बिना लाइसेन्स टेम्पो चलाईन स्वस्तिमाले

फिल्म छायांकन पुर्व टेम्पो चलाउन प्रशिक्षण लिएकी स्वस्तिमाले फिल्म ‘बुलबुल’को ‘लाजै नमानी’ बोलको गीत छायांकन स्थलमा उपस्थित पत्रकारहरुसंग कुराकानी गर्दै आफुले लाइसेन्स बिनै काठमाडौँको विभिन्न स्थानमा टेम्पो चलाएको खुलासा गरिन् । तर त्यसकालागी फिल्म निर्माण पक्षले सम्बन्धित निकायसँग अनुमती भने लिएको उनले बताइन् । फिल्ममा नायिका स्वस्तिमा खड्का ट्याम्पु चालिकाको भूमिकामा देखिने छिन् ।

सोमबार ‘लाजै नमानी’ बोलको गीत छायांकनसँगै फिल्मको सम्पूर्ण छायांकन सकिएको छ । ‘लाजै नमानी’ बोलको उक्त गीतमा कोशिश क्षेत्रीको शब्द/संगीत रहेको छ भने निश्चल बस्नेत र रजिना रिमालको स्वरमा सुन्न सकिन्छ । सुसन प्रजापतिको छायांकन रहेको भिडियोमा कोरियोग्राफी कविराज गहतराजको रहेको छ । गीतको भिडियोमा दर्जन बढी ट्याम्पु र ६० जना कोरसको प्रगोग गरिएको छ ।

अविरल थापा, राजु पौडेल, भीम थापा, पुरुषोत्तम पाण्डे लगायतले संयुक्त रुपमा निर्माण गरेको फिल्मलाई विनोद पौडेलले निर्देशन गरेका हुन् । फिल्म फागुन ३ गतेबाट प्रदर्शनमा ल्याउने तयारी रहेको निर्माण पक्षले बताएको छ ।