सुन्दर क्यानभाषमा फिक्का चित्र – लिलीबिली समीक्षा

शुक्रबारबाट प्रदर्शनमा आएको फिल्म ‘लिलिबिली’ लाखौंचोटि लेखेर क्षणभरमै मेटिएको कथा हो । न यसको कथामा नयाँपन छ न कथाको प्रस्तुतिमा । त्यसैले ‘लिलिबिली’ सुन्दर क्यानभाषमा जथाभावी रंग पोतिएको पेन्टिङमा सीमित भएको छ ।

संसारकै सबैभन्दा सुन्दर र भावनात्मक सम्बन्धका रुपमा हेर्ने गरिन्छ प्रेमलाई । यही प्रेमकै जालोमा संसार अडिएको छ र यही प्रेमकै कथामा कैयन साहित्य लेखिएका छन् । फिल्म बनेका छन् । यसरी लेखिएका केही प्रेम अजर अमर छन् त केही बगेको पानीले पाइला मेटे झैं क्षणभर मै मेटिएका छन् । शुक्रबारबाट प्रदर्शनमा आएको फिल्म ‘लिलिबिली’ लाखौंचोटि लेखेर क्षणभरमै मेटिएको यस्तै कथा हो । न यसको कथामा नयाँपन छ न कथाको प्रस्तुतिमा । त्यसैले ‘लिलिबिली’ सुन्दर क्यानभाषमा जथाभावी रंग पोतिएको पेन्टिङमा सीमित भएको छ । यसको क्यानभाषलाई सुन्दर यसकारण भनिएको हो, फिल्मको सम्पूर्ण सुटिङ स्कटल्यान्डमा गरिएको छ जुन सुन्दर छ ।

मिलन चाम्सको निर्देशन रहेको यो फिल्म यति सतही छ कि, फिल्ममा निर्देशकको उपस्थिति बत्ती बालेर खोज्नुपर्ने हुन्छ । फिल्ममा दुई पात्र आभास (प्रदिप खड्का) र श्रुति (जसिता गुरुङ) को प्रेमकथा छ । युरोपमा बस्दै आएका प्रदीप र जसिताको भेट एक ट्वाइलेटमा हुन्छ । झुक्किएर एउटै ट्वाइलेटमा भेट भएका यी दुई पात्रबीच विभिन्न सिक्वेन्समा फेरि भेट हुन्छ । खुला स्वभावको आभाससँग जसिता नजिक हुन्छे । र यी दुईबीच प्रेम हुन्छ, तर दुवैले एकअर्काप्रति आफ्नो प्रेमलाई खुलेर दर्शाउन सकिरहेका हुँदैनन् ।

जब दुवैलाई प्रेमको अनुभूति हुन्छ, तब श्रुतिको जिन्दगीमा अरु कोही आउँछ इन्गेजमेन्टका लागि । त्यसपछि अगाडि बढ्दै जाने कथासँगै आभास र श्रुतिको प्रेम कसरी मोडिँदै जान्छ भन्ने बुझ्नका लागि फिल्म नै हेर्नुभए हुन्छ ।

फिल्मलाई वर्षकै ठूलो फिल्मको रुपमा हेरिएको थियो । यसका दुइटा कारण थिए..प्रदिप खड्का र विदेशी भूमिमा छायांकन । जहाँसम्म प्रदीप खड्काको कुरा छ उनको यो फिल्म पहिलेको भन्दा ‘राम्रो’ भनेर भन्न सकिने अवस्था छैन । चकलेटी अभिनेताको छाप बनाएका प्रदीपले यो फिल्ममा आफ्नो चकलेटी लुकलाई त आकर्षक बनाउने कोशिश गरेका छन् । तर उनले अभिनयमा ग्रोथ देखाउन सकेका छैनन् । यस्तो लाग्छ, प्रदिपले अघिल्ला दुई फिल्मको ‘प्रेम’लाई अझै माया मार्न सकेका छैनन् । अझ दोस्रो हाफको पटकथा प्रदिप र जसितालाई छाडेर प्रियंका कार्कीमा केन्द्रित हुँदा हाफटाइम पछाडि त प्रदिप पुरै गायब भएका छन् । बरु नवनायिका जसिता गुरुङले आफ्नो भूमिकालाई केही हदसम्म न्याय गरेकी छिन् ।

