निरस यात्राको कथा ‘तिमीसँग’ (चलचित्र समीक्षा)

- मेराेफिल्म

साम्राज्ञी र आकाश अभिनयमा कमजोर देखिन्छन् भने नाजिरले पनि आफूलाई ‘होस्टल रिटर्न’को भूमिकाभन्दा माथि लैजान सकेका छैनन् । पहिलो फिल्म ‘ड्रिम्स’बाट संवादकै कारण रुचाइएकी साम्राज्ञी यो फिल्ममा त्यही विधामा पनि कमजोर देखिएकी छिन् । पछिल्लो एउटा फिल्ममा १० लाख पारिश्रमिक लिएकी साम्राज्ञीले यत्तिकै मात्र अभिनय गर्ने हो भने त्यो उद्योगका लागि मात्र हैन, साम्राज्ञी आफ्नै लागि पनि महंगो सावित हुनेछ ।

तराईका जनतालाई हिमाली भेगका बारेमा थाहा हुँदैन, सुनेका आधारमा बुझेका हुन्छन् । त्यस्तै हिमाली भेगका मान्छेलाई तराई भेगका बारेमा थाहा हुँदैन, उनीहरुले पनि सुनेकै आधारमा हिमाली भेग चिनिरहेका हुन्छन् । कति रमाइलो हुन्छ होला जब हिमाल र तराई प्रत्यक्ष भेटेर एक अर्काप्रतिको बुझाइलाई गलत सावित गर्छन् । फिल्म ‘तिमीसँग’ले पनि हिमाल र तराईको आँखा र कानबीचको यस्तै भिन्नतालाई विषय बनाएको भए कति जाति हुन्थ्यो होला तर फिल्म यस्तो कथामा प्रवेश गर्नु त परको कुरा प्रवेश गरेको कथामा पनि रोचकता भर्न असफल छ । यो फिल्ममा हिमालको पृष्ठभूमिका केही दृश्य सुन्दर छन् तर फिल्मले ती दृश्यमा डुबी फिल्मलाई सुन्दर बनाउन सकेको छैन ।
फिल्ममा त्यस्तो मथिंगल हल्लाउने कथा पनि छैन । बेलायतमा बस्ने एक गैरनेपालीकी छोरी नीति (साम्राज्ञी राज्यलक्ष्मी शाह) नेपालको हिमाली भेगमा घुम्न आउँछिन् । उनलाई पोखरा लगायत कास्कीका आसपासका स्थानमा घुमाउनु पर्ने जिम्मा आइलाग्छ शुभम् (आकाश श्रेष्ठ) लाई । पैसाले सबथोक किन्न खोज्ने नीति र शुभम् यात्राका लागि निस्किन्छन् । तर, बाटोमा भेटिएका तराईवासी भरतराज मिश्र (नाजिर हुसेन) नीतिलाई पहिलोपटक देख्न बित्तिकै मायामा फस्छन् । चिठी पुर्याउन आएका भरत नीतिको पछि लाग्छन् । त्यसपछि अगाडि बढ्ने यी तीन पात्र, घान्द्रुक, पुनहिल लगायतका रमणीय ठाउँ र मुख्य तीन पात्रको कथा कसरी अगाडि बढ्दै जान्छ र कुन मोडमा आएर टुंगिन्छ फिल्म यही विषयको सेरोफेरामा सकिएको छ ।

