अनमोललाई भ्याई-नभ्याई, एकै बर्षमा चार फिल्म किन ?

अनमोल के.सी तिनै नायक हुन जो केही समय अगाडी सम्म बर्षमा १ फिल्म पनि मुस्किलले खेल्थे । उनी आँफैँले भन्ने गरेका थिए, ‘म २ बर्ष म १ फिल्म मात्र गर्छु ।’ तर अनमोलको बोलिको पनि भर रहेनछ भन्ने पछिल्लो समय प्रमाणित हुँदै गएको छ । अनमोलले यसै बर्ष मात्र ३ नेपाली र १ हिन्दी गरि ४ फिल्म साइन गरिसकेका छन् । जसमध्य होम प्रोडक्सनको फिल्म ‘क्याप्टेन’को सुटिङ भर्खरै सक्काएका छन् ।
क्याप्टेनको सुटिङ सकिए लगतै ‘अनमोल इभ’ नामक कार्यक्रमका लागी नेपाल टुरमा रहेका अनमोलले झरना थापाको निर्देशनमा बन्न लागेको फिल्म ‘ए मेरो हजुर ३’ सुरु गरेका छन् । शनिवार पोखरामा फिल्मको शुभमुहुर्त गर्दै छायाँँकन सुरु गरिएको छ । यद्यपी फिल्मको औपचारिक छायाँकन असोज ६ गतेबाट गर्ने भनिएको छ ।

यता अनमोललाई नै लिएर निर्देशक मिलन चाम्सले फिल्म ‘ब्याचलर बन्टी’ निर्माण गर्दैछन् । ए मेरो हजुर ३ को छायाँँकन सकिए लगतै आफ्नो फिल्मको छायाँँकन सुरु गर्ने योजनामा रहेका चाम्सले फिल्म असोज ३० गते देखी फ्लोरमा जानेछ भन्दै स्टाटस पोष्ट गरेका छन् । यदी चाम्सको कुरालाई सत्य मान्ने हो भने ए मेरो हजुर ३को सुटिङ सेड्युल जम्मा २४ दिनको हुनेछ । मिलनका अनुसार असोज ३० देखी आफ्नो फिल्मका लागि अनमोलले समय दिने भनेर सम्झौता गरेका छन् । तर १० देखी १५ दिन आपसी सहमतिमा तलमाथि हुन सक्ने उनको भनाई छ ।

ए मेरो हजुर ३ चाम्सको फिल्म ब्याचलर बन्टी भन्दा पछी प्रदर्शनमा आउने छ । चाम्सको फिल्म फागुन १७मा रिलिज हुँदै छ भने ए मेरो हजुर ३ चैत २९ गते प्रदर्शनमा आउने छ । आफ्नै होम प्रोडक्सनमा बनेको फिल्म ‘क्याप्टेन’को भने अझै प्रदर्शन मिती तय गरिएको छैन ।
यही दोसाँधका बिच अनमोल नाम तय नभएको हिन्दी फिल्मको सुटिङमा ब्यस्त हुनेछन् । उक्त फिल्मको निर्देशन अभिनेता, निर्माता तथा निर्देशक भुवन केसी र भारतका रत्नाकार कुमारले संयुक्त रूपमा गर्नेछन् भने कथा मनोज नारायणको रहनेछ । नेपाल र भारतको संयुक्त लगानीमा बन्न लागेको उक्त फिल्म नेपाली र भारतीय दुवै भाषामा बन्ने र गीत पनि दुवै भाषामा तयार हुने समेत बताइएको छ । फागुन १५ गते फ्लोरमा जाने फिल्मको सुटिङ नेपाल र मरिसस तथा केही अंश मुम्बईमा छायाँकन हुने  छ। यस फिल्ममा नेपालसँगै बलिउडका कलाकारसमेत रहने छन् ।

चाम्सको फिल्म फागुन १७मा प्रदर्शनमा आउने भनिएको छ भने ए मेरो हजुर ३ चैत २९मा । यदी अनमोलले गर्न लागेको हिन्दी फिल्म फागुन १५ देखि फ्लोरमा गयो भने अनमोलले यी दुवै फिल्मको प्रोमोसनका लागी समय दिन सक्ने छैनन् । यदी त्यस्तै भयो भने अनमोलको स्टारडम देखेर उनलाई आफ्नो फिल्ममा अनुबन्ध गरेका मिलन र झरनाको लागी हिस्स बुढी खिस्स दाँत भन्दा अरु केही हुने छैन ।
अनी २ बर्षमा १ फिल्ममा मात्र अभिनय गर्छु भन्ने अनमोलको यसै बर्ष ३ फिल्म प्रदर्शनमा आउने छन् । यसले अनमोलको स्टारडम कहाँ पुर्याउला ? यदी उनको करियर धरासाही बन्यो भने राम राम भन्न सकिएला काँधै थाप्न सकिन्न ।

यक्ष प्रश्न…
आखिर अनमोलले किन एकै बर्ष ४ फिल्म साइन गरे ?
२ बर्षमा १ फिल्म मात्र गर्छु भन्ने अनमोलले यसै बर्ष २ फिल्म (होम प्रोडक्सनको बाहेक) प्रदर्शनमा आउने गरि साइन गरे । अनमोलले फिल्म साइन गरे वापत ५०% पारिश्रमिक लिने गरेका छन् । के होम प्रोडक्सनमा बनेको फिल्म क्याप्टेनका लागी आर्थिक भार कम गर्नका लागी हो ? प्रश्न यहीँ नेर छ । नेपाली फिल्म वृत्तमा चर्चा यही छ । अनमोलले क्याप्टेन कै लागी भनेर भटाभट फिल्म साइन गरिरहेका छन् । यदी त्यसो हो भने अनमोलले एकै बर्षमा ३ फिल्मको भार थेग्न सक्लान ? युवा स्टारको ट्याग पाएका अनमोलको स्टारडम कायम रहला ? या लगातारको फिल्मले दर्शक बिच्केलान ?