खास गरी रुने ठाउँमा जसिता अनावश्यक लाउड लाग्छिन् तर यसमा जसिताको भन्दा निर्देशकको कमजोरी झल्कन्छ । प्रियंका कार्की फेरि पनि हल्का रोलमा देखिएकी छिन् । मध्यान्तरपछि कथा उनको वरिपरि घुम्छ तर पनि फिल्ममा उनले कुनै छाप छोड्न सकेकी छैनन् । छोटो छोटो भूमिकामा देखिएका अनुपबिक्रम शाही र सविन श्रेष्ठ पनि फिल्ममा फिका लागेका छन् । अनुपबिक्रम शाही उस्तै उस्तै रोलमा उही एक्सप्रेसन लिएर यति धेरै देखिन थालेका छन् कि उनलाई देख्ने बित्तिकै उनले कस्तो डाइलग बोल्छन् र कस्तो एक्सप्रेसन दिन्छन् सजिलै भन्न सकिने भएको छ ।

चलचित्रको राम्रो पक्ष यसको पाश्र्वध्वनि हो । पश्चिमी र पूर्वीय ध्वनिको संयोजनले फिल्मलाई धेरथोर बोर हुनबाट बचाएको छ । त्यो बाहेक फिल्मका सबै पक्ष औसत छन् । लोकेसनका हिसाबले फिल्मले छानेका स्थान राम्रा छन् तर छायांकन पनि उस्तो खुलेको छैन । चरित्र पछाडिको दृश्यमा गहिराई देखिन्न । डिजिटल इमेजिङ धेरै ठाउँमा चिप्लिएको छ । बारम्बार देखिने ड्रोन शटले भने आँखालाई शीतल बनाउँछन् ।

फिल्मको संगीतले रिलिजअघि राम्रै हाइप पाएका थिए । मुखमा झुन्डिने खालका गीत नभए पनि लोकेसन र खिचाइले स्कटल्यान्डको साख बचाएका छन् । त्यसका बावजुद टर्कीमा खिचिएको प्रियंका र प्रदिपको गीत जरुरी थिएन । किनकि जसरी गीतमा दुवैलाई रोमान्टिक हिसाबले प्रस्तुत गरिएको छ, फिल्ममा दुवैको चरित्र चित्रण ठिक उल्टो छ ।

फिल्मको मुख्य कमजोरी यसको कथा र पटकथा हो । पटकथाकार प्रदीप भारद्धाजले एकदमै वासी कथा उठाएका छन् र त्यसको प्रेजेन्टेसनमा पनि नविनता पस्कन सकेका छैनन् । बलिउड फिल्म हेर्ने दर्शकलाई बारम्बार ‘लिलीबिली’ हेरिरहँदा बलिउडका फिल्मको झल्को आइरहन्छ । फिल्ममा न गतिलो द्धन्द्ध छ, न त दर्शकलाई बाँधिराख्ने परिवेश । त्यस्तै फिल्ममा निर्देशक मिलन चाम्सको निर्देशकीय क्षमता पनि कतै महसुस हुँदैन । हेर्दा लाग्छ, कलाकार आफैले स्किृप्ट पढेर फिल्ममा अभिनय गरिरहेका छन् । उनले यो कथा स्कटल्यान्डमै किन भनिनु पर्ने थियो भन्ने पनि पुष्टि गर्न सकेका छैनन् । यसले उनको हल्ला ज्यादा गर्ने तर फिल्म हल्का फुल्का बनाउने चरित्र स्थापित गर्छ । चाम्सले अबका दिनमा यसमा विचार गर्नु राम्रो हुन्छ ।

यद्यपि फिल्मको पहिलो हाफ तुलनात्मक रुपमा रमाइलो छ । प्रदिप र जसिताको केमेस्ट्रीमा फ्रेसनेस देखिन्छ । देखाइएका लोकेशनले दर्शकको ध्यान तान्छन् । प्रदीप खड्काका फ्यान, जसले यसअघिका उनका फिल्म रुचाएका छन् – ती दर्शकलाई ‘लिलिबिली’ मन पर्न सक्छ तर चर्चाका हिसाबले धेरै अपेक्षा लिएर जाने हो भने फिल्म नुन हाल्न बिर्सेको तरकारीजस्तो स्वादहीन बन्न छ ।