लथालिङ्ग ‘भैरे’को प्रेश शो, अधिकांश पत्रकारहरु फिल्म नहेरी फर्किए


आइतबार काठमाडौँको राइजिङ मल स्थित क्युज फिल्म हलमा फिल्म भैरेको प्रेस शो राखिएको थियो । तर पत्रकारहरु त्यहाँ पुग्दाको दृश्यले भने अरु केहि नै बताइरहेको थियो ।

उक्त समयमा फिल्म ‘भैरे’ यूनिटले फिल्म पत्रकारका लागि भनेर फिल्मको ‘प्रेस शो’ आयोजना गरेको थियो । तर प्रेस शोमा फिल्म हेर्न भन्दै त्यहाँ पुगेका फिल्म पत्रकारहरु तब छक्क परे जब उनिहरु शो कार्यक्रममा पुग्दा नपुग्दै फिल्म हलको सिट क्षमता भन्दा बढी फिल्म यूनिटका आफन्तजन लाम लागेर बसिरहेका थिए ।

एकैछिन त त्यो भिड हेरेरै फिल्म पत्रकारले फिल्म भन्दा बढी आनन्द लिए । पत्रकारहरु आउने क्रम बढ्दै थियो त्यसको दोब्बर अनुपातमा फिल्म यूनिटका आफन्त र पारिवारिक सम्बन्धका व्यक्तिहरु जम्मा हुँदै थिए । प्रेस शो भनेर उपस्थित भएका फिल्म पत्रकारहरु त्यो भिडमा हराइरहेका थिए । को पत्रकार को आफन्त फिल्म यूनिटलाई नै ठम्याउन मुस्किल देखिन्थ्यो ।

पत्रकारका लागि भनेर एउटा हल बुक गरिएको रहेछ । लगभग ८० सिट क्षमताको तर त्यहाँको उपस्थिती हेर्दा लगभग २५० देखी ३०० जना थिए होला । कहिले पत्रकारलाई फिल्म देखाएर अर्को शोमा आफन्तलाई फिल्म देखाउने कुरा भैरहेको थियो त कहिले अर्को हल बुक गर्ने । यता बाट उता उता बाट यता लामालस्कर लगाउँदै मानिसहरु कुदिरहेका थिए मानौँ उनीहरु कुनै मेला महोत्सवमा रमाइलो गरिरहेका छन् ।

उक्त शो कसले र कसरी म्यानेज गरेको थियो थाहा भएन तर यती बिध्न लापरवाही सायदै कुनै फिल्मको प्रेस शो मा भएको थियो होला । पत्रकार भन्दा बढी आफन्तले भरिएको देखे पछी अधिकांश पत्रकारहरु फिल्म नहेरी फर्किएका थिए ।

फिल्म भैरेले प्रदर्शनको तेश्रो दिनसम्म आइपुग्दा निकै निराशा जनक अवस्थाको सामना गर्नु परेको छ । सिंगल थिएटरमा केही शो पाए पनि मल्टिप्लेक्समा एकाध शो मात्र पाएको छ । फिल्म ले क्यु एफ एक्स चेनमा मात्र १-२ शो पाएको छ ।

त्यसले गर्दा पनि होला आईतबारको प्रेस शोमा दर्शकको हुल देखाएर अन्य शोमा दर्शक तान्ने दाउ । तर अधिकांश पत्रकारहरु नै फिल्म नहेरी फर्किएपछि त्यो दाउले पनि कुनै जादु गर्न नसक्ला ।