संगीत स्टार अडिसन कहिले र कहाँ ?


कलाकारहरुको खोजी गर्दै सुरु भएको ‘संगीत स्टार’ को दोश्रो संस्करण अन्तर्गत अडिसन हुन बाँकी विभिन्न शहरहरुको मिति तय भएको छ । पहिलो चरणमा इटहरी, विराटनगर, हेटौंडा र चितवनमा अडिसन सम्पन्न भइसकेको छ भने दोश्रो चरणको अडिसन पोखरामा बैशाख २९ गते, बुटवलमा जेठ २ गते, बनेपामा जेठ १२ गते र काठमाडौंमा जेठ १८ गते हुने भएको छ । हालै मोफसलका मुख्य मानिने पोखरा र बुटवल पुगेर आयोजक टोली काठमाडौं फर्केको छ ।

४ बर्षदेखि ६५ बर्षको उमेर समुहका जो कोहिले सहभागीता जनाउन सक्ने संगीत स्टारको यसअघि सम्पन्न अडिसनमा विभिन्न शहरबाट पहिलो चरणमा नृत्य र गायनमा ३०, ३० प्रतिभा छनोट भइसकेका छन् । दोश्रो चरणको अडिसनमा पनि सोहि संख्यामा प्रतिभा छानिनेछन् । अन्तिम अडिसनमा एक अर्को शहरसँगको समन्वयमा ३० कै जोडघटाउको आधारमा प्रतिभाहरु छनोट गरिने आयोजकले बताएको छ । यसको बारेमा विस्तृत विवरण संगीत स्टार २०१८ को अफिसियल वेभसाइट र फेसबुक पेज मार्फत प्राप्त गर्न सकिनेछ ।

नृत्य र गायन दुबै विधामा एकसाथ सुरु भएको अडिसनमा गायनतर्फ संगीतकार रेखा पौडेल र डान्स तर्फ कोरियोग्राफर राजेन्द्र कमल राई मुख्य निर्णायकको रुपमा रहेका छन् । पहिलो चरणको अडिसनमा हरेक शहरबाट दोश्रो राउण्ड सकिएसँगै तेश्रो राउण्डदेखि ३० प्रतिशत भोटिङ र ७० प्रतिशत निर्णायकको जजमेन्टको आधारमा र क्रमशः चौथो राउण्डमा ४०/६० प्रतिशतको भोटिङ हुँदै १२ वटै शहरबाट उत्कृष्ट ३० प्रतियोगीलाई काठमाडौं ल्याईनेछ ।

अन्तिम अडिसनको लागी छनोट हुने दुबै विधाको ३०, ३० जना भएको कार्यक्रमको प्रशारण सम्बन्धित शहरका स्थानिय टेलिभिजनसँगै काष्ठमण्डप टेलिभिजनबाट हुनेछ । फाइनल राउण्डमा ५० प्रतिशत भोटिङ र ५० प्रतिशत निर्णायकको चयनको आधारमा अर्को चरण प्रवेश दिइने छ । राजधानीमा ख्यातिप्राप्त कलाकारहरुको उपस्थितीमा कम्तिमा डेढ महिना विधागत प्रशिक्षण दिईने छ ।

अडिसनमा हरेक हप्ता दुई, दुई जना बाहिरिँदै जानेछन् र त्यसबाट खारिँदै आएका (नृत्य र गायन) दुबै विधाका उत्कृष्ट प्रतिभालाइ विजयी घोषणा गरिनेछ । विजयीलाई २ लाख नगदसँगै स्कुटर र ८ लाख बराबरको कन्ट्रयाक सहित युकेमा हुने ग्राण्ड सांगितिक कार्यक्रममा प्रमुख आकर्षणको रुपमा उपस्थित गराइने छ ।

कार्यक्रम निर्देशक बस्यालले रियालिटी शोमा गायन तथा नृत्यमा प्रयोग हुने सबै गीत संगीतका स्रष्टाहरुलाई उपयुक्त रुपमा रोयल्टी पनि प्रदान गर्ने समेत बताएका छन् । सम्बन्धित गीत, संगीतका स्रष्टाहरुलाई सिधा रुपमा रोयल्टी प्रदान गर्न लागिएको संभवत यो पहिलो शो हुनसक्छ ।

गायन तथा नृत्य विधामा भविष्य खोज्ने तथा कला भएर पनि उपयुक्त अबसर पाउन नसकेका संभावनावान प्रतिभाहरुलाई स्थान दिने उद्देश्यका साथ संगीत फिल्मसको आयोजनामा सुरु ‘संगीत स्टार’ को पहिलो संस्करण गत बर्ष सफलताका साथ सम्पन्न भइसकेको छ । लुकेर रहेका क्षमतावान प्रतिभाहरुलाई ‘पर्फेक्ट आर्टिस्ट’ बनाउने अभियानलाई निरन्तरता दिँदै संगीत स्टारको दोश्रो संस्करण सुरु गरेको आयोजकले बताएको छ ।