‘तिमीसँग’ कथा, प्रस्तुति, अभिनय र प्राविधिक सबै विधामा औसतभन्दा माथि जान सकेको छैन । कथाकारसमेत रहेका निर्देशक शिशिर राणाले न बलियो कथा छानेका छन् न यसमा रोचकता भर्न सकेका छन् । अझ उनले छानेका कलाकारबाट पनि गतिलो काम लिन सकेका छैनन् । फिल्ममा साम्राज्ञीराज्य लक्ष्मी शाह, आकाश श्रेष्ठ र नाजिर हुसेन मुख्य भूमिकामा छन् तर तीनै जनाको अभिनय आफ्नो ठाउँमा छैन । साम्राज्ञी र आकाश अभिनयमा कमजोर देखिन्छन् भने नाजिरले पनि आफूलाई ‘होस्टल रिटर्न’को भूमिकाभन्दा माथि लैजान सकेका छैनन् । पूर्ववत फिल्ममा झैं धेरै ठाउँमा नाजिर ‘लाउड’लाग्छन् । पछिल्ला दुई फिल्मबाट राम्रो सम्भावना देखाएकी साम्राज्ञीले यो फिल्ममा दर्शकलाई नमज्जाले निराश पार्छिन् । फिल्म हेरिरहँदा यस्तो लाग्छ, उनी मन नलागी नलागी काम गरिरहेकी छिन् । पहिलो फिल्म ‘ड्रिम्स’बाट संवादकै कारण रुचाइएकी साम्राज्ञी यो फिल्ममा त्यही विधामा पनि कमजोर देखिएकी छिन् । उनको डाइलग डेलिभरी धेरै ठाउँमा हल्का र अस्वाभाविक छ । साम्राज्ञीको अभिनयको लेखाजोखा यसकारण पनि जरुरी छ कि उनी अहिले सर्वाधिक पारिश्रमिक लिने अभिनेत्री हुन् । पछिल्लो एउटा फिल्ममा १० लाख पारिश्रमिक लिएकी साम्राज्ञीले यस्तै मात्र काम गर्ने हो भने त्यो उद्योगका लागि मात्र हैन, साम्राज्ञी आफ्नै लागि पनि महंगो हुनेछ ।
नाजिर हुसेनलाई पनि फिल्ममा लभर ब्याइका रुपमा त देखाउन खोजिएको छ । तर उनी लभर ब्याइ भन्दा बढी ‘जोकर’ लाग्छन् फिल्ममा । उनको अभिनयले फिल्मलाई बोरिङ हुनबाट त जोगाएको छ तर मूल कथासँग उनको भूमिका राम्ररी ‘ब्लेन्ड’ भएको छैन ।
फिल्मको मुख्य कमजोरी भनेको यसको पटकथा र प्रस्तुतिकरण हो । यही कथामा राम्रो पटकथा र प्रस्तुति भएको भए फिल्म राम्रो बन्न सक्थ्यो । फिल्ममा न साम्राज्ञी घुम्न आउने कुरालाई स्थापित गरिएको छ, न घुमेपछि उनमा आएको परिवर्तनलाई देखाउन खोजिएको छ । नाजिरको चरित्र चित्रणमा पनि यही समस्या छ । त्यस्तै फिल्मको क्लाइमेक्स पनि शक्तिशाली बन्न सकेको छैन । द्धन्द्धको स्थापना र त्यसको प्रशस्त विकासबिना नै फिल्मले बिट मारेको छ जसले फिल्मबाट ठूलो अपेक्षा लिएर हेर्न गएका दर्शक खिन्न हुँदै हलबाट निस्कन्छन् । फिल्ममा आधा दर्जन कलाकारको केमियो छ तर कसैको पनि उपस्थितिले फिल्मलाई प्रभावशाली बनाउन मद्दत गरेको छैन ।

फिल्मले पोखरादेखि पुनहिलको ट्रेकलाई कथामा समेटेको छ । तर पोखरादेखि पुनहिलसम्म पुग्दा देखिने सुन्दर दृश्यलाई पनि छायांकारले समेट्न सकेका छैनन् । प्रमोद कार्कीको छायांकन निर्देशन हिमालको सुन्दरता कोट्याएर मात्र अगाडि बढेको छ, यसको गहिराइसम्म पुग्न सकेको छैन । तर, दृश्यको तुलनामा गीतमा उनको टिमको मेहनत बढी देखिन्छ ।
यति हुँदाुहँदै पनि फिल्ममा केही दृश्य रमाइला छन् । तराईमा घर भएको छोरालाई हिमाली भेगसम्म घुम्न पठाउने आइडियाले नेपालको भूगोललाई एक आपसमा बाँध्न खोजेको छ । त्यस्तै विदेश जाने प्रवृत्तिप्रति व्यङ्ग्य गर्दै नेपालमै केही गर्न सकिन्छ भन्ने सोचलाई पनि फिल्मले छुन खोजेको छ । फिल्ममा नाजिरले ठाउँ ठाउँमा हँसाउछन्,त्यो फिल्मको सुखद पक्ष हो । अझ भिरमा बुटो समातेर रात कटाउने नाजिरको दृश्य विशेष उल्लेखनीय छ । यसैले बलियो कथा र त्यसको रोचक प्रस्तुति नहुँदा फिल्म ‘म्यानिक्विन’ जस्तै देखिएको छ । आवरणमा हेर्दा सुन्दर देखिन्छ तर प्राणहिन ।
फिल्ममा केही कमेडी र फाइट समेत राखिएकाले मसालेदार फिल्म मन पराउने दर्शकलाई यो फिल्म मन पर्न सक्छ तर अभिनयमा संवेदना खोज्ने दर्शकलाई भने फिल्मले निराश बनाउन सक्छ ।

२०७४ चैत २६ गते १३:२५ मा प्रकाशित

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *