष खडा गरिएको छ । उक्त कोषले मुनालको बार्षिक पुण्य तिथिको दिन पारेर आउदो असोज देखि बार्षिक रुपमा वितरण गर्ने गरि बाशुदेव मुनाल बाल कल्याण पुरस्कार प्रदान गर्ने भएको छ ।

उक्त पुरस्कार बाल साहित्य संस्कृति वा बालहित सम्बन्धि बिशेष योगदान पुर्याएका व्यक्ति वा संस्थालाई प्रदान गरिने जानकारी कोषका अध्यक्ष तथा मुनाल सुपुत्र मोहित मुनालले दिएका छन् । सुरिलो आवाजबाट रेडियो नेपालको बाल कार्यक्रम सञ्चालन गरेर एक समयमा लोकप्रिय रेडियो प्रस्तोता बनेका मुनालको ६८ बर्षको उमेरमा गत असोजमा निधन भएको थियो । उनले रेडियो नेपालबाटै आफ्नो करियर सुरु गरी झण्डै चार दशक रेडियो नेपालमै बिताएका थिए । ‘आओ आओ भाई बहिनिहरु रेडियोको नजिक आओ’ रेडियो नेपालको चर्चित बाल कार्यक्रमको उनको यो सम्बोधन निकै चर्चित थियो ।