अमेरिकामा ‘छक्का पन्जा ३’ को नयाँ रेकर्ड

फिल्म ‘छक्का पन्जा ३’ ले नेपाल संगै अमेरिकामासमेत रेकर्ड राखेको छ । नेपाली फिल्मको सबै भन्दा ठुलो बिदेशी बजार भनेर चिनिएको संयुक्त राज्य अमेरिकामा छक्का पन्जा ३ ले अपेक्षा गरे भन्दा बढीको व्यापार गरिरहेको छ । अमेरिकामा यस अघि रिलिज भएका छक्का पन्जा, छक्का पन्जा २ र लूट २ को ३ हप्ता सम्म चलेको रेकर्डलाई छक्का पन्जा ३ ले तोडिदिएको छ । नेपालीहरुको बाक्लो बसोबास रहेको अमेरिकाको डालस, टेक्सासमा अहिले छक्का पन्जा ३ ले बिदेशी भुमिमा लगातार १ महिना चल्ने पहिलो नेपाली फिल्म बनी नयाँ रेकर्ड बनाएको छ । फिल्मले हाल सम्म डालसमा मात्रै  ६४ शो को सफल प्रदर्शन गरिसकेको छ भने अझै प्रदर्शन भैरहने जानकारी डालसका लागी अधिकारिक वितरक नेप्सिने र प्लानेट थ्री फिल्मस्ले जनाएको छ ।

दिपाश्री निरौलाद्वारा निर्देशित फिल्म छक्का पन्जा ३ मा दिपक राज गिरी, केदार घिमिरे, दीपिका प्रसाई, जितु नेपाल, निर शाह, बुद्दि तामाङ्ग लगायतका कलाकारको अभिनय रहेको छ । फिल्मलाई अमेरिकामा फ्युजन इन्टरनेशनल, प्लानेट थ्री फिल्मस् र कोशेली इभेन्ट्स म्यानेजमेन्ट कम्पनिले अधिकारिक रुपमा बितरण गरेका हुन् ।