‘झोले’ पछि डार्क कमेडीमा दीपेन्द्रको ‘चङ्गाचेट’

निर्देशक दीपेन्द्र के खनाल फिल्ममा नयाँ प्रयोग गर्न सक्ने निर्देशकका रुपमा चिनिन्छन् । फिल्म ‘द युगदेखि युगमसम्म’ पछिल्लो पटक ‘धनपति’सम्म आइपुग्दा फिल्ममा दीपेन्द्रले केही नयाँ प्रयोग गरिरहेका छन् । डार्क कमेडी जनराको फिल्म ‘झोले’ बनाएका निर्देशक दीपेन्द्र पुनः डार्क कमेडी फिल्म निर्देशन गर्ने भएका छन् ।

अहिलेकी हटकेक नायिका प्रियंका कार्की र उनका प्रेमी आयुषमान देशराज जोशीलाई प्रमुख भूमिकामा लिएर फिल्म ‘चङ्गाचेट’ बनाउन लागेका हुन् । प्रिन्सेस मुभिजको व्यानरमा माधव वाग्लेले निर्माण गर्ने फिल्मको मंगलबार राजधानीको चाबहिलस्थित गणेशस्थान मन्दिरमा मुहुर्त गरिएको छ । मंगलबारबाटै छायांंकनमा जाने फिल्म काठमाडौं, धरान, जनकपुरलगायतका स्थानमा खिचिनेछ ।
निर्देशक खनालका अनुसार फिल्मले दर्शक हसाउँदै सामाजिक सन्देश पनि दिनेछ । ‘फिल्म डार्क कमेडीमा मनोरञ्जनसँगै सन्देश पनि दिनेछ । हाँस्न चाहने दर्शकका लागि यो नयाँ स्वाद हुनेछ, उनले भने ।

फिल्ममा आयुष्मान र प्रियंकासँगै रविन्द्र झा, सन्दिप क्षेत्री, अर्पण थापा, माओत्से गुरुङ, ऋचा शर्मा, सुरक्षा पन्त, परमिता आरएल राना, सन्दिप क्षेत्री र आसिफ शाहको अभिनय हुनेछ । निरज कँडेलको छायांकन हुने फिल्ममा प्रदिप भारद्वाजको लेखन छ ।